सेप्टेम्बर ११ : अमेरिकी इतिहासको कहालीलाग्दो घटना


प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार

 

– बीके नेवा

यस पटक पनि अमेरिकीहरु सेप्टेम्बर ११ को कहालीलाग्दो घटनाको स्मरण गर्दै छन् । विश्वमै सबैभन्दा सुरक्षित मानिने अमेरिकाको प्रमुख ब्यापारिक शहर न्युयोर्क र रक्षामन्त्रालय रहेको पेन्टागनमाथि गरिएको अकल्पनीय आतंकवादी आक्रमण भएको १५ वर्ष भएको सन्दर्भमा यस पटक पनि प्रार्थनासभालगायत विविध कार्यक्रम गरिदै छ । करिब तीन हजार मानिसको ज्यान लिएको र छ हजारभन्दा बढीलाई घाइते बनाएको साथै अर्बौं डलरको भौतिक क्षति पुर्याएको यो आतंकवादी आक्रमण अमेरिकाकै इतिहासमा कहिल्यै नभएको र कल्पनासम्म पनि नगरिएको घटना थियो ।

सेप्टेम्बर ११ को घटनालगत्तै घटनापछि अमेरिकी सरकारले शुरु गरिएको आतंकवादविरुद्धको विश्वव्यापी अभियानले नयाँ मोड लियो । सो अभियान अहिले पनि जारी छ । यो अभियानले आतंकवादलाई समाप्त पार्न आतंंवादलाई संरक्षण दिने तानाशाही अतिवादी सत्ता चलाउने शासकविरद्ध कारबाही गर्नुका साथै अन्तर्राष्ट्रिय आतंवादी संगठन अल कायदाका प्रमुख ओसमा विन लादेनलाई मार्न सफलता मिल्यो । तर पनि आतंकवाद र आतंकवादी गतिविधि भने विभिन्नरुपमा प्रकट भएका छन् यसलाई समाप्त गर्न भने सकिएको छ्रैन ।

अहिले अलकायदाको जस्तै आईएस स्टेटको आतंकले तर्साएको छ । अलकायदाले गराएको सन् २००१ को सेप्टेम्बर ११ अमेरिकाको इतिहासमा सबैभन्दा नराम्रो दिन हो । यस दिनलाई कालो दिनका रुपमा अमेरिकीहरुले सधै स्मरण गर्ने र आतंकवादविरुद्ध लड्ने प्रण गर्ने गर्दछन् । सो आक्रमणअघिसम्म अमेरिकीहरु आफ्नो मुलुकमाथि कुनै पनि बाह्य आक्रमण हुन सक्दैन भन्ने कुरामा गर्व गर्दथे । उनीहरु बढी विश्वस्त थिए मुलुकको सुरक्षा संयन्त्र र व्यवस्था प्रति । तर सेप्टेबर ११ को घटनापछि उनीहरु आतंकवादीहरुप्रति बढी चिन्तित भएका छन् । उनीहरुको एउटैमात्र चाहना के छ भने अब सेप्टेम्बर ११ को जस्तो घटना आफ्नो मुलुकमा कहिल्य पनि दोहोरिन नपाओस् , त्यसका लागि सरकारले मुलुकको सुरक्षा संयन्त्र र सुरक्षा प्रणालीलाई सबैभन्दा व्यवस्थित र आधुनिक बनाओस् । आम अमेरिकीहरुको यो चाहनालाई सर्वोपरि राख्दै अमेरिकी सरकारले शान्ति, सुरक्षा ,स्वामिमान र राष्ट्रिय हितलाई नै विशेष आफ्नो प्रमुख एजेण्डा बनाएको छ ।

विश्वकै शान्ति र समृद्धि , विज्ञान र प्रविधिको अधिकतम विकासमाथि अलकायदाले गराएको सेप्टेम्बर ११ को घटना अमेरिकाविरुद्धमात्र लक्षित थिएन, विश्वकै शान्ति र समृद्धि , विज्ञान र प्रविधिको अधिकतम विकासमाथिको आक्रमण थियो । त्यही भएर नै सो आक्रमणविरुद्ध अमेरिकाले शुरु गरेको आतंकवादविरुद्धको विश्वव्यापी अभियानलाई विश्वका अधिकांश मुलुकहरुले सहयोग र समर्थन गरेका हुन् ।

