लस एन्जलसमा तैनाथ २ हजार राष्ट्रिय गार्ड फिर्ता गर्न पेन्टागनको आदेश
प्रकाशित मिति : असार ३२, २०८२ बुधबार
अमेरिकाका रक्षा मन्त्री पीट हेगसेथले लस एन्जलसमा तैनाथ राष्ट्रिय गार्ड का ५० प्रतिशत सदस्यलाई फिर्ता गर्न आदेश दिएका छन ।
रक्षा मन्त्री हेगसेथले लस एन्जलसमा गत महिना देखिएका प्रदर्शनहरूका क्रममा संघीय सम्पत्ति र कर्मचारीहरूको सुरक्षाका लागि पठाइएका ४ हजार राष्ट्रिय गार्डमध्ये आधालाई फिर्ता गर्ने आदेश दिएका पेन्टागनले बताएको छ ।
पेन्टागनका प्रवक्ता सोन पार्नेलले मिशन सफल भएको भन्ने मूल्याङ्कनका आधारमा आधा संख्यामा फिर्ता गर्ने यो निर्णय गरिएको बताए ।
उनले सुरक्षाकर्मीहरूले साहस र जिम्मेवारीका साथ कार्य सम्पादन गरेका कारण लस एन्जलसमा देखिएको अराजकता कम हुँदै गएको बताए ।
रक्षा मन्त्रीले २ हजार क्यालिफोर्निया राष्ट्रिय गार्डहरूलाई संघीय सुरक्षाबाट मुक्त गर्ने आदेश दिएका हुन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन महिनामा आप्रवासन अधिकारीहरूद्वारा कार्यस्थलमा गरिएका छापाका विरोधमा सुरु भएका प्रदर्शनहरू नियन्त्रण गर्न राष्ट्रिय गार्ड र करिब ७०० मरिन लस एन्जलसमा पठाएका थिए ।
यो कदम क्यालिफोर्नियाका डेमोक्र्याटिक गभर्नर ग्याविन न्यूसमको असहमतिबीच लिइएको थियो ।
अदालतमा चुनौतीहरू दिइए पनि अमेरिकी अपिल अदालतले ट्रम्पलाई क्यालिफोर्नियाको राष्ट्रिय गार्डमा नियन्त्रण राख्न अनुमति दिएको थियो । तर लस एन्जलसमा सैनिक पठाउने निर्णयले देशभर सैनिकको प्रयोगप्रति बहस जन्माएको छ ।
यस निर्णयपछि पनि करिब २ हजार राष्ट्रिय गार्ड र ७०० मरिन अझै पनि लस एन्जलसमा तैनाथ रहनेछन् । सैनिकहरूलाई संघीय सम्पत्ति वा कर्मचारीमाथि खतरा पुर्याउने व्यक्तिहरूलाई थुनामा राख्ने सम्मको सीमित अधिकार दिइएको छ ।
लस एन्जलसकी मेयर करेन बासले लस एन्जलसका जनताले एकताबद्ध भएर आवाज उठाएका कारण यो उपलब्धि सम्भव भएको बताइन ।
राष्ट्रपति ट्रम्पले देशभित्र अवैध रूपमा बसिरहेका लाखौँ आप्रवासीहरूलाई देश निकाला गर्ने घोषणा गर्दै आफ्नो कार्यकालमा काम गर्ने स्थानहरूमा छापा मार्ने नीति सुरु गरेका छन् ।






