न्युयोर्कमा ‘कोड ब्लु’ जारी, तापक्रम शुन्य डिग्री सेल्सियसभन्दा तल झर्ने
प्रकाशित मिति : मंसिर १६, २०८२ मंगलबार
न्युयोर्कमा तापक्रम शुन्य डिग्री सेल्सियसभन्दा तल झर्ने देखिएपछि डिपार्टमेन्ट अफ होमलेस सर्भिसेसले मंगलबार रातिदेखि बुधबार बिहानसम्म ‘कोड ब्लु’ घोषणा गरेको छ। ‘कोड ब्लु’ मंगलबार दिउँसो ४ बजेदेखि बुधबार बिहान ८ बजेसम्म लागू हुनेछ।
‘कोड ब्लु’ लागु भएपछि घरबारविहीन मानिसहरुसम्म न्युयोर्क डिपार्टमेन्ट अफ होमलेस सर्भिसेसले आवश्यक सहयोगका लागि अधिकारीहरुलाई पठाउने छ । यस अवधिमा घरबारविहीनका लागि आश्रयस्थलहरुमा पहुँच प्रदान गरिनेछ ।
अधिकारीहरुले बुधबार बिहान तापक्रम शुन्य डिग्री सेल्सियस (३२ डिग्री फरेनहाइट) भन्दा कमको आसपास रहने भएकाले सचेत हुन र आश्रय आवश्यक भएमा ३११ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
स्थानीय सरकारका अधिकारीहरु र न्युयोर्क सिटी प्रहरीहरु कोड ब्लु जारी भएपछि थप सक्रियताका साथ सहरहरुमा परिचालन हुने गर्दछन् । उनीहरुलाईलाई पनि आश्रयका लागि भन्न सकिने डिपार्टमेन्ट अफ होमलेस सर्भिसेसले जानकारी दिएको छ ।सहरका सबैभन्दा कमजोर जनसंख्यालाई गम्भीर जाडोको जोखिमबाट बचाउन ‘कोड ब्लु’ ले प्रभावकारी भुमिका खेल्ने गर्दछ ।
न्युयोर्क सिटीले चिसोको समयमा न्युयोर्कवासीहरूले आफूलाई सुरक्षित राख्न अपनाउनुपर्ने उपायका बारेमा सचेत गराएको छ । पाल्तु जनावरहरूलाई सुरक्षित राख्न र जनावरहरूलाई राति घरभित्र ल्याउन सुझाव दिइएको छ । जम्ने तापक्रममा थोरै समयको सम्पर्कले पनि खतरा निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।
बाहिरका बिरुवाहरूलाई जोगाउन सुझाव दिइएको छ । गमलामा राखिएका बिरुवाहरूलाई भित्र सार्न र तुषारोको क्षतिबाट बचाउन बाहिर छोडिएका कुनै पनि बिरुवालाई कपडा वा बोराले छोपिदिन सुझाव दिइएको छ ।
पाइपहरूलाई जम्नबाट जोगाउन सुझाव दिइएको छ । न्यानो नभएका वा हावा छिर्ने ठाउँहरूमा सबैभन्दा जोखिममा रहेको धाराबाट हल्का पानी चुहिन दिन सुझाव दिइएको छ भने न्यानो हावा प्रसारित हुन दिन सिङ्कमुनिका क्याबिनेट ढोकाहरू खोल्न सुझाव दिइएको छ ।
न्यानो लुगा लगाउन सुझाव दिइएको छ । चिसो हावाले तापक्रम अझ बढी चिसो महसुस गराउनसक्ने भएकाले विशेष गरी बिहानको समयमा बाक्ला लुगाहरू लगाउन र छालालाई ढाक्न सुझाव दिइएको छ । विन्डशिल्ड, फुटपाथ र अन्य सतहहरूमा तुषारो जम्ने सम्भावना रहेकाले हिँड्दा, साइकल चलाउँदा वा गाडी चलाउँदा सावधानी अपनाउन भनिएको छ । बुधबार बिहान आफ्नो कार तताउन र झ्यालहरू सफा गर्नको लागि अतिरिक्त समय छुट्याउन सुझाव दिइएको छ ।






