गोरखा र रोल्पामा माओवादीको उम्मेदवारी दर्ता


प्रकाशित मिति : कार्तिक ५, २०७४ आईतबार

५ कात्तिक, काठमाडौं । गोरखा र रोल्पामा नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएको छ ।

गोरखा २ मा माओवादी नेता नारायणकाजी श्रेष्ठले वाम गठवन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् । गोरखाका माओवादी नेताहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन पञ्चेबाजासहित पुगेका थिए ।

गोरखामा श्रेष्ठसँगै नयाँशक्तिका डा. बाबुराम भट्टराई पनि उम्मेदवार छन् । डा. भट्टराई नेपाली कांग्रेससँग गठवन्धन गरेर उम्मेदवार बनेका हुन् ।

कांग्रेसले गोरखा प्रतिनिधि सभा निर्वाचनमा चिनकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

गोरखामा हेभिवेटका श्रेष्ठ र भट्टराई उम्मेदवार बनेकाले पहिलो चरणको निर्वाचनमा सर्वाधिक चासोको क्षेत्र यही बनेको छ ।

माओवादीले प्रदेशसभा तर्फ गोरखा १ (क) मा लेखबहादुर थापा ‘जीवन्त’, गोरखा २ (क)मा कमला नहर्की ‘सपना’ र (ख) मा अमर तमुलाई उठाएको छ । वाम गठबन्धनअनुसार गोरखा १ (ख)मा एमालेका रामशरण बस्नेत उम्मेदवार बनेका छन् ।

यसैगरी रोल्पामा प्रतिनिधि सभा निर्वाचनका लागि वर्षमान पुन उम्मेदवार बनेका छन् । उनले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

उनको प्रतिस्पर्धामा कांग्रेसबाट अमरसिंह पुन उम्मेदवार छन् ।

रोल्पामा प्रदेशसभा तर्फ ‘क’मा कुलप्रसाद केसी ‘सोनाम’ र ‘ख’मा दिपेन्द्र कुमार पुन ‘सिजल’ले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com