नेपालको अध्यागमनद्वारा डेटा सेन्टर विस्तार, भारतीय वाण्टेड भागेको हल्ला निराधार भएको दावी
प्रकाशित मिति : श्रावण २३, २०८२ शुक्रबार
नेपालको अध्यागमन विभागले डेटा सेन्टर विस्तार गरेको छ । यो विस्तारपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा हुने सर्वर बन्द हुने समस्याको समाधान गरेको अध्यागमन विभागको दावी छ । यसअघि एक मात्र डेटा सेन्टर सञ्चालनमा रहेकोमा अब थप एक डेटा सेन्टर स्थापना गरिएको हो, जसले अध्यागमन प्रणालीमा देखिने सर्वर समस्यालाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ ।
पहिले एक मात्र डेटा सेन्टर सञ्चालनमा रहँदा प्राविधिक समस्याहरू, विशेषगरी सर्वर डाउन हुने अवस्थाले अध्यागमन प्रणाली अवरुद्ध हुने र यात्रुहरूलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता थियो। यस्ता समस्याले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सेवा गुणस्तर र प्रतिष्ठामा समेत असर पर्दै आएको थियो।
विगतमा टीआईएको अध्यागमन प्रणालीमा एकमात्र डेटा सेन्टरमा निर्भर रहँदा विद्युत् आपूर्तिमा अवरोध, हार्डवेयर फेलियर, साइबर जोखिम वा अन्य प्राविधिक समस्याले सर्वर डाउन हुने अवस्था सिर्जना हुन्थ्यो। यस्तो अवस्थामा अध्यागमन प्रणाली पूर्ण रूपमा बन्द हुने, पासपोर्ट जाँच र भिसा प्रक्रिया रोकिने र यात्रुहरू घण्टौँसम्म अलपत्र पर्ने समस्या बारम्बार देखिन्थ्यो।
यस्ता घटनाले अन्तर्राष्ट्रिय यात्रुहरूलाई असुविधा मात्र नभई नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव पारेको थियो। सर्वर डाउनका कारण अध्यागमन प्रक्रिया ढिलो हुँदा यात्रुहरूले उडान छुटाउने वा लामो समय कुर्नुपर्ने अवस्था सिर्जना भएको थियो।
अध्यागमन विभागको सूचना प्रविधि शाखाका निर्देशक अनुप न्यौपानेका अनुसार नेपाली पोर्ट सञ्चालनमा आएपछि अध्यागमन प्रणालीमा सर्वरसम्बन्धी समस्या खासै देखिएको छैन। यद्यपि, सम्भावित जोखिमलाई मध्यनजर गर्दै ब्याकअपका लागि दोस्रो डेटा सेन्टर स्थापना गरिएको उनको भनाई छ ।

“पहिला एक मात्र डेटा सेन्टर हुँदा कुनै प्राविधिक समस्या आउँदा समग्र अध्यागमन प्रणालीमा पहुँच नहुने र सेवा प्रवाहमा बाधा पुग्ने अवस्था थियो। अब टीआईएमा थपिएको वैकल्पिक डेटा सेन्टरले यस्ता समस्याहरू समाधान गर्नेछ,” न्यौपानेले भने।
उनले थपे, “हामीले प्रणालीलाई नजिकबाट अनुगमन गरिरहेका छौँ। अहिलेसम्म कुनै ठूलो समस्या देखिएको छैन। अब डेटा सेन्टरमा हुने साना–तिना प्राविधिक समस्याले अध्यागमन सेवा अवरुद्ध हुने अवस्था रहँदैन।”
यसै सन्दर्भमा, विभागका प्रवक्ता न्यौपानेले नेपालको अध्यागमन प्रणालीबाट भारतीय वान्टेड व्यक्तिहरू भागेको भन्ने हल्ला निराधार भएको दाबी गरे । उनले प्राविधिक रूपमा विभागको प्रणालीमा कुनै त्रुटि नरहेको समेत दाबी गरे।
सर्वर डाउनका कारण अध्यागमन प्रणालीमा अभिलेख जाँच प्रभावकारी नहुँदा वान्टेड व्यक्तिहरूले कमजोर प्रणालीको फाइदा उठाएर भाग्न सक्ने आशंका व्यक्त गरिएको थियो। विशेषगरी नेपाल र भारतबीचको खुला सीमा र सजिलो पहुँचका कारण भारतीय अपराधीहरूले नेपाललाई सुरक्षित गन्तव्यको रूपमा प्रयोग गर्दै आएका छन् ।
