एक वर्षमा नेपाल भित्रिए एक लाख १२ हजारबढी अमेरिकी पर्यटक : हिमाल, संस्कृति र शान्तिमा आकर्षण
प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार
अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । तस्वीर : कृष्ण न्यौपाने/रासस
सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
नेपाल भित्रिने विदेशी पर्यटकहरूमा सबै भन्दा धेरै भारतीय रहेका छन् । बोर्डका अनुसार एक वर्षमा छिमेकी मुलुक भारतबाट दुई लाख ९२ हजार ४३८ जना पर्यटक नेपाल घुम्न आएका हुन् । यस्तै दोस्रोमा अमेरिका रहेको छ । सन् २०२५ मा एक लाख १२ हजार ३१६ अमेरिकी पर्यटकलाई नेपालले स्वागत गरेको छ भने तेस्रोमा रहेको चीनबाट ९५ हजार ४८० पर्यटक नेपाल उत्रिएका हुन् ।
बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा बेलायतबाट ५८ हजार ६८४, बङ्गलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७ श्रीलङ्काबाट ३७ हजार ५५० जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, थाइल्यान्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका छन् ।

सन् २०२५ को डिसेम्बरमा मात्रै ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । डिसेम्बरमा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट आठ हजार ६८०, अमेरिकाबाट ७ हजार ७७ पर्यटक नेपाल भित्रिए । यस्तै, बङ्गलादेशबाट छ हजार ६०५, अस्ट्रेलियाबाट चार हजार ९८०, थाइल्यान्डबाट चार हजार ४१९, बेलायतबाट चार हजार २३४, म्यानमारबाट तीन हजार ७९३, जापानबाट दुई हजार ७५८ र मलेसियाबाट दुई हजार ४२९ पर्यटक भित्रिएका थिए ।

पर्यटन बोर्डका अनुसार अघिल्लो वर्ष सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को तुलनामा गत वर्ष विदेशी पर्यटक आगमन ० दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो । यस्तै, सन् २०१९ (कोरोना महामारीअघि) को तुलनामा यो सङ्ख्या ९६ दशमलव ८ प्रतिशत रिकभरी रहेको बोर्डले जनाएको छ ।
प्राकृतिक विपत्ति, जेन्जी आन्दोलनलगायतका बाबजुद पनि सन् २०२५ मा नेपाल भित्रिने पर्यटक सङ्ख्या उत्साहजनक देखिएको बोर्डले जनाएको छ ।