सन् २००१ सेप्टेम्बर ११ तारिखका दिन बिहान अमेरिकाको आन्तरिक उडानमा रहेका चारबाट यात्रुविमान १९ जना अपहरणकारीले अपहरण गरी अमेरिकाको प्रमुख व्यापारिक राजधानी रहेको प्रमुख सहर न्युयोर्कस्थित विश्वव्यापार केन्द्र रहेका जुम्ल्याहा भवन, राजधानी वासिंंटन डीसीस्थित रक्षा मन्त्रालय रहेको पेन्टागनमाथि विमान ठोक्याएर भीषण आत्मघाती आक्रमण भयो । विश्वकै समृद्धिको प्रतीक मानिने विश्वव्यापार केन्द्रमा अमेरिकन एअरलाइन्स फ्लाइट ११ र युनाइटेड एअरलाइन्सको फ्लाइट १७५ प्रयोग गरी आक्रमण गरियो । सो आक्रमणबाट दुईघण्टाभित्रमै ११० तल्ले विश्व व्यापार केन्द्र ध्वस्त भयो । सो केन्द्रमा दुई हजार ६०६ जनाको ज्यान गयो भने पाँच हजारभन्दा बढी घाइते भए ।

अपहरण गरिएको तेस्रो विमान अमेरिकन एअरलाइन्स फ्लाइट ७७ वासिंटनस्थित रक्षामन्त्रालय रहेको पेन्टागनमा लगेर ठोक्याइयो । सो आक्रमणबाट पेन्टागनेको एकभाग ध्वस्त भयो भने १२५ जनाको ज्यान गयो । अपहरण गरिएको चौथो विमान अमेरिकन एअरलाइन्स फ्लाइट ९३ वासिंटनस्थित संसद् भवन अर्थात् क्यापिटल हिलमा ठोक्याउन लगिएकोमा यात्रुहरुले नै अपहरणकारीलाई नियन्त्रणमा लिई त्यता लैजान रोकेपछि पेन्सिल्भानियामा पुगेर दुर्घटनाग्रस्त भयो । यात्रुहरुको अवरोधका कारण संसद् भवन ध्वस्त पार्ने योजना भने विफल भयो ।
अल कायदका प्रमुख विन लादेनको योजना अनुसार सेप्टेम्वर ११ भएको आतंकवादी आक्रमणमा चारवटा विमानमा रहेका २४६ यात्रु , १९ जना अपहरणकारी, विश्व व्यापार केन्द्रमा दुई हजार ६०६ र पेन्टागनमा १२५ गरी कुल दुई हजार ९९६ जनाको ज्यान गएको र छ हजार जना घाइते भएको औपचारिक पुष्टि गरिएको छ । तर सो घटनामा प्राप्त अन्य प्रमाणका आधारमा अन्य हजारौँ मानिस बेपत्ता भएको आशंका गरिएको छ । विश्व व्यापार केन्द्रको भग्नावशेषबाट पहिचान गर्न नसकिएका करिब १० हजार हाड र मांसपिण्ड संकलन गरिएको छ । सो आक्रमणमा अमेरिकालगायत विश्वका ९२ मुलुकका नागरिक मारिएका थिए ।

आतंकवादी आक्रमणबाट ध्वस्त भएको विश्व व्यापार केन्द्रलाई ग्राउण्ड जिरो नामकरण गरी सोही स्थानमा अमेरिकी महादेशकै सवैभन्दा अग्लो टावर वान वल्र्ड टेड्र सेन्टर निर्माण गरिएको छ । सो सेन्टर एक हजार ७७६ फिट अर्थात् ५४१ मिटर अग्लो छ ।

