“सञ्चार सीपको कमीका कारण युकेमा नेपाली इन्जिनियरको पेसागत विकासमा बाधा” : इ. सुबोध तिमिल्सिना


प्रकाशित मिति : भाद्र १४, २०८२ आईतबार

बेलायतमा रहेका नेपाली इन्जिनियरहरूको साझा संस्था सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले इन्जिनियरहरूको हित, पेसागत विकास र नेपालको विकासमा ‘ब्रेन गेन’ को अवधारणालाई साकार पार्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। संस्थाका अध्यक्ष इ. सुबोध तिमिल्सिनाका अनुसार, नेपाली इन्जिनियरहरू प्राविधिक रूपमा सक्षम भए पनि यूकेमा आफ्नो पेसामा स्थापित हुन सञ्चार सीप  र अवसरको अभाव जस्ता चुनौतीहरूले गर्दा कठिन भइरहेको छ। हालै न्युयोर्कमा यसबारे खसोखाससँग कुराकानी गर्दै तिमिल्सिनाले बेलायतमा नेपाली इन्जिनियरहरुका चुनौतीबारे प्रकाश पार्नुभएको हो ।

सन् २००७ मा अनौपचारिक रूपमा सुरु भएको सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले सन् २०१८-२०१९ बाट आफ्नो कार्यलाई गति दिएको थियो। यसको मुख्य उद्देश्य इन्जिनियरहरूको हकहित, आपसी समन्वय, र पेसागत विकासका लागि जग बसाल्नु रहेको छ। सुरुमा नीति, नियम र विधान बनाउनमा ध्यान दिएको संस्थाले अहिले हरेक दुई वर्षमा एकपटक कार्यक्रम आयोजना गर्दै आएको छ। हाल चौथो कार्यकालको नेतृत्व गरिरहेका अध्यक्ष तिमिल्सिनाका अनुसार, संस्थाले सबै किसिमका इन्जिनियरहरूलाई समेट्ने प्रयास गरिरहेको छ। यसमा भर्खरै पढाइ सकेर आएका, युकेमै जन्मिएर हुर्किएका र लामो अनुभव भएका इन्जिनियरहरू सबै संलग्न छन्।

सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले इन्जिनियरहरूको सीप बढाउनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अध्यक्ष तिमिल्सिनाले प्रत्येक महिना ‘प्रोफेसनल डेभलपमेन्ट फोरम’ र वेबिनार आयोजना गरिने जानकारी दिनुभयो। तिमिल्सिनाले भन्नुभयो, “यी फोरमहरूमा इन्जिनियरहरूले आफ्नो अनुसन्धान र अनुभव प्रस्तुत गर्न सक्छन्। यसले युके र नेपाल दुवै ठाउँका इन्जिनियरहरूलाई एकआपसमा जोड्ने काम गर्छ। गत वर्ष संस्थाले ‘रिसर्च राइटिङ स्किल’ प्रतियोगिता आयोजना गर्नुका साथै नियमित रूपमा न्यूजलेटर पनि प्रकाशन गर्दै आएको छ।”

युकेमा इन्जिनियरिङ पढ्न आउने नेपाली विद्यार्थीहरूका लागि संस्थाले विशेष सहयोग कार्यक्रम चलाएको छ। तिमिल्सिनाका अनुसार, उनीहरूलाई कसरी सीभी बनाउने, अन्तर्वार्ता कसरी दिने र कुन विषय छनोट गर्ने भन्नेजस्ता कुराहरूमा मार्गदर्शन दिइन्छ। सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले विद्यार्थीहरूलाई ‘मेन्टरिङ’ सेवा प्रदान गर्छ र जागिरका अवसरहरू बारे जानकारी गराउँछ। संस्थाले कलेजमै गएर विद्यार्थीहरूलाई आफ्नो नेटवर्कमा जोड्न प्रोत्साहन पनि दिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो लामो अनुभवमा नेपाली इन्जिनियरहरू प्राविधिक रूपमा धेरै योग्य भए पनि सञ्चार सीपको कमी ठूलो चुनौती  औंल्याउँदै भन्नुभयो, “नेपालबाट आउने इन्जिनियरहरूमा प्राविधिक ज्ञानको कमी नभए पनि, यूकेको फरक ‘एक्सेंट’ र काम गर्ने तरिकाले गर्दा आफ्नो ज्ञानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्दा पेसागत विकासमा बाधा पुगेको छ। नेपालको शैक्षिक वातावरण र यहाँको काम गर्ने तरिका फरक भएकोले विद्यार्थीहरूलाई घुलमिल हुन गाह्रो हुन्छ। युकेमा काम गर्नका लागि यहाँको उच्चारण र सञ्चार शैलीमा अभ्यस्त हुनुपर्छ, जुन ‘सफ्ट स्किल’ को रूपमा महत्त्वपूर्ण छ।”

