अमेरिकी करले ब्राजिलको अर्थतन्त्रमा ठूलो असर पर्ने खतरा !
प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार
अमेरिकी सरकारले ब्राजिलबाट आयात हुने केही सामानमा ५० प्रतिशतसम्मको नयाँ महसुल (कर) लगाउने घोषणा गरेपछि ब्राजिलको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ० दशमलव ४१ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको छ।
यो विश्लेषण ब्राजिलको प्रख्यात अनुसन्धान संस्था गेटुलियो भर्गास फाउन्डेसन (एफजीभी) ले प्रकाशित गरेको हो। प्रतिवेदनअनुसार, अमेरिकाको ट्रम्प प्रशासनले प्रस्ताव गरेको महसुल वृद्धिले ब्राजिलको खाद्य निर्यात विशेषगरी कफी, चिनी, र सुन्तलाको रस जस्ता प्रमुख कृषि उत्पादनको निर्यात ७५ प्रतिशतसम्म घटाउन सक्छ।
ब्राजिलको कृषि निर्यातमा अमेरिका प्रमुख गन्तव्य हो, जसले देशको कुल कृषि व्यापारको झन्डै ३० प्रतिशत हिस्सा ओगटेको छ। यस्तोमा अमेरिकी बजारमा पहुँचमा आएको अवरोधले ब्राजिलको अर्थतन्त्रमा गम्भीर असर पार्ने सम्भावना छ।
प्रतिवेदनमा अझ भनिएको छ कि हालसम्म नयाँ महसुल औपचारिक रूपमा लागू नभए पनि, अन्तर्राष्ट्रिय व्यापार वातावरणमा बढ्दो अनिश्चितताका कारण दुई देशबीचको व्यापारिक सम्बन्धमा चिसोपन देखिएको छ।
यसैबीच, ट्रम्प सरकारको यो निर्णयले विश्व व्यापार संगठनका नियमको उल्लंघन गर्ने आरोप पनि उठेको छ। नयाँ महसुल नीति सन् २०२५ को अगस्ट १ देखि लागू हुने अमेरिकी सरकारले जनाएको छ।






