भेनेजुएलाका राष्ट्रपतिलाई अमेरिकाले नियन्त्रणमा लिएपछि संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक
प्रकाशित मिति : पुस १९, २०८२ आईतबार
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस । फाइल तस्वीर : चार्ली ट्रिबेल्यू/एएफपी-रासस
अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरी लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेपछि सोमबार संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बस्ने भएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले यस घटनालाई अन्तर्राष्ट्रिय कानुनका दृष्टिले “खतरनाक नजिर” का रूपमा व्याख्या गरेका छन्।
कूटनीतिक स्रोतका अनुसार रुस र चीनको समर्थनमा कोलम्बियाले १५ सदस्यीय सुरक्षा परिषद्को बैठक बोलाउन अनुरोध गरेको हो। अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावका विषयमा सुरक्षा परिषद् यसअघि अक्टोबर र डिसेम्बरमा पनि बैठक बसेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार वासिङ्टनले “सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण नहुँदासम्म” भेनेजुएलालाई सञ्चालन गर्ने बताएका छन्। तर, अमेरिकाले भेनेजुएलामाथि कसरी प्रशासनिक नियन्त्रण राख्ने भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरिएको छैन।
भेनेजुएलाका संयुक्त राष्ट्रस्थित राजदूत सामुएल मोनकाडाले अमेरिकी कदमलाई कडा शब्दमा आलोचना गर्दै यसलाई “उपनिवेशवादी युद्ध” भनेका छन्। उनले सुरक्षा परिषद्लाई पठाएको पत्रमा यो कारबाही भेनेजुएलाको गणतान्त्रिक शासन प्रणाली नष्ट गर्न र विश्वकै सबैभन्दा ठूलो तेल भण्डारसहित प्राकृतिक स्रोतको दोहन गर्न कठपुतली सरकार थोपर्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्।
मोनकाडाले अमेरिकाले संयुक्त राष्ट्रसंघको चार्टर उल्लङ्घन गरेको दाबी गरेका छन्। चार्टरअनुसार कुनै पनि राष्ट्रले अर्को राष्ट्रको भू–अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध बल प्रयोग गर्न नपाउने व्यवस्था छ।
संयुक्त राष्ट्र महासचिवका प्रवक्ता स्टेफान दुजारिकले अमेरिकी सैन्य कारबाहीलाई “खतरनाक नजिर” भन्दै अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान हुनुपर्नेमा जोड दिएका छन्। उनले महासचिव अन्तर्राष्ट्रिय नियमहरू पालना नगरिएको विषयमा गहिरो चिन्तित रहेको बताए।
यसैबीच, ट्रम्प प्रशासनले पछिल्ला महिनाहरूमा भेनेजुएलाको तट र ल्याटिन अमेरिकाको प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीको आशंकामा जहाजहरूलाई लक्षित गर्दै आएको छ। अमेरिकाले क्षेत्रमा सैन्य उपस्थिति बढाउँदै प्रतिबन्धको दायरामा पर्ने सबै जहाजमाथि नाकाबन्दी घोषणा गरेको थियो। गत महिना भेनेजुएलाको कच्चा तेल बोकेका दुई ट्यांकर पनि रोकिएका थिए।
अमेरिकाले अक्टोबरमा आफ्नो कदम संयुक्त राष्ट्र चार्टरको धारा ५१ अन्तर्गत आत्मरक्षाको अधिकार प्रयोग गरिएको दाबी गरेको थियो। तर, शनिबार संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले सामाजिक सञ्जाल एक्समा “यो सत्ता परिवर्तन होइन, न्याय हो” भन्दै मादुरोलाई अवैध तानाशाह र नार्को–आतंकवादी संगठनको नेतृत्वकर्ता भएको आरोप लगाएका छन्।





