ट्रम्पले अधिग्रहण गर्न चाहेको ग्रिनल्याण्डमा क्यानडाले खोल्यो वाणिज्य दूतावास
प्रकाशित मिति : माघ २५, २०८२ आईतबार
डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेन, ग्रीनल्याण्डका विदेश मामिला मन्त्री भिभियन मोट्जफेल्ड र क्यानाडाका विदेश मन्त्री अनिता आनन्दले फेब्रुअरी ७, २०२६ मा ग्रीनल्याण्डको नुकमा पत्रकार सम्मेलन गर्दै। तस्वीर : एएफपी/रासस
क्यानडाले ग्रिनल्याण्डको राजधानी नूकमा नयाँ वाणिज्य दूतावास स्थापना गरेको छ। शुक्रबार सम्पन्न झण्डा फहराउने समारोहमार्फत दूतावास औपचारिक रूपमा सञ्चालनमा आएको हो। यस कदमलाई ग्रिनल्याण्डवासीहरूलाई कूटनीतिक समर्थन जनाउने तथा आर्कटिक क्षेत्रमा क्यानडाको रणनीतिक उपस्थितिलाई बलियो बनाउने प्रयासको रूपमा हेरिएको छ।
क्यानडाकी विदेशमन्त्री अनिता आनन्दका अनुसार दूतावास स्थापना गर्ने योजना ट्रम्प प्रशासनबाट ग्रिनल्याण्डसम्बन्धी आएका अभिव्यक्तिहरूभन्दा धेरै अघि तयार गरिएको थियो। उनले यो कदम क्यानडाको आर्कटिक परराष्ट्र नीतिको महत्वपूर्ण हिस्सा भएको बताइन्। साथै, क्यानडाले अमेरिकाको एन्करेज शहरमा पनि अर्को वाणिज्य दूतावास खोल्ने तयारी गरिरहेको उनले जानकारी दिइन्।
हालै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहण गर्न सक्ने अभिव्यक्ति दिएका कारण अन्तर्राष्ट्रिय कूटनीतिमा चासो बढेको छ। यसले युरोप र अमेरिकाबीच सम्बन्धमा तनाव सिर्जना गर्नुका साथै अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौताको आगामी पुनरावलोकनलाई पनि प्रभाव पार्ने अनुमान गरिएको छ।
दूतावास उद्घाटन समारोहमा क्यानडाकी गभर्नर जनरल मेरी साइमन सहभागी थिइन्। उनी क्यानडाको पहिलो आदिवासी मूलकी गभर्नर जनरल हुन्। उनलाई स्वागत गर्न करिब ९० जना क्यानडियन इनुइट समुदायका सदस्यहरू नूक पुगेका थिए। कार्यक्रममा क्यानडाको कोस्ट गार्डको आइसब्रेक जहाज पनि बन्दरगाहमा राखिएको थियो।
इनुइट टापिरीइट कानातामीका अध्यक्ष नातान ओबेडले क्यानडाको कदमलाई ग्रिनल्याण्डका आदिवासी समुदायको आत्मनिर्णय अधिकारप्रति समर्थनको महत्वपूर्ण संकेत बताएका छन्।
यसैबीच, क्यानडाले आर्कटिक क्षेत्रमा रूसको बढ्दो गतिविधि र जलवायु परिवर्तनको असरप्रति पनि चिन्ता व्यक्त गरेको छ। ग्रिनल्याण्डमा हिउँ कम पर्न थालेपछि स्की पर्यटन र स्थानीय अर्थतन्त्र प्रभावित भइरहेको अधिकारीहरूले बताएका छन्।






