इरानले भन्यो : युद्धविराम सम्बन्धि कुनै सम्झौता भएको छैन
प्रकाशित मिति : असार ९, २०८२ सोमबार

फोटो : रासस
इरानले युद्धविराम सम्बन्धि कुनैपनि सम्झौता नभएको बताएको छ । विदेशमन्त्री अब्बास आराघचीले युद्धविरामको कुनै सम्झौता नभएको भन्दै यदि इजरायलले आक्रमण रोक्यो भने इरान पनि आक्रमण रोक्न तयार रहेको बताएका हुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलकाबीचमा युद्धविराम भएको घोषणा गरेपछि इरानी पछिल्लो प्रतिकृया आएको हो । इरानले आक्रमण रोक्नका लागि इजरायलले पहिला आक्रमण रोक्नु पर्दछ विदेशमन्त्रीले भनेका छन ।
“हालसम्म कुनै ‘सम्झौता’ भएको छैन — न त युद्धविराममा, न सैन्य कारबाही रोक्नमा । तर यदि इजरायली शासनले इरानी जनताविरुद्धको आफ्नो अवैध आक्रमण बिहान ४ बजेभित्र रोकेको खण्डमा, त्यसपछि हामीले प्रतिउत्तर जारी राख्ने कुनै योजना छैन।” विदेशमन्त्री आराघचीले भनेका छन ।
उनले सामाजिक सञ्जालमा “हाम्रो सैन्य कारबाही रोक्ने अन्तिम निर्णय पछि गरिनेछ ” भनेर लेखेका छन ।
“सबै इरानीहरूसँगै म बहादुर सशस्त्र बलप्रति आभार व्यक्त गर्छु, जसले आफ्नो अन्तिम रगतको थोपा सम्म देशको रक्षाका लागि तयार रहने संकल्प देखाए र अन्तिम क्षणसम्म शत्रुको आक्रमणको जवाफ दिए ” उनले भनेका छन ।
इजरायलले इरानमा हमला गरेपछि दुबै देशले एकअर्का विरुद्ध आक्रमण तीब्र बनाएका छन । अमेरिकाले इरानका ३ वटा परामाणु केन्द्रमा बम खसालेर ध्वस्त बनाएको छ । अमेरिकाले दुबै देशलाई अब शान्तिको बाटो रोज्न आग्रह गर्दै आएको छ ।