अमेरिकी विदेशी मानवीय सहायता कटौतीको प्रभाव : पाँच वर्षभित्र १ करोड ४० लाख मानिस मर्ने चेतावनी


प्रकाशित मिति : असार १६, २०८२ सोमबार

ट्रम्प प्रशासनले विदेशी मानवीय सहायता कटौती गर्दा २०३० भित्र १ करोड ४० लाखभन्दा बढी मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशतर्फ दिँदै आएको मानवीय सहायता अधिकांश कटौती गर्ने निर्णय गरेका छन ।

यो निर्णयको प्रभावले सन् २०३० सम्ममा १ करोड ४० लाखभन्दा बढी अतिरिक्त मृत्यु गराउन सक्ने द ल्यानसेट मेडिकल जर्नलमा प्रकाशित भएको अनुसन्धानात्मक प्रतिवेदनले उल्लेख गरेको हो। अनुसन्धानले ती मध्ये करिब एक तिहाइ समयअगावै मृत्यु हुनेहरू बालबालिका हुनेछन् भनेर देखाएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था युएसएआईडी अन्तर्गतका ८० प्रतिशत भन्दा बढी कार्यक्रमहरू रद्द गरिसकेको बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनुसन्धान सह लेखक तथा बार्सिलोना ग्लोबल हेल्थ इन्स्टिच्युटका अनुसन्धानकर्ता डाभिडे रस्सेलाले भने, ‘धेरै न्यून तथा मध्यम आय भएका मुलुकहरूका लागि यो आर्थिक झटका विश्वव्यापी महामारी वा सशस्त्र द्वन्द्वजस्तै विनाशकारी हुनेछ।’

अनुसन्धानकर्ताहरूले १३३ देशका दुई दशकको डेटा अध्ययन गरेका थिए । त्यसको आधारमा युएसएआइडी मार्फत गरिएको सहयोगले सन् २००१ देखि २०२१ सम्म करिब ९१ मिलियन अर्थात ९ करोड १० लाख मानिसको ज्यान बचाएको अनुमान गरिएको छ ।

तर यस वर्ष सुरुमा ट्रम्प प्रशासनले घोषणा गरेको ८३ प्रतिशत सहायता कटौतीको आधारमा भविष्यको मृत्यु दरको प्रक्षेपण गर्दा २०३० सम्म १ करोड ४० लाखभन्दा बढी अनावश्यक मृत्यु हुने देखाइएको छ ।

त्यसमध्ये ५ वर्षभन्दा कम उमेरका ४५ लाखभन्दा बढी बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ । यसले वार्षिक ७ लाख बाल मृत्युदर हुने अनुमान देखिन्छ ।

रुबियोका अनुसार, अहिले पनि करिब १,००० सहायता कार्यक्रम बाँकी छन् । जसलाई अमेरिकी विदेश मन्त्रालय र संसदको समन्वयमा “अझ प्रभावकारी तरिकाले” सञ्चालन गरिनेछ ।

तर, संयुक्त राष्ट्रसंघका अनुसार धेरै देशहरूमा अवस्था अझै खराब हुँदै गएको छ। अमेरिकी सहायता कटौतीका कारण केन्याका शरणार्थी शिविरहरूमा खाद्य आपूर्ति अहिलेसम्मकै न्यून तहमा पुगेको छ । जसले “सयौं हजार मानिसहरूलाई बिस्तारै भोकभोकै मार्दैछ।”

अन्तर्राष्ट्रिय सहायता कटौतीले विश्वभर गरिब र संवेदनशील समुदायमा भयावह मानवीय संकट निम्त्याउने खतरा अत्यन्त गम्भीर रूपमा बढ्दै गएको विश्लेषकहरुले बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com