टेक्सासपछि न्यु मेक्सिकोमा बाढी: बालबालिकासहित ३ जनाको मृत्यु
प्रकाशित मिति : असार २५, २०८२ बुधबार
अमेरिकाको न्यु मेक्सिको राज्यस्थित रुइडोसो गाउँमा भारी वर्षापछिको बाढीले कम्तीमा तीन जनाको ज्यान लिएको छ।
वर्षाका कारण रुइडोसो नदीको सतह बढेको थियो। स्थानीय अधिकारीहरूका अनुसार, एक पुरुष र दुई बालबालिका बाढीको भेलमा परेर बगेका थिए, जसले गर्दा उनीहरूको मृत्यु भयो।
रुइडोसो गाउँकी प्रवक्ता केरी ग्लाडेनले खोजी तथा उद्धार टोलीहरू अझै पनि सक्रिय रहेको बताएकी छन्। हराएका आफन्तहरूको खोजीका लागि हेल्पलाइन पनि सञ्चालनमा ल्याइएको छ।
रुइडोसोमा आपतकालीन सेवाका टोलीहरूले बाढीमा फसेका कम्तीमा ५० जना व्यक्तिलाई उद्धार गरिसकेका छन्। बासिन्दाहरूलाई सुरक्षित उच्च स्थानमा सर्न आग्रह गरिएको थियो। प्रवक्ता ग्लाडेनले तीन जना घाइते व्यक्तिलाई स्थानीय अस्पतालमा उपचार गरिएको जानकारी दिइन्।
रुइडोसोका सडकहरूमा हिलो र फोहोर छरिएको अवस्थामा देखिन्छ, तैपनि उद्धारकर्मीहरू जोखिम मोलेर काम गरिरहेका छन्। राष्ट्रिय मौसम सेवाले यसअघि नै चेतावनी दिएको थियो कि गत वर्ष जंगलमा लागेको आगोका कारण बनेका “बर्न स्कार” क्षेत्रमा पानी नसोसिने जमिन भएकाले त्यहाँ बाढीको जोखिम उच्च छ।
सन् २०२४ को जुन महिनामा दक्षिणी न्यु मेक्सिकोमा भीषण डढेलो लागेर रुइडोसो गाउँ खाली गरिएको थियो। त्यसबेला गाउँका दुवै छेउमा फैलिएको आगोले १० हजार हेक्टर जमिन जलाएको थियो।
उक्त डढेलोमा दुई जनाको मृत्यु भएको थियो भने सयौं घरहरू नष्ट भएका थिए। विशेषज्ञहरूले त्यसपछिका दुई वर्षसम्म बाढीको जोखिम अत्यधिक उच्च हुने चेतावनी दिएका थिए।
यसैबीच, छिमेकी राज्य टेक्सासमा आएको बाढीले कम्तीमा १११ जनाको ज्यान लिएको अमेरिकी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्। टेक्सास राज्यका गभर्नर ग्रेग एबटले मंगलबार दिएको जानकारी अनुसार, एउटा काउन्टीमा मात्रै अझै १६१ जना हराइरहेका छन्।






