इनिशा विकको न्यायका लागि न्युयोर्कमा दीप प्रज्वलन: अपराधीलाई कडा कारबाहीको माग


प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार

न्युयोर्कको ज्याक्सन हाइटस्थित डाइभर्सिटी प्लाजामा नेपाली समुदायले स्व. इनिशा विकको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्। बलात्कार जस्तो जघन्य अपराधपछि ज्यान गुमाएकी इनिशाको न्यायका लागि यो कार्यक्रम आयोजना गरिएको हो।

जीवनदास सुनारको संयोजनमा आयोजित उक्त कार्यक्रममा न्युयोर्क तथा आसपासका क्षेत्रका नेपाली समुदाय, अधिकारकर्मी र न्यायप्रेमी नागरिकहरूको ठूलो उपस्थिति रहेको थियो। सहभागीहरूले हातमा मैनबत्ती र इनिशाको तस्बिर बोकेर मौन धारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

कार्यक्रममा बोल्दै एडवानकी संस्थापक डा. विष्णुमाया परियारले बलात्कारपछि हत्या गर्ने अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसँग माग गरिन्। उनले महिलामाथि हुने यस्ता क्रुर र मानवता विरोधी अपराधले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपालीको शिर झुकाइरहेको भन्दै गहिरो चिन्ता व्यक्त गरिन्।

त्यसैगरी, कार्यक्रममा बासु लामिछाने, सोमनाथ घिमिरे, खाम भट्ट, हजुरी शाह, व्यवसायी दिनेश सेन्चुरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, कवि, साहित्यकार र पत्रकारहरूले ऐक्यवद्धता जनाएका थिए। वक्ताहरूले यस्ता जघन्य अपराधका विरुद्ध संसारभरबाट एकताबद्ध भई आवाज उठाउनुपर्नेमा जोड दिए।

महिला अधिकारकर्मी चमेली परियारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै, अपराधीले कानुनी कठघरामा उभिएर सजाय नपाएसम्म र पीडित परिवारले न्याय नपाएसम्म निरन्तर आवाज उठाइरहन अनुरोध गरिन्। सहभागीहरूले सामाजिक सञ्जालमा समेत ह्यासट्यागहरू मार्फत यो अभियानलाई विश्वव्यापी बनाउन आह्वान गरेका थिए।

नेपालीहरूले पीडित परिवारको पक्षमा आफ्नो आवाज बुलन्द पार्दै न्याय नमिलेसम्म यो अभियान जारी राख्ने संकल्पका साथ कार्यक्रम समापन गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com