अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति बोर्डमा सामेल हुन इजरायली प्रधानमन्त्री नेतन्याहु सहमत
प्रकाशित मिति : माघ ७, २०८२ बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहु । फाइल तस्वीर ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको शान्ति बोर्डमा सहभागी हुने निमन्त्रणा स्वीकार गरेका छन्। नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा उनले ‘विश्व नेताहरू समावेश हुने’ उक्त बोर्डको सदस्यका रूपमा काम गर्ने जनाएको छ।
सुरुमा इजरायल र गाजास्थित हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न सहयोग गर्ने तथा गाजाको पुनर्निर्माणको निगरानी गर्ने उद्देश्यले बोर्ड गठन हुने अनुमान गरिएको थियो। तर, विभिन्न मिडियामा सार्वजनिक प्रस्तावित विधानमा प्यालेस्टिनी क्षेत्रको स्पष्ट उल्लेख छैन । साथै, यो संयुक्त राष्ट्रसंघका केही भूमिकालाई प्रतिस्थापन गर्ने संरचनामा डिजाइन गरिएको जस्तो देखिएको छ ।
संयुक्त अरब इमिरेट्स र बहराइनले बोर्डमा सहभागी हुन सहमति जनाएका छन्। अल्बानिया, आर्मेनिया, अजरबैजान, बेलारुस, हंगेरी, काजाखस्तान, मोरोक्को र भियतनामले पनि सहभागिता जनाउने जनाएको छन् । क्यानडा, रुस, टर्की र बेलायतलाई पनि निमन्त्रणा गरिएको भए तापनि उनीहरूको औपचारिक प्रतिक्रिया आएको छैन। नर्वेले प्रस्तावले ‘धेरै प्रश्न उठाएको’ भन्दै सहभागी नहुने जनाएको छ भने फ्रान्स र स्विडेनले पनि त्यस्तै संकेत दिएका छन्।
प्रस्तावित विधानअनुसार सदस्य राष्ट्रलाई तीन वर्षको नवीकरणयोग्य कार्यकाल दिइनेछ। तर, बोर्डलाई १ बिलियन डलर सहयोग गर्ने देशले स्थायी सदस्यता पाउने व्यवस्था गरिएको छ। दस्तावेजमा शान्ति बोर्डलाई द्वन्द्व प्रभावित क्षेत्रमा स्थिरता, कानुनी शासन र दीर्घकालीन शान्ति प्रवर्द्धन गर्ने अन्तर्राष्ट्रिय संस्थाका रूपमा परिभाषित गरिएको छ।
ट्रम्प बोर्डका अध्यक्ष हुनेछन् भने अमेरिकाका प्रतिनिधिका रूपमा पनि काम गर्नेछन्। अध्यक्षका हैसियतमा उनले आवश्यक ठाने सहायक निकायहरू सिर्जना, संशोधन वा विघटन गर्ने विशेष अधिकार पाउनेछन्। साथै, बोर्डको उद्देश्य कार्यान्वयन गर्न सहयोग गर्ने कार्यकारी बोर्डका सदस्यहरू पनि उनले नै छनोट गर्नेछन्।
ह्वाइट हाउसले हालै संस्थापक कार्यकारी बोर्डका सात सदस्यको नाम सार्वजनिक गरेको छ, जसमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, मध्यपूर्वका विशेष दूत स्टिभ विटकोफ, जारेड कुशनर र बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर रहेका छन्। ट्रम्पले पूर्व संयुक्त राष्ट्रसंघीय मध्यपूर्व दूत निकोलाय म्लादेनोभलाई गाजामा शान्ति बोर्डका स्थल प्रतिनिधि नियुक्त गरेका छन्।
यसैबीच, इजरायली मिडियाले गाजा कार्यकारी बोर्डको संरचना इजरायलसँग समन्वय नगरी बनाइएको भन्दै नेतन्याहुको कार्यालयले आपत्ति जनाएको उल्लेख गरेका छन् । टर्की र कतारका प्रतिनिधि समावेश गरिएको निर्णयलाई इजरायलले आलोचना गरेको छ।
गाजामा युद्धविरामको पहिलो चरणमा बन्धक–कैदी आदान–प्रदान, आंशिक इजरायली फिर्ती र मानवीय सहायता वृद्धि भएको भए पनि दोस्रो चरण चुनौतीपूर्ण देखिएको छ। हमासले स्वतन्त्र प्यालेस्टाइन राज्य नबनुन्जेल हतियार नत्याग्ने अडान लिएको छ भने इजरायलले पूर्ण फिर्तीबारे स्पष्ट प्रतिबद्धता जनाएको छैन।
७ अक्टोबर २०२३ मा हमास नेतृत्वको आक्रमणपछि सुरु भएको यो युद्धमा ठूलो मानवीय क्षति भएको छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा हालसम्म ७१,५५० भन्दा बढी मानिसहरू मारिएका छन् ।






