नेपालमा विदेशी नागरिक ट्र्याक गर्ने प्रणाली “एफएनआरटीएस” अब जनवरीपछिमात्र


प्रकाशित मिति : कार्तिक २२, २०८२ शनिबार

नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको दर्ता तथा ट्र्याकिङलाई व्यवस्थित गर्न अध्यागमन विभागले फरेन नेसनल रजिस्ट्रेसन एन्ड ट्रेकिङ सिस्टम (एफएनआरटीएस) कार्यान्वयन गर्ने तयारी गरेको छ। विभागका प्रवक्ता टिकाराम ढकालले यो प्रणालीलाई विगत चार–पाँच आर्थिक वर्षदेखि नै वार्षिक कार्यक्रममा समावेश गरिएको भए पनि प्राविधिक समस्याका कारण कार्यान्वयन हुन नसकेको बताएका छन्। यस वर्ष भने यो प्रणाली विकास गरी कार्यान्वयनमा ल्याउने अन्तिम तयारी भइरहेको उनले जानकारी दिए।

प्रवक्ता ढकालका अनुसार, यो प्रणालीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको अभिलेख व्यवस्थापन, स्वतन्त्र आवागमन नियमन र पर्यटन प्रवर्द्धनलाई मुख्य रूपमा जोड दिनेछ। अन्तर्राष्ट्रिय सम्झौता तथा कानुनहरूअनुसार विदेशी नागरिकहरूको सुरक्षा, ट्रेकिङ तथा आपतकालीन उद्धारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। “यो प्रणालीले विदेशी नागरिकहरूको बसाइँ, भिसा अवधि तथा क्रियाकलाप ट्र्याक गर्न मद्दत गर्नेछ, जसले अध्यागमन अपराधहरू जस्तै लागूऔषधि कारोबार, मानव तस्करी र विदेशी मुद्रा अपचलनलाई नियन्त्रण गर्न सहयोग पुग्नेछ,” ढकालले भने।

विभागले यो प्रणालीलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने योजना बनाएको थियो। पहिलो चरणमा असोज १ गतेदेखि काठमाडौँ उपत्यकाका तारे होटेलहरूबाट सुरु गर्ने, दोस्रो चरणमा मङ्सिर १ गतेदेखि मनी एक्सचेन्जर, विमान कम्पनी तथा टुर्स एन्ड ट्राभल्स कम्पनीहरूमा अनिवार्य गर्ने र तेस्रो चरणमा सबै सेवा प्रदायक निकायहरूमा लागू गर्ने कार्ययोजना थियो। होटल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल लगायत सरोकारवाला निकायहरूसँग छलफल पनि गरिएको थियो।

तर, भदौ २३ र २४ गते भएको आन्दोलनका कारण होटेल तथा निजी क्षेत्र प्रभावित भएको र प्राविधिक समस्या देखिएको भन्दै सरोकारवालाहरूले सन् २०२६ जनवरीदेखि मात्र कार्यान्वयन गर्न अनुरोध गरेका थिए। यसलाई ध्यानमा राख्दै विभागले अहिलेका लागि प्रणालीलाई अनिवार्य नबनाउने निर्णय गरेको छ। “हामीले सरोकारवाला निकायहरूलाई अनुरोध गरेका छौँ कि यो सरकारको नीति हो, यसलाई सञ्चालन गर्नुहोस्। तर अहिले नै म्यान्डेटरी बनाएर कारबाही गर्ने व्यवस्था गरेका छैनौँ,” ढकालले स्पष्ट पारे। केही होटेल तथा संस्थाहरूले भने यो प्रणालीको सुरुआत गरिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो प्रणालीले विदेशी नागरिकहरूको भिसा अवधि समाप्त भएपछि सिस्टमबाटै पप–अप सूचना दिनेछ, जसले डिपोर्टेशन तथा अनुसन्धानमा सहजता ल्याउने अपेक्षा छ। नेपालमा हरेक वर्ष ठूलो सङ्ख्यामा विदेशी नागरिकहरूलाई अध्यागमन अपराधका कारण डिपोर्ट गरिने गरेको र खुला सीमाको फाइदा उठाएर उनीहरू भारत हुँदै फर्किने प्रवृत्ति देखिएको ढकालले उल्लेख गरे। “यो प्रणाली कार्यान्वयन भएपछि उनीहरूको पछिल्लो लोकेशन ट्र्याक गर्न सजिलो हुनेछ, जसले खोज तथा उद्धार कार्यमा पनि मद्दत पुग्नेछ,” उनले भने।

भारतीय नागरिकहरूको हकमा पनि यो प्रणाली लागू हुने स्पष्ट गर्दै ढकालले भने, “भारतीय नागरिकहरू होटेलमा बस्दा कागजात पेश गर्नुपर्छ र उनीहरूको विवरण रजिस्ट्रेसन हुन्छ। थर्ड कन्ट्रीबाट भारत हुँदै आउनेहरूले अध्यागमनबाटै भिसा लिन्छन्।” विभागले ७७ वटै जिल्लाका अनुगमन समितिहरूलाई यो प्रणालीबारे जानकारी गराइसकेको छ।

विभिन्न दूतावासहरूबाट यो प्रणालीबारे चासो व्यक्त भए पनि ढकालले यसले विदेशी नागरिकहरूको हरेक क्रियाकलाप ट्र्याक नगर्ने, बरु उनीहरूको सुरक्षा र पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने बताए। “यो प्रणालीले पर्यटकहरूको ट्रेकिङ तथा एक्स्पेडिसनमा आपतकालीन अवस्थामा उद्धारलाई सहज बनाउनेछ,” उनले थपे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com