ट्रम्प र सीबीच यसै वर्ष भेट हुने “उच्च सम्भावना”
प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच यसै वर्ष भेट हुने “उच्च सम्भावना” रहेको छ । मलेसियाको क्वालालम्पुरमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो जानकारी दिएका हुन ।
“दुवै पक्ष यसलाई सम्भव बनाउन चाहन्छन् । म मिति भन्न सक्दिनँ, तर यस्तो बैठकका लागि बलियो चाहना छ ” उनले भनेका छन ।
रुबियोले यो सम्भावित बैठक अघि “उपयुक्त वातावरण तयार पार्न जरूरी” रहेको पनि बताए । ठोस परिणाम निकाल्न भेट अघिको वातावरण आवश्यक रहेको उनको भनाइ रहेको छ ।
शुक्रबार रुबियोले चीनका विदेशमन्त्री वाङ यीसँग क्वालालम्पुरमा भेट गरेका हुन । यो दुबै उच्च अधिकारीबीचको पहिलो प्रत्यक्ष भेट हो ।
एशियामा प्रभावको प्रतिस्पर्धा र व्यापार तनावबीचको मोडमा भएको यो महत्वपूर्ण भेट भएको हो । झन्डै एक घण्टा लामो बैठकलाई रुबियोले “धेरै सकारात्मक र रचनात्मक” भनेका छन्।
“हामी दुई शक्तिशाली मुलुक हौं, र सधैं सबै विषयमा सहमति हुँदैन। तर यो बैठक सकारात्मक दिशातर्फको राम्रो सुरुवात हो ” उनले भनेका छन ।
रुबियो र वाङ दुवै आसियानका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन मलेसियामा छन् । रूस, जापान, दक्षिण कोरिया र अस्ट्रेलियासहितका साझेदारहरूसमेत त्यहाँ सहभागी रहेका छन्।
ट्रम्प प्रशासनको पुनः सत्तामा आएपछि अमेरिका–चीन व्यापार सम्बन्ध फेरि तनावग्रस्त बनेको छ । दुई देशबीच ट्यारिफ युद्ध फेरि चर्किएपछि गत महिना लन्डनमा व्यापारीक सहमतिका लागि गरिएको वार्ताले केही राहत दिएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसै साता चिनियाँ समकक्षीसँग थप छलफल हुने बताएका छन् । मे महिनामा ९० दिनको व्यापार विराम सहमति भएको थियो । जुन अगस्टमा समाप्त हुने छ।
चीनले अमेरिकी ट्यारिफप्रति आपत्ति जनाउँदै “यदि अमेरिका अन्य साझेदारहरूसँग सम्झौता गरेर चीनको हितमा असर पार्नेछ भने हामी पनि प्रतिकार गर्नेछौं ” भनेर चेतावनी दिएको छ ।
अमेरिकाले गत वर्ष चीनसँग २९५ बिलियन डलरको व्यापार घाटा व्यहोरेको थियो। सी जिनपिङ र ट्रम्पबीचको सम्भावित बैठक क्षेत्रीय र विश्वव्यापी राजनीतिमा महत्वपूर्ण कदम हुन सक्ने अनुमान गरिएको छ ।
दुवै मुलुकले सम्बन्ध सुधारतर्फ चासो देखाए पनि, व्यापार र सुरक्षा सम्बन्धी द्वन्द्व अझै चुनौतीपूर्ण अवस्थामा छन्।






