अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउन सहयोग गरेका वकिलले न्यूयोर्कमा वकालत गर्न नपाउने
प्रकाशित मिति : असार १३, २०८२ शुक्रबार
२०२० को अमेरिकी निर्वाचन उल्ट्याउने प्रयासमा संलग्न वकिल केनेथ चेसेब्रोको न्यूयोर्कमा वकालत गर्न पाउने अनुमति रद्द भएको छ ।
राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याएर डोनाल्ड ट्रम्पलाई सत्तामा कायम राख्न गरिएको षड्यन्त्रमा संलग्न वकिल केनेथ चेसेब्रोको न्यूयोर्कमा वकालत गर्न पाउने अनुमति (लाइसेन्स) रद्द गरिएको हो ।
न्यूयोर्क राज्यको अपील अदालतले गरेको निर्णय अनुसार चेसेब्रोको २०२३ मा जर्जिया राज्यमा दोषी ठहर भएपछि उनलाई वकालतबाट हटाउनु पर्ने ठहर गरिएको हो ।
चेसेब्रोले छ वटा राज्यहरूबाट नक्कली ट्रम्प समर्थक निर्वाचक पठाउने योजना बनाउने काममा संलग्न भएको स्वीकार गरेका थिए । सो योजनाको उद्देश्य निर्वाचन परिणाम पल्टाएर ट्रम्पलाई जिताउनु रहेको थियो।
“चेसेब्रोको कार्यले न्याय प्रशासनको मेरुदण्डमै प्रहार गरेको छ । उनले वकिलको रूपमा संविधान र लोकतन्त्रको रक्षा गर्ने शपथ खाएका थिए, तर उनी आफैंले त्यसको उल्लंघन गरे ” अदालतको निर्णयमा भनिएको छ ।
चेसेब्रोलाई २०२४ अक्टोबरमा नै वकालत गर्न अस्थायी रूपमा निलम्बन गरिएको थियो । उनी २००७ मा न्यूयोर्क बारमा आबद्ध भएका थिए ।
चेसेब्रोले अघिल्लो राष्ट्रपति चुनावपछि ट्रम्पलाई जिताउने योजना अन्तर्गत कति महत्वपूर्ण कानुनी पेपरहरु तयार पारेका थिए । उनी विगतमा सन् २००० को राष्ट्रपति निर्वाचनपछि उपराष्ट्रपति अल गोरेको कानुनी टोलीमा पनि संलग्न भएका थिए ।
“संविधान र निर्वाचन कानुनमा गहिरो अनुभव हुँदाहुँदै पनि चेसेब्रोले अत्यन्त लापरवाहपूर्ण व्यवहार देखाएका छन्, जसले उनको अपराधलाई झन गम्भीर बनाउँछ ” निर्णयमा भनिएको छ ।
चेसेब्रोले जर्जियामा दोषी ठहर भएपछिको समयमा एरिजोना र जर्जिया राज्यका अभियोजन पक्षसँग सहकार्य गरेका छन् । साथै, विस्कन्सिन राज्यमा पनि नक्कली निर्वाचक योजना सम्बन्धी मुद्दामा उनी विरुद्ध अभियोग लागिएको छ।
चेसेब्रो सँगै काम गरेका वकिल जोन इस्टम्यानले पनि सन् २०२४ मा क्यालिफोर्नियामा आफ्नो वकालत लाइसेन्स गुमाएका थिए ।






