ट्रम्पले ग्रीनल्याण्डका लागि विशेष दूत नियुक्त गरेपछि डेनमार्कको आपत्ति, अमेरिकी राजदूतलाई बोलाउने तयारी
प्रकाशित मिति : पुस ६, २०८२ सोमबार
डेनमार्क र अमेरिकाबीच ग्रीनल्याण्डलाई लिएर कूटनीतिक तनाव चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डका लागि विशेष दूत नियुक्त गरेपछि डेनमार्कले अमेरिकाका राजदूतलाई बोलाउने तयारी गरेको छ।
राष्ट्रपति ट्रम्पले आइतबार लुइजियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई ग्रीनल्याण्डका लागि विशेष दूत नियुक्त गरेका हुन्। ग्रीनल्याण्ड डेनमार्कअन्तर्गतको स्वायत्त क्षेत्र हो। ट्रम्पले यसअघि पनि सुरक्षा र रणनीतिक कारण देखाउँदै ग्रीनल्याण्ड अमेरिकाका लागि आवश्यक भएको दाबी गर्दै आएका छन्।
डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले उक्त कदमप्रति गहिरो असन्तुष्टि जनाउँदै डेनमार्कको सार्वभौमिकताको सम्मान गर्न अमेरिकालाई चेतावनी दिएका छन्। उनले अमेरिकी राजदूतलाई बोलाएर औपचारिक स्पष्टीकरण लिने तयारी भइरहेको जानकारी दिएका छन्। रासमुसेनका अनुसार ट्रम्प र ल्यान्ड्रीका अभिव्यक्तिहरू “पूर्ण रूपमा अस्वीकार्य” छन्।
सामाजिक सञ्जालमा ट्रम्पले ल्यान्ड्रीले ग्रीनल्याण्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि कति महत्वपूर्ण छ भन्ने कुरा बुझेको बताएका छन्। ल्यान्ड्रीले पनि ग्रीनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउने उद्देश्यले काम गर्ने टिप्पणी गरेका छन्, जसले विवादलाई थप चर्काएको छ।
यसैबीच, ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले विशेष दूतको नियुक्तिले ग्रीनल्याण्डको आन्तरिक स्थितिमा कुनै प्रभाव नपर्ने बताएका छन्। “हामी आफ्नो भविष्य आफैं निर्णय गर्छौं। ग्रीनल्याण्ड ग्रीनल्याण्डवासीहरूको हो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
जनवरीमा गरिएको एक सर्वेक्षणअनुसार ग्रीनल्याण्डका अधिकांश नागरिक डेनमार्कबाट स्वतन्त्र हुन चाहन्छन् । तर, अमेरिकाको हिस्सा बन्ने पक्षमा छैनन्। डेनमार्क र ग्रीनल्याण्ड दुवैका नेताहरूले ग्रीनल्याण्ड बिक्रीका लागि नभएको र आफ्नो भविष्य आफैं तय गर्ने कुरा दोहोर्याउँदै आएका छन्।
नर्थ अमेरिका र युरोपबीच रणनीतिक रूपमा अवस्थित ग्रीनल्याण्डमा अमेरिका, चीन र रुसको चासो बढ्दै गएको छ। जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रमा समुद्री मार्ग खुल्दै जाँदा यसको भू–राजनीतिक महत्व झन् बढेको छ। यही सन्दर्भमा ग्रीनल्याण्डलाई लिएर अमेरिका र डेनमार्कबीचको तनाव अन्तर्राष्ट्रिय चासोको विषय बनेको हो ।