उहाँका अनुसार, ज्ञान हुँदाहुँदै पनि त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्दा पेसागत विकासमा बाधा पुग्छ। जसका कारण  ‘अन्डर-इम्प्लोयमेन्ट’ को अवस्था समेत रहेको छ । “नेपालबाट विद्यार्थी भिसामा युके आउने नेपालीहरूका लागि कानुनी रूपमा हप्तामा २० घण्टा मात्रै काम गर्न पाउने नियम छ। इन्जिनियरिङ क्षेत्रमा प्रवेशका लागि रहेको जटिल कानुनी प्रक्रियाले पनि उनीहरूलाई समस्या पारेको छ,” तिमिल्सिनाले भन्नुभयो ।

तिमिल्सिनाले यस्तो अवस्थामा धेरैले आफ्नो पेसामा नभई सामान्य काम गर्न बाध्य भएको स्वीकार गर्नुभयो। यद्यपि, उहाँले धेरै नेपालीहरूले दुई वर्षको अवधिमा आफूलाई प्रमाणित गर्न सकेको र राम्रो तलब पाउने जागिरमा पुगेको पनि बताउनुभयो।

सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूकेले यो समस्या समाधानका लागि ‘युथ कमिटी’ बनाएको छ। तर, सम्पर्कमा आउन विद्यार्थीहरूमा पर्याप्त रुचि नदेखिएको उहाँको भनाइ छ। तिमिल्सिनाले अब संस्था आफैँले विश्वविद्यालयहरूमा गएर विद्यार्थीहरूसँग सीधा सम्पर्क गर्ने योजना बनाएको जानकारी दिनुभयो। तिमिल्सिनाले भन्नुभयो, “संस्थासँग प्राध्यापक, व्यवसायी र उच्च पदमा रहेका अनुभवी इन्जिनियरहरूको ठूलो सूची छ, जो विद्यार्थीहरूलाई मेन्टरसिप दिन तयार छन्।”

अध्यक्ष तिमिल्सिनाका अनुसार, वार्षिक करिब ८,००० इन्जिनियर उत्पादन हुने नेपालमा रोजगारीका अवसर नहुँदा हरेक वर्ष करिब ७००० इन्जिनियरहरू विदेशिन जान बाध्य छन्। यसलाई ‘ब्रेन ड्रेन’ नभई ‘ब्रेन गेन’ मा बदल्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो। विदेशमा सिकेको ज्ञान, सीप र अनुभव नेपालको हितमा प्रयोग गर्नका लागि सरकारले उचित वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। यसको समाधानका लागि  उहाँले नेपालमा ‘ग्लोबल कोल्याबोरेसन सेन्टर’ को अवधारणा ल्याउनुपर्नेमा जोड दिनुभयो, जसले अन्तर्राष्ट्रिय निर्माण र आईटी कम्पनीहरूलाई नेपालमा आउटसोर्सिङ गर्न आकर्षित गर्न सक्छ। यसो गर्न सके भारतले जस्तै नेपालले पनि हजारौं इन्जिनियरहरूलाई स्वदेशमै रोजगारी दिन सक्छ।

अध्यक्ष तिमिल्सिनाले नेपालको विकास परियोजनाहरूमा हुने ढिलासुस्ती र त्रुटिहरूको मुख्य कारण नीतिगत र व्यवस्थापकीय कमजोरी रहेको बताउनुभयो। उहाँका अनुसार, ठूला परियोजनाहरू (जस्तै मेलम्ची खानेपानी आयोजना र मुग्लिन-नारायणगढ सडक) समयमा सम्पन्न नहुनुमा इन्जिनियरहरूलाई दोष दिनु गलत हो। उहाँले निर्णय प्रक्रियामा इन्जिनियरहरूलाई सहभागी नगराइएको र उनीहरूको सुझावलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो। उहाँले यस्ता समस्या समाधानका लागि सरकारले विज्ञहरूको सल्लाह लिनुपर्ने र निष्पक्ष छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिनुभयो। “नेपालमा मेट्रो रेलजस्ता ठूला परियोजना सुरु गर्न आवश्यक ज्ञान र सीप विदेशी इन्जिनियरहरूसँग छ, तर त्यसलाई प्रयोग गर्न उचित वातावरण छैन,” उहाँको भनाइ छ।

नेपालमा वार्षिक ठूलो संख्यामा सवारीसाधन आयात हुने भएकाले सवारीसाधन एसेम्ब्ली उद्योग स्थापना गर्न सकिने सम्भावनाबारे पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले सरकारले विदेशमा सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा उपयोग गर्ने वातावरण नबनाएको र इन्जिनियरहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेरेको आरोप लगाउनुभयो।तिमिल्सिनाले भन्नुभयो, “इन्जिनियरबिना विकास सम्भव छैन ।  नेपालको विकासका लागि सरकारले पूर्वाधार विकासको योजना निर्माण र कार्यान्वयनमा इन्जिनियरहरूलाई जिम्मेवार बनाउनु अपरिहार्य छ।”

उहाँले नेपालका विकास परियोजनाहरूमा हुने त्रुटिहरू, जस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याम्प र बारम्बार भत्किने पुलहरू, इन्जिनियरहरूलाई निर्णय प्रक्रियामा समावेश नगरेको परिणाम भएको तर्क गर्नुभयो। उहाँले पुल भत्किनुको मुख्य कारण ठेक्का प्रक्रियामा हुने भ्रष्टाचार र व्यवस्थापकीय कमजोरी रहेको बताउनुभयो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com