अमेरिकी बीमा कम्पनी एलियान्जमा साइबर हमला, १४ लाख ग्राहकहरुको व्यक्तिगत जानकारी ह्याक भएको अनुमान
प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार
अमेरिकामा रहेको एक बीमा कम्पनीसँग जोडिएका १४ लाख ग्राहकहरुको व्यक्तिगत जानकारी ह्याक भएको छ ।
बीमा कम्पनी एलियान्ज लाइफका अधिकांश १४ लाख ग्राहकहरूको व्यक्तिगत जानकारी ह्याक भएको पुष्टि कम्पनीको अभिभावक संस्थाले गरेको छ।
ू२०२५ जुलाई १६ मा साइबर आक्रमणकारीले एलियान्ज लाइफले प्रयोग गर्ने तेस्रो पक्षद्वारा सञ्चालित क्लाउडमा आधारित सीआरएम प्रणालीमा पहुँच प्राप्त गर्दै व्यक्तिगत जानकारी ह्याक गरेको एलियान्जले निकालेको वक्तव्यमा उल्लेख गरेको छ।
जर्मन मूल कम्पनीले ह्याकरहरूले एलियान्जका अधिकांश ग्राहकहरू, वित्तीय अधिकारीहरु, र केही कर्मचारीहरूको व्यक्तिगत जानकारी सामाजिक इन्जिनियरिङ प्रविधिको प्रयोग गरेर हात पारेका बताएको छ ।
कम्पनीका अनुसार यो डेटा चोरी एलियान्जमा मात्र सीमित थियो।
बीमा कम्पनीले यो साइबर हमला सम्बन्धी जानकारी अमेरिकी राज्य मैनको अटर्नी जनरललाई दिएको छ। तर, कति मानिसहरू प्रभावित भएका हुन् भन्ने खुलाइएको भने छैन।
कम्पनीले डाटा चुहावटपछि ‘तत्काल कदमहरू’ चालेको र एफबीआईलाई जानकारी गराएको बताएको छ ।
एलियान्जको नेटवर्क वा अन्य कम्पनी प्रणालीहरूको नीति प्रशासन प्रणालीमा ह्याकरले पहुँच पुराएको कुनै प्रमाण नभेटिएको कम्पनीको वक्तव्यमा भनिएको छ ।
संसारभरि १२ करोड ५० लाखभन्दा बढी ग्राहक भएका एलियान्ज कम्पनीले डेटा चुहावटबाट प्रभावित व्यक्तिहरूलाई सम्पर्क गरेर सहयोग गरिरहेको जानकारी दिएको छ ।
सामाजिक इन्जिनियरिङ साइबर आक्रमण भन्नाले ह्याकरहरूले प्रयोगकर्तालाई विश्वासिलो व्यक्ति वा संस्थाको रूपमा प्रस्तुत गरेर संवेदनशील जानकारी खुलाउन बाध्य बनाउने प्रविधिलाई जनाउँछ ।






