इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी इरानी नागरिकलाई मृत्युदण्ड
प्रकाशित मिति : असार ९, २०८२ सोमबार

इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहर भएका एक इरानी नागरिकलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ।
सरकारी बयान अनुसार, “यहूदी शासन (इजरायल) का लागि गुप्तचरको रूपमा सहयोग गरेको अभियोगमा मोहम्मद–अमिन महदावी शायेस्तेहलाई आज बिहान फाँसी दिइएको छ।” शायेस्तेहमाथि इजरायली गुप्तचर संस्था मोसादसँग सम्बन्ध रहेको आरोप लागेको थियो।
न्यायालयका अनुसार उनले इरानी सरकारको आलोचना गर्ने लण्डनस्थित फारसी भाषाको टेलिभिजन च्यानल इरान इन्टरनेसनलसँग पनि सहकार्य गरेका थिए। इरानले उक्त च्यानललाई इजरायलसँग जोडिएको आतङ्कवादी संस्था मानेको छ। सन् २०२२ मा महसा अमिनीको हिरासतमा मृत्युपछि भड्किएको जनआन्दोलनका बेला अधिकारीहरूले इरान इन्टरनेसनललाई इरान विरोधी प्रचारका लागि मुख्य जिम्मेवार मानेका थिए।
महसा अमिनीलाई इस्लामिक गणतन्त्रको अनिवार्य हिजाब नियम उल्लंघन गरेको आरोपमा नैतिकता प्रहरीले पक्राउ गरेको थियो, जसको केही दिनमै हिरासतमा मृत्यु भएको थियो। यो घटनाले देशव्यापी विरोधको झिल्का निम्त्याएको थियो।
यसैबीच, न्यायपालिकाले आइतबार मोसादको एजेन्ट भएको अभियोगमा दोषी ठहर माजिद मोसायेबीलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ। न्यायपालिकाका प्रमुख घोलामहुसेन मोहसेनी एजेईले सरकारी टेलिभिजनमार्फत भने, “इजरायलका समर्थक र राष्ट्रका विरुद्ध कार्य गर्ने तत्वहरूमाथि अब छिटो र कठोर कारबाही गरिनेछ।”
इरानले विगतमा पनि विदेशी गुप्तचर संस्था विशेषगरी इजरायली मोसादसँग संलग्न भएको आरोपमा कैयौं नागरिकहरूलाई पक्राउ गर्दै मृत्यु सजाय सुनाउँदै आएको छ।
मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार, मृत्युदण्डको संख्याका हिसाबले इरान विश्वकै अग्रस्थानमा पर्छ। सन् २०२३ मा मात्रै इरानमा सयौं कैदीहरूलाई मृत्युदण्ड दिइएको रिपोर्ट गरिएको छ।