अमेरिकी सेना सुतिरहेको कोठामा पुग्दासम्म मादुरोले सुइँको समेत पाएनन्


प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस । फाइल तस्वीर : जुआन बार्रेटो/ एएफपी-रासस

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिन रातको समय रोजेको छ। स्रोतहरूका अनुसार मादुरो आफ्नी पत्नीसहित सुतिरहेका बेला यो अपरेशन सुरु भएको थियो। अमेरिकी विशेष बल ‘डेल्टा फोर्स’ ले कराकासस्थित मादुरोको निवासमा छापा मारेर उनलाई हिरासतमा लिएको हो।

उनी सुरक्षित कक्ष तर्फ भाग्न खोज्दा पक्राउ परेका थिए। मादुरो राष्ट्रपति दरबारमा थिए, जुन कुनै किल्लाजत्तिकै सुरक्षित मानिन्थ्यो। त्यहाँ विशेष सुरक्षासहितको एउटा कोठा थियो, जसलाई स्टिलको पर्खालले घेरिएको थियो। मादुरो सो कोठामा प्रवेश गर्न खोज्दै थिए, तर अमेरिकी सेनाले उनीभन्दा छिटो पुगेर ढोका बन्द गर्न नमिल्ने बनाइदिएको थियो। यस अपरेशनका लागि महिनौँदेखि अभ्यास गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

अमेरिकी सेनालाई मादुरो के खान्छन्, कहाँ बस्छन्, कस्ता लुगा लगाउँछन् र उनका घरपालुवा जनावर कति छन् भन्नेसम्मको विस्तृत जानकारी थियो। अभ्यासका लागि अमेरिकी सेनाले मादुरोको निवासजस्तै नक्कली भवनसमेत बनाएको थियो।

 ‘अपरेशन एब्सोल्युट रिजोल्भ’ पूर्ण अन्धकारमा गरिएको थियो। अमेरिकी सेनाको सहजताका लागि भेनेजुएलाको राजधानी कराकासका सबै बत्ती निभाइएको थियो। आक्रमणका क्रममा कम्तीमा सातवटा विस्फोट भएका छन्। पूरा अपरेशन ३० मिनेटभन्दा कम समयमै सकिएको अधिकारीहरूको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सेनाका अनुसार यो अपरेशन महिनौँको तयारीपछि सफल भएको हो। सीआईए ले भेनेजुएलाभित्रै आफ्ना टोली राखेर मादुरोको गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको खुलासा समेत भएको छ।

क्रिसमसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले यसका लागि अन्तिम स्वीकृति दिएका थिए, तर खराब मौसमका कारण अपरेशन केही दिन ढिला भएको थियो। अन्ततः अमेरिकी समयअनुसार जनवरी ३ को राति १०:४६ बजे ट्रम्पले अन्तिम आदेश दिएपछि अमेरिकी हेलिकप्टरहरू समुद्रमाथि करिब १०० फिटको उचाइमा उड्दै कराकासतर्फ अघि बढेका थिए।

केही घण्टामै मादुरो अमेरिकी नियन्त्रणमा पुगे। ट्रम्पले ‘ट्रुथ सोसल’ मा मादुरोलाई हतकडी लगाइएको अवस्थाको तस्बिर सार्वजनिक गरे। त्यसपछि ट्रम्पले अमेरिकाले अब भेनेजुएलालाई अनिश्चितकालसम्म सञ्चालन गर्ने घोषणा गरे र आवश्यक परे जमिनमै सेना तैनाथ गर्न नडराउने चेतावनी दिए।

मादुरो र उनकी पत्नीलाई सुरुमा अमेरिकी युद्धपोतमा राखिएको थियो र त्यसपछि ग्वान्टानामो खाडी हुँदै न्युयोर्क ल्याइयो। हाल उनीहरूलाई ब्रुकलिनस्थित संघीय कारागार मेट्रोपोलिटन डिटेन्सन सेन्टर मा राखिएको छ।

न्युयोर्क प्रहरी विभागले मादुरोलाई कडा सुरक्षाका साथ सो केन्द्र पुर्‍याएको हो। उनलाई हेलिकप्टरमार्फत म्यानहट्टन ल्याइएपछि कानुन कार्यान्वयन निकायका सवारी साधनहरूको लस्कर (मोटरकेड) मार्फत हिरासत केन्द्र लगिएको थियो। मादुरोले आगामी साता म्यानहट्टनस्थित संघीय अदालतमा लागुऔषध र हतियार ओसारपसार सम्बन्धी आरोपको सामना गर्ने तयारी छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com