“टीआईएमा स्थापना गरिएको नयाँ डेटा सेन्टरले प्रणालीको विश्वसनीयता बढाएको छ। उदाहरणका लागि, यदि साबिकको डेटा सेन्टरमा विद्युत आपूर्ति वा अन्य कुनै कारणले समस्या आयो भने, सम्पूर्ण प्रणाली बन्द हुने अवस्था अब रहँदैन। टीआईएको वैकल्पिक डेटा सेन्टरले निरन्तर सेवा प्रदान गर्नेछ,” घिमिरेले प्रष्ट पारे।
उनका अनुसार नयाँ डेटा सेन्टरले प्रणालीको निरन्तरता सुनिश्चित गरेको छ। “पहिला सर्वरमा समस्या आउँदा घण्टौँसम्म प्रणाली अवरुद्ध हुने अवस्था थियो। अब वैकल्पिक डेटा सेन्टरको व्यवस्थाले यस्ता समस्याहरू न्यूनीकरण भएका छन्। हामीले टीआईएबाटै सेवा सञ्चालन गर्न सक्ने भएकाले यात्रुहरूलाई सहज र निर्बाध सेवा प्रदान गर्न सकिन्छ,” उनले भने।

यो कदमले नेपालको अध्यागमन सेवालाई थप चुस्त, दुरुस्त र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ। विभागले आगामी दिनमा पनि प्राविधिक सुधार र सेवा विस्तारलाई प्राथमिकता दिने जनाएको छ।
नेपालको यो विमानस्थलको सुरक्षा व्यवस्थाबारे पनि बारम्बार प्रश्न उठ्ने गरेको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ काउन्टर टेरोरिज्मले रिपोर्ट प्रकाशित गर्दै काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलका कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरूले ट्रान्जिट वा स्टेजिङ प्वाइन्टका रुपमा प्रयोग गरेको र गर्नसक्ने रिपोर्टमा उल्लेख गरेको थियो । नेपालमा विमानस्थल सुरक्षा नियन्त्रण कमजोर र अपर्याप्त भएकोमा रिपोर्टमा जोड दिइएको थियो ।
रिपोर्टमा नेपालको विमानस्थलमा सुरक्षा नियन्त्रण कमजोर र अपर्याप्त रहेकोमा जोड दिइएको थियो । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई प्रिस्क्रिन नगर्ने र अवतरण डाटा कुनै पनि डाटावेशमा प्रविष्ट नगरिने उक्त रिपोर्टमा उल्लेख थियो । यात्रुहरूको शारीरिक सुरक्षा जाँच प्राथमिक भएको उल्लेख गर्दै कुनै ट्राभल डकुमेन्ट सेक्युरिटी भएएको र कागजातहरू जाँच गर्न एयरपोर्टमा अल्ट्राभायोलेट लाइटहरुको अभाव रहेको रिपोर्टमा उल्लेख थियो ।
नेपाल प्रहरीको विशेष ब्यूरोले विमानस्थलमा र यसको इन्टरपोल कार्यालमा खटाएका अधिकारीहरुको संख्या पनि प्रयाप्त छैन । इन्टरपोल कार्यालयबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कुनै कर्मचारी नराखिएको अमेरिकी रिपोर्टमा उल्लेख थियो । यद्यपी इन्टरपोल कार्याल र विमानस्थलमा भएका कर्मचारीबीच संचार भने हुने गरेको र इन्टरपोलका सुचनाहरु डाटावेशमा राखिएपनि यात्रुहरूको यस डाटाबेस मार्फत नियमित रूपमा जाँच नगरिने रिपोर्टमा उल्लेख थियो ।
सुरक्षा र अध्यागमन अधिकारीहरूले सामान्यतया अमेरिकाले जानकारीको लागि गरेको अनुरोधहरूको जवाफ दिने गरेपनि उनीहरुसँग प्रदान गर्न थोरै जानकारी मात्र हुने रिपोर्टमा उल्लेख गरिएको थियो ।








