‘बिग ब्यूटिफुल बिल’ को आलोचना गरेपछि सिनेटकी संसदीय सल्लाहकार म्याकडोनफ विवादमा
प्रकाशित मिति : असार १२, २०८२ बिहीबार
अमेरिकी सिनेटकी संसदीय सल्लाहकार एलिजाबेथ म्याकडोनफ विवादमा तानिएकी छन् । सिनेट संसदीय सल्लाहकार म्याकडोनफ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’ माथिको विवादले उनी अहिले विवादमा परेकी हुन ।
ट्रम्पले ‘बिग ब्यूटिफुल बिल’ नाम दिएका १ हजार पृष्ठ लामो कर तथा खर्च विधेयकमा गरिब तथा निम्न आय भएकाहरूको लागि खर्च कटौती र कर छुट विस्तार गर्ने प्रस्ताव छ।
तर म्याकडोनफले यस विधेयकका केही भागहरू सिनेटका नियमहरूसँग मेल नखाने भन्दै आपत्ति जनाएकी छन् । जसका कारण अर्बौं डलर बराबरको खर्च कटौती प्रभावित हुन सक्ने सम्भावना छ।
यस निर्णयले राष्ट्रपति ट्रम्पले तोकेको ४ जुलाईको समयसीमा अगावै विधेयक पारित गर्न कठिन बनाएको छ ।
अब केही रिपब्लिकन सांसदहरूले संसद सल्लाहकार म्याकडोनफको सिफारिसलाई बेवास्ता गर्न वा उनलाई हटाउन आह्वान गरेका छन् । जुन लामो समयदेखिको परम्परा विपरीत कदम हुनेछ ।
यस महिनाको सुरुवातमा, अमेरिकी प्रतिनिधिसभाले खाद्य सहायता कार्यक्रममा कटौती, टिप्स र ओभरटाइममाथिको कर हटाउने प्रस्ताव सहितको विधेयक पास गरेको थियो।
त्यसपछि विधेयक सिनेटमा पठाएको छ । जहाँ रिपब्लिकन र डेमोक्र्याट दुवैले संशोधनको माग गरे। अहिले सिनेटमा विधेयकमा सुधार ल्याउने र नयाँ संस्करण तयार पार्ने काम भइरहेको छ।
तर पार्टीभित्रकै विभिन्न गुटहरू मेडीकेड जस्ता सामाजिक कार्यक्रमहरूको विषयमा सहमतिमा पुग्न संघर्ष गरिरहेका छन्। एलिजाबेथ म्याकडोनफ सन् २०१२ देखि सिनेट संसद सल्लाहकारको भूमिका निर्वाह गरिरहेकी छिन् ।
उनी यो भूमिका सम्हाल्ने पहिलो महिला हुन् । उनी पहिले न्याय मन्त्रालयमा र सिनेटमा कर्मचारीको रूपमा २५ वर्ष काम गरिसकेकी छन् ।
उनी पूर्व डेमोक्र्याट सिनेटर ह्यारी रीडले नियुक्त गरे पनि रिपब्लिकन र डेमोक्र्याट दुवैको शासनकालमा उनले सेवा दिएकी छिन् ।
उनले विधेयकको केही भागले ‘बर्ड नियम’ उल्लंघन गरेको बताइन ।
अलाबामाका सिनेटर टोमी ट्युबर्विलले म्याकडोनफको आलोचना गर्दै उनलाई हटाउनुपर्ने माग गरेका छन्।






