बंगलादेशमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३१, राष्ट्रिय शोक आक्रोशमा परिणत
प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार
बंगलादेशको राजधानी ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजमा सोमबार अपराह्न एक लडाकु विमान खस्दा भएको भीषण दुर्घटनामा मृत्यु हुनेको संख्या मंगलबारसम्म ३१ पुगेको छ। मृतकमध्ये अधिकांश १२ वर्षमुनिका बालबालिका छन्। घटनापछि देशभर शोकको लहर छाएको छ भने विद्यार्थीहरू आक्रोशित भई सरकारविरुद्ध सडकमा उत्रिएका छन्।
सोमबार दिउँसो एक चिनियाँ निर्मित एफ-७ बीजीआई लडाकु विमानले प्रशिक्षण उडानको क्रममा प्राविधिक गडबडी भइ विद्यालयको भवनमा ठोक्किँदा ठूलो विस्फोट र आगलागी भएको थियो। विमान बंगलादेश वायु सेनाको स्वामित्वमा रहेको र नजिकैको एयरबेसबाट नियमित प्रशिक्षणका लागि उडाइएको थियो। दुर्घटनामा पाइलटसहित ३१ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन्।
विद्यालयबाट घर फर्किनै लागेको बेला धेरैजसो विद्यार्थीहरू विद्यालय भवनमै फसेका थिए। विद्यालयको तेस्रो तल्लामा आगो फैलँदा विद्यार्थीहरू भाग्न नपाएर जलेका थिए। मृतकमध्ये नुसरत जहाँ अनिका नाम गरेकी ९ वर्षीया बालिका पनि थिइन्। उनका बाबु अबुल हुसैन भन्छन्, “म उनलाई जस्तै अरु दिनजस्तै बिहान स्कुल पुर्याएको थिएँ, थाहा थिएन त्यो मेरो अन्तिम भेट हुनेछ।”
दुर्घटनापछि बंगलादेशभरका विद्यालयहरूमा विद्यार्थीहरू आक्रोशित छन्। उनीहरूले ‘हाम्रा दाजुभाइ किन मरे ?’ भन्दै शिक्षा सल्लाहकारको राजीनामा माग गरेका छन् । प्रहरीले लाठीचार्ज गरी प्रदर्शनकारीहरूलाई तितरबितर पारेको थियो ।
दुर्घटनास्थलमा निरीक्षणका लागि गएका दुई सरकारी अधिकारीहरूलाई विद्यार्थीहरूले घेरेर प्रश्न गरेका थिए – “हामी जवाफ चाहन्छौं, न्याय चाहन्छौं।”
शहरका विभिन्न अस्पतालहरूमा १६५ जना भर्ना गरिएका छन्, जसमध्ये स्वास्थ्य मन्त्रालयका अनुसार ७० जनाको अवस्था अझै गम्भीर छ। उद्धारकर्मीहरूले मंगलबार पनि जलेका भवनहरूमा भग्नावशेष हटाउने कार्य जारी राखेका छन्। केही अभिभावकहरू आफ्ना सन्तानको शव खोज्दै अस्पताल र दुर्घटनास्थलको चक्कर काटिरहेका छन्।
सरकारले मंगलबार राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सबै सरकारी कार्यालयहरूमा झण्डा झुकाएको छ। देशभरका सबै धार्मिक स्थलहरूमा मृतकहरूको आत्माको शान्तिका लागि विशेष प्रार्थना गरियो।
बंगलादेशको अन्तरिम सरकारका प्रधानमन्त्री तथा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको कार्यालयले विज्ञप्ति जारी गर्दै पीडितहरूको नाम सार्वजनिक गर्ने प्रक्रिया तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिएको छ। साथै, वायु सेनालाई जनघनत्व भएको क्षेत्रमा अब प्रशिक्षण विमान नउडाउन निर्देशन दिने तयारी भइरहेको जनाइएको छ।
विद्यार्थीहरूले पुराना र असुरक्षित लडाकु विमानहरू तत्काल बन्द गर्न, पीडित परिवारहरूलाई क्षतिपूर्ति दिन, र वायुसेनाको प्रशिक्षण नीतिमा आमूल परिवर्तन गर्न सरकारसँग माग गरेका छन्।
एफ(७ बीजीआई चीनको चेङ्दु जे-७ / एफ- ७ विमानको अन्तिम संस्करण हो, जुन सोभियत युगको मिग–२१ मा आधारित छ। बंगलादेशले सन् २०११ मा १६ वटा विमान खरिद गरेको थियो र २०१३ मा डेलिभरी पूरा भएको थियो।
यो दुर्घटना भारतमा गत महिनामात्रै भएको दशककै सबैभन्दा ठूलो हवाई दुर्घटनापछि भएको हो, जहाँ एयर इन्डियाको विमान अहमदाबादस्थित मेडिकल कलेजको होस्टलमा खस्दा २४१ यात्रुसहित अन्य १९ स्थानीय बासिन्दाको मृत्यु भएको थियो।
बंगलादेशमा केही महिना यता राजनीतिक अस्थिरता व्याप्त छ। गत वर्षको अगस्तमा प्रधानमन्त्री शेख हसिनालाई घातक विद्यार्थी आन्दोलनपछि देश छाड्न बाध्य पारिएको थियो। अन्तरिम सरकारले २०२६ मा चुनाव गराउने घोषणा गरे तापनि, राजनीतिक दलहरूले चुनाव मिति अगाडि सार्न दबाब दिइरहेका छन्।






