भेनेजुएलामा लगानी बढाउने दबाब : राष्ट्रपति ट्रम्प र ठूला तेल कम्पनीबीच आज ह्वाइट हाउसमा बैठक
प्रकाशित मिति : पुस २४, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा अमेरिकी तेल कम्पनीहरूलाई लगानी गर्न प्रोत्साहन गरिरहेका बेला शुक्रबार दिउँसो ह्वाइट हाउसमा ठूला तेल उद्योगका शीर्ष कार्यकारीहरूसँग उच्चस्तरीय बैठक गर्ने भएका छन्। बैठकमा भेनेजुएलाको तेल पूर्वाधार पुनर्निर्माण, सम्भावित लगानी अवसर र अमेरिकी नीतिका विषयमा छलफल हुने बताइएको छ।
ह्वाइट हाउस स्रोतका अनुसार उक्त बैठकमा शेभरन, एक्सनमोबिल, कोनोकोफिलिप्स, कन्टिनेन्टल, हलिबर्टन, एचकेएन, भ्यालेरो, म्याराथन, शेल, ट्राफिगुरा, भिटोल अमेरिकाज, रेप्सोल, एनी, एस्पेक्ट होल्डिङ्स, टालग्रास, रैसा इनर्जी र हिलकर्पका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहभागी हुनेछन्।
बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, ऊर्जा मन्त्री क्रिस राइट र आन्तरिक मन्त्री डग बर्गम पनि उपस्थित रहने अपेक्षा गरिएको छ। ऊर्जा मन्त्री राइटले यसै साता अघि नै केही तेल उद्योगका कार्यकारीहरूसँग छुट्टै छलफल गरिसकेका थिए।
ह्वाइट हाउसकी प्रवक्ता टेलर रोजर्सले राष्ट्रपति र तेल उद्योगका कार्यकारीहरूबीच “भेनेजुएलाको तेल पूर्वाधार पुनःस्थापना गर्न सक्ने लगानी अवसरहरू” बारे गहन छलफल हुने जानकारी दिएकी छन्।
राष्ट्रपति ट्रम्पले भेनेजुएलाको विशाल तेल सम्पत्तिलाई देशको आर्थिक पुनरुत्थानको प्रमुख आधारका रूपमा प्रस्तुत गर्दै आएका छन्। उनका अनुसार भेनेजुएलामा ठूलो मात्रामा लगानी भित्र्याउन सके देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न सकिनेछ, जसको प्रत्यक्ष फाइदा ऊर्जा उपभोक्ता र तेल कम्पनीहरू दुवैलाई पुग्नेछ।
फक्स न्युजका सीन ह्यानिटीसँगको बिहीबार राति प्रसारित अन्तर्वार्तामा ट्रम्पले भेनेजुएलाको “सम्पूर्ण तेल पूर्वाधार पुनर्निर्माण” गर्न तेल कम्पनीहरूले कम्तीमा १०० अर्ब अमेरिकी डलर खर्च गर्ने अपेक्षा गरेको बताएका थिए।
यसैबीच, अमेरिकाले पछिल्ला हप्ताहरूमा भेनेजुएलाली तेलमाथि कडा कदम चाल्दै आएको छ। अमेरिकाले भेनेजुएलाको तेलमाथि “क्वारेन्टिन” लागू गरेको छ भने शुक्रबार भेनेजुएलासँग सम्बन्धित अर्को एक तेल ट्यांकर पनि अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ। यो अभियानअन्तर्गत कब्जामा लिइएको पाँचौँ जहाज हो।
विदेशमन्त्री मार्को रुबियोले यस साता क्वारेन्टिनका कारण अमेरिकालाई भेनेजुएलामाथि “अत्यन्त ठूलो दबाब क्षमता” प्राप्त भएको बताएका छन्। उनका अनुसार अमेरिकाले चाँडै नै प्रतिबन्धित तेलमध्ये ५० मिलियन ब्यारेलसम्म खुला बजारमा बिक्री गर्न सुरु गर्नेछ । साथै, त्यसबाट आउने आम्दानी अमेरिकाले नै नियन्त्रण गर्नेछ।





