क्यालिफोर्नियालाई नयाँ मतदान नक्सा प्रयोग गर्न सर्वोच्च अदालतको अनुमति, रिपब्लिकनहरू निराश
प्रकाशित मिति : माघ २१, २०८२ बुधबार
फोटो : पल हानाओका / अन्स्प्ल्यास
अमेरिकी सर्वोच्च अदालतले क्यालिफोर्नियालाई नयाँ मतदान नक्सा प्रयोग गर्न बाटो खुला गरेको छ। अदालतको यो निर्णयसँगै डेमोक्र्याटिक पार्टीले यस वर्ष कङ्ग्रेसमा पाँचवटासम्म अतिरिक्त सिट जित्ने सम्भावना बनेको छ। अदालतले जारी गरेको हस्ताक्षरविहीन आदेशमा यो निर्णय गर्नुको कारण भने खुलाएको छैन।
गत वर्ष क्यालिफोर्नियाका मतदाताले राज्यका मतदान क्षेत्र (डिस्ट्रिक्ट) परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गरेका थिए। यसको उद्देश्य टेक्सासमा रिपब्लिकनहरूले पुनःरेखाङ्कनमार्फत हासिल गरेको लाभलाई सन्तुलनमा ल्याउनु थियो। प्रत्येक मतदान क्षेत्रबाट अमेरिकी तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) का लागि एक जना सांसद निर्वाचित हुन्छन्।
नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले हाउसमा आफ्नो झिनो बहुमत जोगाउने प्रयास गरिरहेको छ। राष्ट्रपतिको पार्टीले मध्यावधि निर्वाचनहरूमा हाउसका सिट गुमाउने प्रवृत्ति यसअघि पनि देखिँदै आएको छ।
सर्वोच्च अदालतको निर्णयप्रति प्रतिक्रिया दिँदै क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले भने, “डोनाल्ड ट्रम्पले टेक्सासमा आफू ‘पाँच थप कङ्ग्रेस सिटको हकदार’ भएको दाबी गरेका थिए। उनले यो पुनःरेखाङ्कनको युद्ध सुरु गरे। उनी हारे, र नोभेम्बरमा फेरि हार्नेछन्।”
क्यालिफोर्नियाका रिपब्लिकनहरू र ट्रम्प प्रशासनले तल्लो अदालतमा कानुनी चुनौती दायर गर्दै सर्वोच्च अदालतसँग आपतकालीन रूपमा नयाँ नक्सा रोक्न आग्रह गरेका थिए। तर गत महिना क्यालिफोर्नियाको एक संघीय तल्लो अदालतले यस्तै अनुरोधलाई पनि अस्वीकार गरिसकेको थियो।
क्यालिफोर्नियाका ५२ हाउस सिटमध्ये हाल केवल आठ सिट रिपब्लिकनको हातमा छन्। ४३ सिट डेमोक्र्याटसँग छन् र एक सिट खाली छ। यद्यपि राज्यमा रिपब्लिकन मतदाताको संख्या ठूलो छ। फेब्रुअरी २०२५ सम्म क्यालिफोर्नियाका १ करोड ८६ लाख दर्ता मतदातामध्ये २५ प्रतिशतले आफूलाई रिपब्लिकन भनेर चिनाएका छन्।
अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले डेमोक्र्याटिक राष्ट्रपति पदका सम्भावित उम्मेदवार न्युसममाथि जातीय आधारमा शक्ति कब्जा गर्न खोजेको आरोप लगाउनुभएको थियो।
यसअघि डिसेम्बरमा सर्वोच्च अदालतले टेक्सासलाई आफ्नो नयाँ मतदान नक्सा प्रयोग गर्न अनुमति दिएको थियो। अदालतले तल्लो अदालतको उक्त नक्सा जातीय आधारमा गेरिम्यान्डरिंग गरिएको भन्ने निर्णय अस्वीकार गरेको थियो।
सामान्यतया अमेरिकी राज्यहरूले जनगणनाबाट नयाँ जनसंख्या तथ्याङ्क आएपछि प्रत्येक १० वर्षमा मतदान नक्सा पुनःरेखाङ्कन गर्छन्। तर ट्रम्पको दबाबपछि टेक्सास मध्यावधिमै नक्सा परिवर्तन गर्ने पहिलो राज्य बनेको थियो, जसले अन्य राज्यहरूलाई पनि आफ्नो दलको फाइदाका लागि नक्सा बदल्न प्रेरित गर्यो।
टेक्सासमा कुल ३८ कङ्ग्रेस क्षेत्र छन्, जसमध्ये २५ सिट हाल रिपब्लिकनको नियन्त्रणमा छन्। नयाँ नक्साले उनीहरूलाई थप पाँच सिटमा लाभ दिने अपेक्षा गरिएको छ।
अमेरिकामा राजनीतिक दललाई फाइदा पुग्ने गरी निर्वाचन क्षेत्रको सिमाना परिवर्तन—जातीय आधारमा गरिएमा मात्र गैरकानुनी मानिन्छ।






