रोहिङ्गाको जोखिमपूर्ण यात्रा जारी, सोमबार पनि डुंगा दुर्घटनामा १० बालबालिकासहित १२ को शव भेटियो


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ ।

यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् ।

उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्रममा ज्यान पनि जाने गरेको छ । सो क्रममा सोमबार मात्र पनि कम्तीमा १२ जना रोहिङ्गाको ज्यान गएको छ । सोही नदी तरेर पार गर्ने क्रममा नै उनीहरु मारिएका हुनसक्ने अनुमान गरिएको छ ।

आइतबार राति उक्त नदीमा डुंगा डुबेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै नाफ नदी छेउमा शवहरु तैरिएर रहेको अवस्थामा भेटेको जनाएको छ ।

बंगलादेशको प्रहरीले यहाँको कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित एक महिला र अर्का एक पुरुष गरी १२ जनाको शव भेटिएको जनाएको छ ।

सो नदी किनारमा गएको महिनादिन भन्दा लामो समयदेखि करिब पाँच लाख म्यान्माली शरणार्थीको शिवीर रहेको छ । उनीहरु अत्यन्तै अव्यवस्थित रुपमा यहाँ बस्ने गरेका छन् ।

सोही शिवीरका शरणार्थी डुंगा चढेर अन्यत्र जाने क्रममा दुर्घटनामा परेका हुन् वा त्यहाँ आइरहेका बेला उनीहरु परेका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

गएको अगष्ट २५ देखि रोहिङ्गाको बाहुल्यता रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेर त्यहाँ पुगेका हुन् । त्यस समयदेखि आजसम्ममा ती समुदायका १०० जनाभन्दा बढीको ज्यान गएको अधिकारीले जनाएका छन् ।

यसरी भागेर नदी तर्ने क्रममा कतिपय सो नदीले बगाएकोले शव भेटिएको छैन । उनीहरुले आआफ्नो घर बस्तीमा आगो लगाएर सेनाले लखेटेको बताएका छन् । तर म्यान्माली सरकार यो स्वीकार गर्दैन ।

उनीहरु आन्तरिक रुपमा विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधोपचारसमेत उपलब्ध नरहेको पाइएको छ । उनीहरुको अवस्था देशभित्र तथा बंगलादेशमा समेत दयनीय रहेको समाचार आइरहेका छन् ।

उनीहरुलाई बंगलादेशमा खान र बस्नका लागि आधारभूत आवश्यकताको अत्यन्तै कमी भएको भन्दै दाता समूह एवम् विश्व समुदायलाई बंगलादेशले आग्रह गरिरहेको छ ।

शरणार्थी शिविरमा हैजाको जोखिम कायमै

यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार विश्व स्वास्थ्य संगठनले बंगलादेशमा शरण लिई बसेका म्यानमारका रोहिङ्गा सुमदायका नागरिक रहेका शिवीरहरुमा हैजाको उच्च जोखिम अझै कायमै रहेको बताएको छ ।

म्यानमारबाट भागेर बंगलादेशमा आएका लाखौँ शरणार्थी बसेको सो शिवीरमा हैजाको उच्च जोखिम रहेको अनुमान सो संगठनले यसअघि नै गरेको थियो ।

तर अहिले पनि ती शिवीरमा स्वस्थ खानेपानीका साथै सरसफाइमा ध्यान नदिइएकोले हैजाको प्रकोप फैलिनसक्ने खतरा अहिले पनि उच्च नै रहेको बताइएश्को छ ।

म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी आसपासमा शिवीर बनाएर बसेका लाखौँ शरणार्थीले बडो कष्टपूर्ण जीवनयापन गरिरहेका समाचारहरु पनि व्यापक मात्रामा आइ नै रहेका छन् ।

उनीहरुलाई ७० भन्दा बढी शिवीर बनाएर राखिएको छ । तर आधारभूत आवश्यकताजस्तै खाने पानी, पौष्टिक आहार या सफा बस्ने स्थानका साथै औषधोपचारको पनि उनीहरुलाई कमी छ ।

यसै कारणले उक्त शिवीरमा हैजाको उच्च जोखिम रहेको चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको थियो । उक्त चेतावनीको करिब १५ दिनपछि पनि परिस्थितिमा खासै सुधार नआएकोले हैजाको उच्च जोखिम कायमै रहेको सो संगठनको भनाई छ ।

अहिले नै उनीहरुमा सफा खानेपानीको अभावका कारण पानीजन्य रोगको प्रकोप देखिएको छ । यसमा निगरानी राख्नुका साथै आवश्यक उपचारको प्रबन्ध तथा अन्य व्यवस्था नगर्ने हो भने उनीहरुमा हैजाकै प्रकोप शुरु हुनसक्ने खतरा छ– उक्त संगठनले भनेको छ ।

ती शिवीरलाई लक्ष्यगरी घुम्ती स्वास्थ्य शिविर राखिएका छन् भने बंगलादेश सरकारले पनि स्वास्थ्य सुविधाको सामान्य प्रबन्ध गरेको छ । तर ती प्रयासहरु पर्याप्त नभएको बताइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com