१९८० को दशकमा सोभियत संघलाई गोप्य सूचना बेच्ने पूर्व सीआईए एजेन्ट एम्सको कारागारमै मृत्यु
प्रकाशित मिति : पुस २२, २०८२ बुधबार
एल्ड्रिच एम्स । तस्वीर : विकिपिडियाबाट
अमेरिकाको केन्द्रीय गुप्तचर संस्था (सीआईए) का पूर्व अधिकारी तथा पछि रुसका लागि जासुसी गरेका एल्ड्रिच एम्सको मेरील्याण्डस्थित संघीय कारागारमा मृत्यु भएको छ। कारागार ब्युरो (बीओपी) का प्रवक्ताका अनुसार ८४ वर्षीय एम्सको कारागारमै मृत्यु भएको हो ।
बीओपीले सुरक्षा, संरक्षा र गोपनीयताका कारण मृत्युको कारण सार्वजनिक नगर्ने जनाएको छ। मृत्युको आधिकारिक कारण मेडिकल एक्जामिनरले निर्धारण गर्ने बताइएको छ।
एल्ड्रिच एम्स सीआईएको गुप्तचर विभागका प्रमुख थिए । उनीसँग अमेरिकाका अत्यन्त संवेदनशील राष्ट्रिय सुरक्षासम्बन्धी सूचनामा पहुँच थियो। एफबीआईका अनुसार उनी अमेरिकाको सोभियत कार्यक्रमसम्बन्धी जानकारी राख्ने सीमित व्यक्तिमध्ये एक थिए।
सन् १९८५ मा एम्सले सोभियत संघसँग सम्पर्क गरी ५० हजार डलरको बदलामा सीआईएका गतिविधिबारे सूचना दिने प्रस्ताव गरेका थिए। त्यसपछि उनले केजीबीलाई सयौँ हजार डलरको बदलामा सीआईए र एफबीआईका गोप्य कागजातहरू उपलब्ध गराएका थिए, जसमा सोभियत डबल एजेन्टहरूको सूचीसमेत समावेश थियो।
एबीसी न्युजका अनुसार, एम्सले उपलब्ध गराएको सूचीका कारण कम्तीमा १० जना सीआईएका सोभियत सम्पर्कहरू पक्राउ परेका वा मृत्युदण्ड दिइएको थियो ।
एफबीआईले १० महिनासम्म शारीरिक तथा विद्युतीय निगरानीपछि फेब्रुअरी १९९४ मा एम्सलाई जासुसी अभियोगमा पक्राउ गरेको थियो। सोही अभियोगमा उनकी पत्नी रोजारियो एम्स पनि पक्राउ परेकी थिइन्, जसले उनको जासुसी गतिविधिमा सहयोग गरेको आरोप थियो।
एम्सलाई बिना पैरोल आजीवन कारावासको सजाय सुनाइएको थियो भने उनकी पत्नीलाई ६३ महिनाको कारावास सजाय दिइएको थियो।





