अमेरिकी पप गायिका ब्रिट्नी स्पियर्स पक्राउ


प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार

a close up of a person with blonde hair

तस्बिर: म्याथ्यु ब्राउन / अनस्प्लास

अमेरिकी पप गायिका ब्रिट्नी स्पियर्स पक्राउ परेकी छन्। उनलाई क्यालिफोर्नियामा मादक पदार्थ सेवन गरी सवारी चलाएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।

क्यालिफोर्निया हाइवे पेट्रोलका अनुसार उनलाई राति सवारी जाँचका क्रममा रोकिएको थियो। केही समय नियन्त्रणमा राखेपछि उनलाई रिहा गरिएको जनाइएको छ।

हाइवे पेट्रोलका सूचना अधिकारी रायन अयरले स्पियर्सलाई ‘ड्राइभिङ अन्डर द इन्फ्लुएन्स’ अर्थात् नशाको अवस्थामा सवारी चलाएको आशंकामा पक्राउ गरिएको पुष्टि गरे।

प्रहरीका अनुसार सवारीमा स्पियर्स एक्लै थिइन् र उनले मदिरा सेवन गरेको संकेत देखिएको थियो। घटनास्थलमा गरिएको ‘फिल्ड सोबराइटी’ परीक्षणपछि उनलाई हिरासतमा लिइएको हो। घटनाबारे अनुसन्धान जारी रहेको र रासायनिक परीक्षण को नतिजा आउन बाँकी रहेको प्रहरीले जनाएको छ। उनको सवारी साधन भने प्रहरीले ‘टो’ गरेर लगेको छ।

स्पियर्सका प्रतिनिधिले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो दुर्भाग्यपूर्ण घटना हो र पूर्ण रूपमा अस्वीकार्य छ। ब्रिट्नीले कानुनको पालना गर्नेछिन् र आफ्नो जीवनमा सुधार ल्याउन आवश्यक कदम चाल्नेछिन्।” उनका प्रतिनिधिका अनुसार परिवार र निकट व्यक्तिहरूले यो कठिन समयमा उनलाई सहयोग गर्नेछन्।

स्पियर्स कानुनी विवादमा परेको यो पहिलो पटक भने होइन। सन् २००७ मा उनीमाथि ‘हिट एन्ड रन’ (सवारी ठक्कर दिएर भागेको) मुद्दा लागेको थियो, जुन पछि क्षतिपूर्ति तिरेपछि खारेज भयो। त्यसको अर्को वर्ष मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

सोही समयदेखि उनका पितालाई उनको सम्पत्ति र व्यक्तिगत निर्णयमाथि १३ वर्षसम्म ‘अभिभावकीय नियन्त्रण’ दिइएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com