गभर्नरमा निर्वाचित भए मास्क लगाउने आइस अधिकारीहरूको ड्राइभर लाइसेन्स खारेज गर्ने स्वालवेलको चेतावनी


प्रकाशित मिति : पुस १८, २०८२ शनिबार

फाइल तस्वीर । स्रोत : विकिपीडिया

क्यालिफोर्नियाका कंग्रेस सदस्य एरिक स्वालवेलले यदि आफू गभर्नरमा निर्वाचित भए भने मास्क लगाएर काम गर्ने संघीय आप्रवासन अधिकारीहरूको ड्राइभर लाइसेन्स खारेज गर्ने चेतावनी दिएका छन्। उनले पहिचान नखुलाइ मास्क लगाएर अपरेशन गर्ने अधिकारीहरूलाई क्यालिफोर्नियामा सवारी चलाउने अनुमति नदिइने बताएका हुन् ।

क्यालिफोर्नियामा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूले अपरेशनका क्रममा मास्क लगाउन नपाउने कानुन लागू भएको छ। सेप्टेम्बरमा उक्त कानुनमा हस्ताक्षर गर्दै गभर्नर ग्याभिन न्यूसमले आइस अधिकारीहरू अब जवाफदेहिताबाट लुक्न नपाउने बताएका थिए।

तर, अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उक्त कानुन नमान्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले नोभेम्बरमा यो प्रतिबन्ध असंवैधानिक भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो। डिसेम्बर २२ मा संघीय न्यायाधीश क्रिस्टिना स्नाइडरले प्रारम्भिक रोक आदेशको माग अस्वीकार गरेपछि कानुनी विवाद अझै जारी छ।

ट्रम्प राष्ट्रपति भएपछि क्यालिफोर्नियामा संघीय आप्रवासन कारबाही तीव्र बनाइएको छ। प्यू अनुसन्धान केन्द्रका अनुसार सन् २०२३ सम्म क्यालिफोर्नियामा करिब २२ लाख ५० हजार गैरकानुनी आप्रवासी बसोबास गर्दै आएका थिए, जुन देशमै सबैभन्दा बढी संख्या हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि जुन महिनामा लस एन्जेलसमा आइसको छापामारीको विरोधमा आप्रवासी समुदायले प्रदर्शन गरेका थिए। त्यसपछि गभर्नर न्यूसमको आपत्ति बाबजुद ट्रम्पले क्यालिफोर्निया नेशनल गार्ड र मरीन तैनाथ गरेका थिए। सेप्टेम्बरमा संघीय अदालतले राष्ट्रपतिको उक्त कदम असंवैधानिक भएको फैसला सुनाएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com