काठमाडौंस्थित अमेरिकी दूतावासले भन्यो – ‘भिसाको सही तरिकाले प्रयोग गर्नु, नत्र रद्द हुन्छ’
प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार
काठमाडौंस्थित अमेरिकी राजदूतावासले भिसालाई सही तरिकाले प्रयोग गर्न आग्रह गरेको छ । बुधबार सामाजिक सञ्जालमार्फत राजदूतावासले भिसालाई सही तरिकाले प्रयोग गर्नु जिम्मेवारी भएको बताएको हो ।
दूतावासले अमेरिकी भिसा पाइसकेपछि समयमै अमेरिकाबाट नफर्किए भिसा रद्द हुने चेतावनी दिएको छ । यस्तै, भिसाका सर्तहरूको उल्लङ्घन गरे भिसा रद्द हुनुका साथै अमेरिकाबाट फर्काइने चेतावनी दिएको हो ।
दूतावासले भिसाका सर्तहरूको पालना नगरेको खण्डमा भविष्यमा भिसा प्राप्त गर्न गाह्रो पर्ने बताएको छ ।
दूतावासले भनेको छ, “तपाईँको भिसालाई सही तरिकाले प्रयोग गर्नु तपाईँको जिम्मेवारी हो। यदि तपाईँ समयमै अमेरिकाबाट फर्किनु भएन वा भिसाका सर्तहरूको उल्लङ्घन गर्नुभयो भने, तपाईँको भिसा रद्द हुन सक्छ । अमेरिकाबाट फर्काइने सम्भावना हुन सक्छ, र भविष्यमा भिसा प्राप्त गर्न गाह्रो पर्न सक्छ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पछिल्लो समय आप्रवासन नीतिलाई कडाइ साथ पालना गरेको छ । ट्रम्प प्रशासनले आप्रवासन नीतिलाई कडा बनाएपछि राजदूतावासले पछिल्लो समय सचेतना र चेतावनी जारी गर्ने गरेको छ ।
दूतावासले यसअघि भिसा आवेदनमा नक्कली कागजात फेला भेटिए सम्भावित खतरा हुनसक्ने जानकारी प्राप्त गर्ने र तुरुन्तै सम्बन्धित सबै अमेरिकी सरकारी निकायहरूलाई जानकारी गराउने गरिने बताएको थियो । राष्ट्रिय सुरक्षाको रक्षा गर्न र अपराधीहरू तथा गैर कानुनी व्यक्तिहरूलाई बाहिर राख्न समन्वय गरिरहेको समेत बताएको थियो ।
“जब हाम्रो अधिकारीहरूले भिसा आवेदनमा नक्कली कागजात फेला पार्छन् वा कुनै व्यक्तिबाट सम्भावित खतरा हुनसक्ने जानकारी प्राप्त गर्छन्, हामी तुरुन्तै सम्बन्धित सबै अमेरिकी सरकारी निकायहरूलाई जानकारी दिन्छौँ । हामी राष्ट्रिय सुरक्षाको रक्षा गर्न र अपराधीहरू तथा गैर कानुनी व्यक्तिहरूलाई बाहिर राख्न समन्वय गरिरहेका छौँ ।”, दूतावासले भनेको थियो ।
दूतावासले भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती रहेको बताउँदै आएको छ । राजदूतावासले भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती रहेको बताउँदै यस्तो गरेमा भिसाका लागि अयोग्य ठहरिन चेतावनी समेत दिएको छ । दूतावासले अमेरिकी विदेश मन्त्रालयले भिसा प्रणाली सुरक्षित राख्न र देशको सुरक्षाको रक्षा गर्न कडा जाँच र सुरक्षा प्रक्रिया अपनाएको समेत स्मरण गराउँदै आएको छ ।






