क्यालिफोर्नियाको डढेलोबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो


प्रकाशित मिति : आश्विन २८, २०७४ शनिबार

अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएसँगै कम्तीमा पनि ३१ जनाको ज्यान गएको बताइएको छ ।

गएको आइतबार साँझबाट जङ्गलमा लागेको डढेलो पछि सहर बस्तीमा छिरेको थियो । अहिलेसम्म यो डढेलको ७६ हजार हेक्टर जमीनमा लागेको छ ।

यसअन्तर्गत जङ्गल, स्थानीय घर पसल तथा भवनका साथै ठूलो मात्रामा क्यालिफोर्नियाको अंगुर खेती परेको छ । क्यालिफोर्नियालाई अंगुर र वाइनको सहर भनिन्छ ।

अधिकारीहरुले जनाएअनुसार यो डढेलोले स्थानीय नागरिकका घर तथा व्यापारिक भवनहरुगरी कम्तीमा पनि तीन हजार ५०० जलाएर खरानी बनाएको छ ।

गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या शुक्रबार बिहानसम्ममा ३१ पुगेको र अझै अरु कैयौँ व्यक्ति हराइरहेका बताइएको छ ।

डढेलो अहिले पनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले यसलाई क्यालिफोर्नियाको इतिहासमा नै प्राकृतिक प्रकोपबाट भएको यो सबैभन्दा ठूलो क्षति हो भनेका छन् ।

बिहीबार पनि आगो नियन्त्रणका लागि ठूलो प्रयास भएको तर हावा चलेको र आगोको लप्पकाहरुका साथै तुवाँलो, हावाले उडाएको खरानी र धुवाँका कारण उद्वारका साथै आगो निभाउन काम गर्न नसकिएको बताएका छन् ।

करिब अठ हजार जना अग्नि नियन्त्रकले काम गरिरहेका छन् । तर आगो नियन्त्रणको काम अत्यन्तै कठिन भइरहेको छ– अधिकारीहरुले जनाएका छन् ।

उक्त राज्यको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । उक्त काउन्टीमामात्र २० जनाको ज्यान गएको छ । त्यसैगरी सो जिल्लाबाट धेरै व्यक्ति हराएका छन् ।

डढेलोका कारण प्रभावित भएका कम्तीमा पनि ३० हजार जनालाई त्यहाँबाट अन्यत्रै सारिएको बताइएको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उक्त राज्य सरकारले जनाएको छ ।

हजारौँ स्थानीय नागरिक घर छोडेर भाग्न बाध्य भएका छन् । करिब ३० हजार जना घरबारबिहीन भएका छन् ।

पछिल्लो जानाकारी अनुसार अहिलेसम्ममा करिब ४०० जना स्थानीय नागरिक हराइरहेका छन् । तर अधिकारीहरुले हराउने मानिसको तथ्याङ्क यो भन्दा सानो पनि हुन सक्ने भनेका छन् ।

किनभने कतिपय स्थानका हराइरहेका भनी आएको स्थानीयको तथ्याङ्क दोहोरिएकोले हराइरहेका व्यक्तिको सङ्ख्या घटन पनि सक्ने उनीहरुको भनाई छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com