बेलायतले भारतका लागि भिसाका नियमहरू खुकुलो नबनाउने


प्रकाशित मिति : आश्विन २०, २०८२ मंगलबार

बेलायतले भारतका लागि भिसा नियमहरू खुकुलो नबनाउने बताएको छ।

बेलायतका प्रधानमन्त्री सर किअर स्टार्मरले भारतका लागि भिसा नियमहरू खुकुलो पार्ने कुनै योजना नभएको बताएका हुन्। भारतसँग हालै सम्पन्न व्यापार सम्झौताका फाइदाहरू प्रचार गर्न भारत आएका प्रधानमन्त्री स्टार्मरले यो कुरा बताएका हुन्।

प्रधानमन्त्री स्टार्मर १०० भन्दा बढी उद्यमी, सांस्कृतिक अगुवा र विश्वविद्यालयका कुलपतिसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा छन्।

उनको उद्देश्य बेलायती लगानी बढाउने र सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्ने रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्टार्मरले भने, “भारतसँग व्यापार र सांस्कृतिक सम्बन्ध सुधार गर्न विशाल अवसरहरू छन्।”

तर उनले जोड दिए, “भारतीय कामदार वा विद्यार्थीहरूका लागि नयाँ भिसा मार्ग खोल्ने योजना भने तत्कालका लागि छैन।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एच-वन-बी भिसा नीतिमा परिवर्तन गरेपछि बेलायतले नयाँ टेक उद्यमीहरू आकर्षित गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा स्टार्मरले विश्वभरबाट उत्कृष्ट प्रतिभा ल्याउन चाहेको तर भारतका लागि नयाँ भिसा मार्ग खोल्ने योजना भने नभएको बताए।

स्टार्मरले भने, “मुद्दा भिसाको होइन, व्यवसायदेखि व्यवसायको सम्बन्ध, लगानी, रोजगारी र समृद्धि बेलायतमा ल्याउने कुरा हो।”

भारत र बेलायतबीचको व्यापार सम्झौता लामो वार्तापछि सन् २०२५ जुलाईमा हस्ताक्षर गरिएको थियो।

यस सम्झौताअन्तर्गत बेलायती कार र व्हिस्की भारत पठाउन सस्तो हुनेछ। भारतीय कपडा र गहना बेलायत निर्यात गर्न पनि सस्तो हुनेछ। सम्झौताले दुई देशबीचको व्यापारमा अर्बौं पाउन्डको वृद्धिको अपेक्षा गरिएको छ।

यसमा भारतबाट छोटो अवधिका लागि काम गर्न बेलायत पुगेका कर्मचारीहरूलाई तीन वर्षसम्म सामाजिक सुरक्षा योगदानमा छुट दिने व्यवस्था पनि गरिएको छ।

लेबर सरकार अहिले बेलायतमा आप्रवासन दर घटाउने प्रयासमा रहेको छ। गत साता सम्पन्न पार्टीको सम्मेलनमा स्थायी बसोबास सम्बन्धी कडा नीति घोषणा गरिएको थियो।

प्रधानमन्त्री स्टार्मरले भिसा सम्बन्धी विषय व्यापार सम्झौताको कुनै भाग थिएन र त्यो स्थिति परिवर्तन भएको पनि छैन भनेका छन्। प्रधानमन्त्रीसँगै गएको प्रतिनिधिमण्डलमा ब्रिटिश एयरवेज पनि छ, जसले अर्को वर्षदेखि दिल्ली–हिथ्रो बीच तेस्रो दैनिक उडान सुरु गर्ने योजना घोषणा गरेको छ।

त्यस्तै, म्यानचेस्टर विमानस्थलले पनि दिल्लीसँग सीधा उडान सुरु गर्ने तयारी जनाएको छ।

दुई दिनको भारत भ्रमणका क्रममा प्रधानमन्त्री स्टार्मरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com