अमेरिकामा नेपाली विद्यार्थीको नाममा ‘फेक’ दुर्घटना देखाई गोफण्डमीमा चन्दा?
प्रकाशित मिति : माघ २२, २०८२ बिहीबार
अमेरिकाको युटाहमा सोमबार एकजना नेपाली नेपाली विद्यार्थी सुशान्त कार्की दिउँसो करिब पौने ४ बजे गाडी दुर्घटनामा परेको र उनको अवस्था चिन्ताजनक रहेको दाबी सामाजिक सञ्जालमा फैलियो । लगत्तै गोफण्डमीमा उनको उपचारको लागि भन्दै ९० हजार डलरको लक्ष्यसहित रकम संकलन अभियान सुरु गरियो । दुर्घटना युटाहको साल्ट लेक सिटीस्थित आई १५ उत्तरतर्फ, ३३०० साउथ एक्जिटमा भएको भनिएको थियो ।
लगत्तै कैयन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो घटना सत्य नभएको र फेक घटनामा आधारित रहेर गोफण्डमी सुरु गरिएको दावी गरे । खसोखासको अनुसन्धानमा पनि घटना सत्य भएको पुष्टी भएको छैन ।
आफ्नी प्रेमिकालाई भेट्न जाने क्रममा सुशान्त गम्भीर सडक दुर्घटनामा परेका गोफन्डमीमा दाबी गरिएको छ । मेडिकल स्कुलबाट ३ दिनको बिदा लिएर प्रेमिकालाई भेट्न जाने योजना बनाएको केही दिनमै यो दुःखद घटना भएको दाबी गरिएको छ ।
बाटोमा पर्ने एक सर्भिस स्टेसनमा रोकिएर राजमार्ग मा प्रवेश गर्नका लागि इन्टरसेक्सनमा कुरिरहेको अवस्थामा एउटा ठूलो ‘मोटरहोम’ले नियन्त्रण गुमाएर उनको कारलाई ठक्कर दिएको र उनको सवारी साधन राजमार्गमा करिब ६० मिटर परसम्म घिसारिएको दाबी गरिएको छ। सुशान्तलाई फेब्रुअरी २, २०२६ कै दिन एयरलिफ्ट गरी अस्पताल लगिएको र उनी अहिले अचेत अवस्थामा रहेको उल्लेख छ। उनलाई टाउकोमा गम्भीर चोट लागेको र करिब सबै करङहरू, कलरबोन र कम्मरको हड्डी भाँचिएको भन्दै सहयोगको अपिल गरिएको छ।
युटाहमा भएको सवारी दुर्घटनामा नेपाली विद्यार्थी कार्की परेको र उनको उपचार भइरहेको भन्दै सहयोगका लागि गरिएको अपिलका सन्दर्भमा ‘खसोखास’ले तथ्य जाँच गरेको छ। सो दिन उक्त क्षेत्रमा यस्तो कुनै गम्भीर दुर्घटना भएको विवरण फेला परेन। बरु त्यसको ठीक एक दिनअघि अर्थात् फेब्रुअरी १, २०२६ मा त्यहाँ एउटा दुर्घटना भएको पाइएको थियो। आई १५ राजमार्गको उत्तरतर्फ ३३०० साउथ नजिकै सातवटा सवारीसाधन ठोक्किएका थिए(हेर्नुहोस् समाचार)। तर, सो घटनामा कसैलाई पनि गम्भीर चोटपटक नलागेको र अस्पताल लैजानु नपरेको पुष्टि भएको छ।
खसोखासले यस विषयमा एनआरएनए युटाह च्याप्टरका अध्यक्ष विप्लव लामिछानेसँग कुराकानी गरेको थियो । लामिछानेका अनुसार फेब्रुअरी २, २०२६ मा सो स्थानमा त्यस्तो कुनै घटना भएको छैन र कुनै पनि नेपाली दुर्घटनामा परेका छैनन्। उनले भने, “हामीले स्थानीय प्रहरी, हाइवे पेट्रोल एजेन्सी, वरपरका विश्वविद्यालयहरू र स्थानीय सञ्चार माध्यममा बुझ्दा त्यस्तो कुनै दुर्घटना भएको पाइएन।”
गोफन्डमीमा ‘अल नेप्लिज टुगेदर’ को नाममा सहयोग आह्वान गरिएको भए पनि सो संस्था आधिकारिक रूपमा अस्तित्वमा नरहेको उनले बताएका छन् । लामिछानेका अनुसार च्याप्टरका सबै टिमले नै यो घटनाबारे बुझेको थियो । तर, कतैबाट पुष्टि हुन सकेन ।लामिछाने लगायतका टिमले स्थानीय सञ्चारमाध्यमहरु केएसएल टिभी, केयुटिभी तथा वेबर स्टेट विश्वविद्यालय र युटाह विश्वविद्यालयमा पनि घटनाको पुष्टि गर्न सम्पर्क गरेको र त्यहाँबाट पनि घटनाको पुष्टि हुन नसकेको खसोखासलाई बताए ।
खसोखासले वासिङ्टन डीसीस्थित नेपाली राजदूतावाससँग पनि सम्पर्क गरेको थियो। राजदूतावासले समेत घटनाको पुष्टि हुन नसकेको जानकारी दिएको छ। राजदूतावासकी सूचना अधिकारी अरुण घिसिङले पठाएको इमेलमा भनिएको छ, “हामीले स्यान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासमार्फत साल्ट लेक सिटीका सम्बन्धित अधिकारीहरूसँग बुझ्दा यो विषय पुष्टि हुन सकेन।”
सुशान्त कार्कीलाई एयरलिफ्ट गरी उद्धार गरिएको दाबी समेत निराधार पाइएको छ। युटाहका कुनै पनि सरकारी निकाय जस्तै प्रहरी, हाइवे पेट्रोलको आधिकारिक वेबसाइटमा सो दिन घटना भएको विवरण उल्लेख छैन । सहयोगका लागि उपलब्ध गराइएको सम्पर्क नम्बर (२१४) ९१३-२९३९ पनि सञ्चालनमा छैन। यो टेक्ससको नम्बर भएको र बारम्बार सम्पर्क गर्न खोज्दा अस्तित्वमा नरहेको पाइयो।
सबै आधिकारिक स्रोत र निकायहरूका अनुसार युटाहमा त्यस दिन कुनै पनि नेपाली विद्यार्थी दुर्घटनामा परेको विवरण पुष्टि हुन सकेन। गोफन्डमीमामा हालसम्म ९२० डलर संकलन गरिएको छ, खासोखासले आयोजकलाई सहयोग आह्वान गरिएको पृष्ठको अर्गनाइजर कन्ट्याक्ट बटम प्रयोग गरी घटनाबारे जानकारी मागेकोमा हालसम्म कुनै जवाफ प्राप्त भएको छैन ।






