क्यालिफोर्नियाका गर्भनरमाथि खनिए अमेरिकी उपराष्ट्रपति भान्स, लगाए यस्ता आरोप
प्रकाशित मिति : असार ७, २०८२ शनिबार
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शुक्रबार लस एन्जलसमा खटाइएका अमेरिकी मरीन र नेशनल गार्ड सैनिकहरूसँग भेट गरी डेमोक्र्याटिक नेताहरूमाथि आप्रवासीहरूलाई गैरकानुनी रूपमा सिमाना पार गराउन प्रोत्साहन दिएको आरोप लगाएपछि अमेरिकाको दोस्रो सबैभन्दा ठूलो सहरमा राजनीतिक बहस चर्किएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा अमेरिकी आप्रवासन र कस्टम्स इन्फोर्समेन्ट (आइस)द्वारा गरिएको छापापछि सुरु भएका विरोध प्रदर्शनहरू नियन्त्रण गर्न ७०० मरीन र ४००० नेशनल गार्ड सैनिकलाई लस एन्जलसमा खटाएका थिए । गभर्नर गेभिन न्यूसमको विरोधका बाबजुद ट्रम्पले सैनिक पठाउने निर्णय लिए, जसले राज्य र संघीय सरकारबीचको अधिकारको टकरावसमेत जन्मायो।
गत बिहीबार अमेरिकी अपील अदालतले ट्रम्पको सैन्य परिचालन वैध भएको निर्णय सुनाएपछि उपराष्ट्रपति भान्सले यो पूर्ण रूपमा वैध र संघीय कानून अनुसारको कदम भएको बताए। उनले सैनिकहरूको उपस्थितिलाई आवश्यक ठहर गर्दै भने, “स्थिति फेरि चर्कन सक्ने चिन्ताले मरीन र गार्ड अझै आवश्यक छन्।”
भान्सले क्यालिफोर्नियाका गभर्नर न्यूसम र लस एन्जलसका मेयर करेन बासलाई ‘अवैध आप्रवासीहरूमाथि नरम’ भएको र ‘स्थानीय तथा राज्य सुरक्षाकर्मीहरूलाई कमजोर बनाउने’ आरोप लगाए। उनले भने, “उनीहरूले सीमा गस्तीलाई गैरकानुनी शक्ति ठानेका छन्, तर ती त अमेरिकी जनताको सुरक्षाका लागि खटिएका कानुनी बल हुन्।”
गभर्नर न्युसमकी प्रवक्ता डायना क्रफ्ट्स-पेलायोले भान्सको अभिव्यक्तिलाई ‘पूर्ण रूपमा गलत’ बताइन्। न्यूसमले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखेका थिइन्, “ट्रम्पको अराजकतामा फाइदा उठाउने मूर्ख उत्तेजकहरूलाई जवाफदेही बनाइनेछ।” उनले ट्रम्पको सैनिक खटाइँले प्रदर्शनलाई चर्काएको, संविधानविपरीत भएको र राज्यको अधिकारमाथि हस्तक्षेप भएको दाबी गरेकी छन्।
लस एन्जलसकी मेयर करेन बासले पत्रकार सम्मेलनमार्फत भान्सको अभिव्यक्तिलाई झूट र निरर्थक भन्दै ती सैनिकहरूलाई उत्तेजक उपायको संज्ञा दिइन्। उनले भनिन्, “ट्रम्प र भान्सको निर्णयले हाम्रो सहरभरि आतंक र डर फैलाएको छ।”
राजनीतिक विश्लेषकहरूका अनुसार यो घटनाक्रम सन् २०२८ को सम्भावित राष्ट्रपति चुनावलाई ध्यानमा राखेर भइरहेको शक्ति प्रदर्शन हो। गभर्नर न्यूसम डेमोक्र्याटिक उम्मेदवारको रूपमा अघि सर्न सक्ने बताइएको छ भने भान्स सम्भावित रिपब्लिकन उम्मेदवारका रूपमा देखिएका छन्।






