अमेरिकाले तयार पारेको गाजा युद्धविराम प्रस्तावमा हमास सकारात्मक
प्रकाशित मिति : असार २०, २०८२ शुक्रबार

फोटो : एएफपी / रासस
हमासले गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी नयाँ प्रस्तावमा ‘सकारात्मक प्रतिक्रिया’ दिएको छ । यो प्रस्ताव अमेरिकी मध्यस्थतामा तयार गरिएको हो ।
हमासले गम्भीर रूपमा तुरुन्त वार्तामा प्रवेश गर्न तयार रहेको बताएको छ । एकजना वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले प्रस्तावको सामान्य ढाँचा स्वीकार गरे पनि केही महत्वपूर्ण संशोधनहरू माग गरेको छ ।
हमासले वार्ता सफल नभएपनि फेरी युद्ध सुरु नगर्ने अमेरिकी ग्यारेण्टी हमासले चाहिरहेको इजरायलले बताएको छ । यसमा इजरायल र अमेरिकाको तर्फबाट तत्काल प्रतिक्रिया आएको छैन। यद्यपि विगतमा उनीहरूले यस्ता मागहरू स्वीकृत गर्न हिचकिचाएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले ६० दिने युद्धविरामका आवश्यक सर्तहरू स्वीकार गरिसकेको बताएका छन । यस अवधिमा युद्ध अन्त्य गर्न वार्ता हुने बताइएको छ ।
उनले हमासलाई चेतावनी दिँदै भने, “यो अन्तिम प्रस्ताव हो। योभन्दा राम्रो अवसर आउँदैन, अब अवस्था झन् बिग्रिन्छ।” हमासले १० जना जीवित इजरायली बन्धकहरू र १८ जनाको शव फिर्ता गर्नेछ। इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूलाई साटासाट गरिनेछ ।
हाल पनि करिब ५० जना इजरायली बन्धकहरू गाजामा रहेका अनुमान गरिएको छ । जसमध्ये कम्तीमा २० जना जीवित रहेको विश्वास गरिएको छ ।
यो प्रस्तावले गाजामा तुरुन्तै पर्याप्त मानवीय सहायता पुर्याउने व्यवस्था गर्नेछ । जसमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस समिति संलग्न हुनेछन्।
तर हमासले सहायता वितरणको जिम्मा पूर्ण रूपमा संयुक्त राष्ट्रसंघ र यसका साझेदारले लिनुपर्छ भनेर हमासले भनेको छ । अधिकारिहरूका अनुसार प्रस्तावमा गाजाको उत्तर र दक्षिण भागबाट चरणबद्ध रूपमा इजरायली फौज हटाउने कुरा उल्लेख छ ।
तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सबै बन्धक मुक्त नभएसम्म र हमासको सैन्य तथा प्रशासनिक संरचना पूर्ण रूपमा ध्वस्त नभएसम्म युद्ध रोकिने छैन भनेका छन्।
७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा करिब १ हजार २०० जना इजरायली मारिएका थिए । २५१ जना बन्धक बनाइएका थिए।
त्यसपछि सुरु भएको इजरायली आक्रमणमा अहिलेसम्म कम्तीमा ५७ हजार २६८ जनाको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।