क्यानडासँग दुईपक्षीय व्यापार सम्झौताको पक्षमा ट्रम्प
प्रकाशित मिति : आश्विन २६, २०७४ बिहीबार


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदी उत्तर अमेरिकाको खुला व्यापार सम्झौता (नाफ्टा) को सुधारसम्बन्धी वार्ताहरु असफल भए उनले नयाँ सम्झौता केवल अमेरिका र क्यानडाबीच मात्रै हने परिकल्पना गर्ने बताएका छन्।
ट्रम्पको उक्त भनाईपछि मेक्सिकोका विदेश मन्त्री लुइस भिडिगराइले यदी नाफ्टा बन्द गरिए त्यसले अमेरिका र मेक्सिकोको सम्बन्धमा असर पुर्याउने र लागू पदार्थ ओसारपसारविरुद्ध लड्न भइरहेको सहकार्यलाई पनि असर पार्ने बताए।
यसैबीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने राम्रो सम्झौताका लागि तीनवटै देश हुन अनिवार्य रहेको बताए।
प्रतिवाद
अमेरिकाले कार निर्माणमा आफ्नो सहभागिताको अंश बढाउन गरेको प्रस्ताव मेक्सिकोले प्रतिवाद गरेपछि व्यापार सम्झौताबारे अहिले भइरहेको वार्ताको श्रृंखला रोकिएको बताइएको छ।
ट्रम्पको अडानको अमेरिकाका व्यापारीहरुले आलोचना गरिरहेका छन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले अमेरिका र क्यानडा दुबैले आफ्ना कामदारहरुको संरक्षण गर्न चाहेको बताए।
आशा
उनले भने, “यो वा त्यो कसैसँग पनि सम्झौतामा पुग्न नसक्ने संभावना पनि छ। तर यसैबीच हामी एउटासंग त सम्झौता गर्नेछौं। तर मलाई लाग्छ हामीसँग केही श्रृजनात्मक काम गर्ने मौका छ जसले क्यानडा, मेक्सिको र अमेरिकालाई राम्रो हुनेछ।”
उनले यदी उत्तर अमेरिकाको खुला व्यापार सम्झौता हुन नसके त्यलाई बन्द गर्ने बताए।
तर उनका वाणिज्य मन्त्री विलबर रसले त्यस्तो कदमको आवश्यकता नपर्न सक्ने आशा व्यक्त गरे।
यसैबीच क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने वार्ता अझै पनि जीतमै टुंगिनेमा आफू विश्वस्त रहेको बताए।