डेल्टा र युनाइटेड एयरलाइन्सविरुद्ध यात्रुहरूले किन दायर गरे मुद्दा ?
प्रकाशित मिति : भाद्र ३, २०८२ बुधबार
अमेरिकाको डेल्टा एयरलाइन्स र युनाइटेड एयरलाइन्स विरुद्ध यात्रुहरूले मुद्दा दायर गरेका छन्। आफूहरूले विन्डो सिट (झ्याल भएको सिट) का लागि अतिरिक्त शुल्क तिरे पनि अन्ततः “झ्याल नभएको” सिटमा बस्नुपरेको यात्रुहरूको दाबी छ।
अलग-अलग दायर गरिएका यी मुद्दाहरूले दुवै अमेरिकी एयरलाइन्सका करोडौँ यात्रुका लागि करोडौँ डलर क्षतिपूर्ति मागेका छन्। मुद्दामा भनिएको छ, टिकट बुकिङ प्रक्रियामा एयरलाइन्सहरूले ती सिटमा झ्याल नभएको कुरा प्रस्ट्याउँदैनन् तर पनि प्रिमियम शुल्क भने लिन्छन्।
युनाइटेड एयरलाइन्सले यो विषय हाल कानुनी प्रक्रियामा रहेकाले कुनै प्रतिक्रिया नदिने बताएको छ।
यी मुद्दाहरू ग्रीनबाम ओल्ब्रान्ट्ज नामक कानुनी फर्मले दायर गरेका हुन्। उजुरीअनुसार, बोइङ र एयरबसका केही विमानमा एयर कन्डिसनिङ डक्ट, तार जडान वा अन्य उपकरणका कारण कतिपय सिटहरूमा झ्यालविहीन हुन्छन्। तर, डेल्टा र युनाइटेडले बुकिङ प्रक्रियामा यी सिटहरूलाई झ्यालविहीन भनेर छुट्याएको छैन।
यात्रुहरूले विभिन्न कारणले विन्डो सिट रोज्छन्— उडानको डर वा मोशन सिकनेस कम गर्न, बच्चालाई रमाइलो बनाउन, वा दृश्य अवलोकनका लागि। मुद्दामा भनिएको छ, यदि उनीहरूले सिटमा झ्याल छैन भन्ने कुरा थाहा पाएका भए, त्यस्तो सिट रोज्ने वा थप शुल्क तिर्ने थिएनन्।
दुवै एयरलाइन्सले विमानको छेउमा रहेका सबै सिटलाई “विन्डो सिट” भनेर सूचीकृत गर्ने गरेको छ, ती सिटमा झ्याल भएको होस् वा नभएको होस् ।
अदालतमा दायर कागजातले यो कुरा उल्लेख गरेको छ। यात्रुहरूले विन्डो सिट रोज्दा प्रायः साधारण सिटभन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ। कानुनी प्रतिनिधिहरूले यसलाई “भ्रामक” र “अवैध” अभ्यास भएको बताएका छन्।
अमेरिकन एयरलाइन्स र अलास्का एयरलाइन्सले पनि यस्तै विमान प्रयोग गर्ने गरे पनि बुकिङ प्रक्रियामा सिटमा झ्याल नभएको स्पष्ट जानकारी भने दिने गरेको बताइएको छ।








