क्रिप्टोकरेन्सीसम्बन्धी प्रमुख कानून अमेरिकी संसदबाट पारित
प्रकाशित मिति : श्रावण १, २०८२ बिहीबार
अमेरिकामा पहिलोपटक राष्ट्रिय स्तरको क्रिप्टोकरेन्सीसम्बन्धी प्रमुख कानून पारित भएको छ । अमेरिकाका सांसदहरूले देशको इतिहासमा पहिलोपटक ठूलो राष्ट्रिय क्रिप्टोकरेन्सी कानून पारित गरेका हुन ।
यो कदम वर्षौंदेखि नियमनको माग गर्दै आएको क्रिप्टोकरेन्सी उद्योगका लागि ठूलो उपलब्धि मानिएको छ । गत वर्षको चुनावमा डोनाल्ड ट्रम्पलगायतका उम्मेदवारहरूलाई समर्थन गर्दै लाखौं डलर यसले खर्च गरेको थियो।
‘जिनियस एक्ट’ नाम दिइएको यो विधेयकले स्थिर मुद्रासँग सम्बन्धित नियामक ढाँचा तयार पार्छ । अमेरिकी डलरजस्ता भरपर्दो सम्पत्तिद्वारा समर्थित क्रिप्टोकरेन्सीहरू यसमा पर्छन्।
प्रतिनिधिसभाले बिहीबार विधेयक पारित गरेपछि ट्रम्पले शुक्रबार यसलाई कानूनमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । यसअघि यो विधेयक सेनेटबाट पनि पारित भइसकेको थियो।
यो विधेयक तीनवटा क्रिप्टोसम्बन्धी कानूनी प्रस्तावहरूमध्ये एक हो । जुन ट्रम्पले समर्थन गरेका छन् । ट्रम्पले पहिले क्रिप्टोलाई ‘ठगी’ भनेका थिए ।
तर उद्योगबाट समर्थन पाएपछि र व्यवसायिक रूपमा संलग्न भएपछि उनको धारणा परिवर्तन भएको देखिन्छ । ट्रम्पको विश्व लिबर्टी फाइनान्सियल जस्ता कम्पनीहरूसँग सम्बन्ध रहेको बताइएको छ।
स्थिर मुद्राहरूलाई एक.अन.एक अमेरिकी डलर वा अन्य न्यून जोखिमयुक्त सम्पत्तिबाट समर्थित हुनुपर्नेछ । व्यापारिक प्रयोजनका लागि प्रयोग गरिने यी मुद्रा कम उतारचढाव हुने मानिन्छ र विभिन्न क्रिप्टो टोकनहरूबीच रकम स्थानान्तरण गर्न प्रयोग गरिने यस विधेयकका मुख्य प्रावधानहरू रहेका छन ।
समर्थकहरूको भनाइ अनुसार यो विधेयकले क्रिप्टोकरेन्सी उद्योगलाई स्पष्ट नियमहरू दिनेछ छ । डिजिटल मुद्रा प्रयोगलाई मुख्यधारमा ल्याउने आशामा उद्योगले लामो समयदेखि यसका लागि दबाब दिँदै आएको थियो।
तर आलोचकहरूले यो कानूनले क्रिप्टो उद्योगमा नयाँ जोखिमहरू थप्नेछ बताएका छन । विशेष गरी स्थिर मुद्राहरूलाई वैधानिकता दिँदा उपभोक्ताहरूको सुरक्षाको पर्याप्त ग्यारेन्टी नहुन सक्ने खतरा औल्याएका छन ।
यो विधेयकले प्रविधि कम्पनीहरूलाई बैंकजस्तै काम गर्न दिन्छ, तर उनीहरूलाई बैंकजस्तै निगरानीमा नल्याउने, र यदि स्थिर मुद्रा कम्पनी असफल भयो भने ग्राहकहरू अल्झिने गरी जटिल दिवालिया प्रक्रिया भोग्नुपर्ने उनीको दाबी रहेको छ।
यसबाहेक आलोचकहरूले ट्रम्प र उनका परिवारले आफ्नै क्रिप्टो मुद्रा प्रवर्द्धन गरेको विषय उठाउँदै यस विधेयकको विपक्षमा मत मागेका थिए । तथापि, विधेयकले डेमोक्र्याट पार्टीका करिब आधा सदस्यहरू र अधिकांश रिपब्लिकनहरूको समर्थन पाएपछि संसदबाट पारित भएको हो ।