विश्वको शान्ति र स्थायित्वका लागि अहिले सबैभन्दा ठूलो चुनौती बनेको आतंकवादलाई समाप्त पार्न नसकिएसम्म विश्वमा केही पनि सुरक्षित रहन नसक्ने निष्कर्ष निकाल्दै अमेरिकाले शुरु गरेको यो अभियानप्रति प्रत्यक्ष वा परोक्षरुपमा अधिकांश मुलुकहरुले सहयोग र समर्थन गर्दै आएका छन् । अमेरिकाले सो अभियानअन्तर्गत आतंंंकवादीलाई संरक्षण गरेको भन्दै अफगानिस्तान र इराकमाथि सैन्य कारबाही गरी दुवै मुुलुकका अतिवादी सत्ता फ्याँक्न सफल भएको छ । अफगानिस्तानमा अतिवादी सत्ता चलाएका इस्लामिक उग्रवादीहरु तालिवानलाई सत्ताच्युत गरी लोकतान्त्रिक शासन प्रणाली स्थापना भएको छ । अफगानिस्तानमा लोकतन्त्र आए पनि त्यसलाई संस्थागत गर्न विद्रोही तालिवान र अल कायदा नै प्रमुख चुनौती बनेका छन् । अमेरिकाको नेतृत्वमा त्यहाँ तैनाथ नेटो सेनाले शान्ति स्थापना गर्न जिम्मा लियो । त्यहाँको सुरक्षा जिम्मा त्यहीको सेनालाई जिम्मा लगाएर नेटो सेना सन् २०१४ को अन्त्यमा अफगानिस्तानबाट फिर्ता भयो ।

त्यसैगरी, आतंवादविरद्धकै अभियानका क्रममा जैविक, रासायनिक र आणविक हतियार जोहो गरी लोकतान्त्रिक विश्वलाई धम्क्याउने काम गरेको र आतंवादीहरुलाई प्रश्रय दिएको भनी तत्कालीन इराकी शासक सद्दाम हुसेनविरुद्ध अमेरिकाले गरेको अर्को सैन्य कारबाहीले सद्दामको सत्तामात्र ढलेन विगतमा गरेका मानवताविरोधी अपराधमा उनलाई फाँसीमा झुण्ड्याउने काम भयो । सद्दामको निरंकुशसत्ता ढलेपछि त्यहाँ पनि लोकतान्त्रिक शासन व्यवस्था शुरु भयो । तर सद्दाम समर्थकहरु र कट्टरपन्थी अतिवादीहरुले त्यहाँ आतंक मच्चाउन अहिले पनि छाडेका छैनन् ।
सुरक्षा चुनौती आफ्नो ठाउँमा भए पनि अफगानिस्तान र इराकमा अतिवादी सत्ता ढाली लोकतन्त्र स्थापना गर्न मिलेको सफलता आतंवादविरुद्धको अभियानमा एक महत्वपूर्ण उपलब्धि हो । त्यो भन्दा पनि ठूलो उपलब्धि भनेको एकदशक लामो र अत्यधिक खर्चिलो प्रयासबाट अल कायदाका प्रमुख विन लादेनलाई पत्ता लगाई मार्नुलाई लिइएको छ । अर्बै डलर खर्च गरेर लामो समय लगाएर भए आफ्नो सबैभन्दा ठूलो शत्रु विन लादेनलाई मार्न सफल भएकोमा अमेरिकाले यसलाई आतंकवादीवरुद्धको अभियानको सबैभन्दा ठूलो सफल घटनाका रुपमा लिएको छ । अमेरिकी सेनाको विशेष कमाण्डोले २०११ को मे १ मा पाकिस्तानको अबोट्टावादमा लुकी बसेका विन लादेनलाई नाटकीय ढंगले आक्रमण गरी मार्न सफल भएको थियो । राष्ट्रपति बाराक ओबामाको निर्देशन अनुसार लादेनलाई मार्न सफल भएपछि अलकायदाको ढाड भाँचिएको छ । तैपनि अलकायदाको आतंक पूर्णरुपले रोकिएको छैन ।
अत ः सेप्टेम्बर ११ को घटना विश्वकै सुरक्षाका लागि चुनौती भएकाले सबै मिलेर आतंकवाद समाप्त पार्नु आजको आवश्यकता हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com