२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अध्यागमन

अमेरिकाद्वारा कडा सामाजिक सञ्जाल नियमसहित विद्यार्थी भिसा अन्तर्वार्ता पुनः सुरु

अमेरिकाको विदेश मन्त्रालयले विद्यार्थी भिसाका लागि अन्तर्वार्ता पुनः सुरु गर्ने भएको  छ। यसका लागि सामाजिक सञ्जालसम्बन्धी कडा दिशानिर्देशहरू लागू गरिने बताइएको छ।

नयाँ नियमअनुसार भिसा आवेदकहरूले अमेरिकाप्रति शत्रुतापूर्ण मनोवृत्ति भए नभएको जाँचको अनुमति दिन आफ्ना सामाजिक सञ्जाल एकाउन्टहरू सार्वजनिक (पब्लिक) गर्नुपर्नेछ। बुधबार दूतावास र कन्सुलेटहरूलाई दिइएको निर्देशनअनुसार यदि आवेदकले आफ्ना सामाजिक सञ्जाल एकाउन्टहरू सार्वजनिक नगरेमा उनीहरूको भिसा अस्वीकृत हुन सक्नेछ।

अमेरिकाले गत महिना विदेशी विद्यार्थीहरूको नयाँ भिसा अपोइन्टमेन्ट स्थगित गरेको थियो। यो कदम ट्रम्प प्रशासनले विश्वविद्यालयहरूमा यहुदी विरोधी भावना र अन्य राष्ट्रिय सुरक्षा चिन्ताहरूलाई प्रोत्साहन गरेको आरोप लगाएपछि चालिएको थियो। ट्रम्प प्रशासनले गत महिना हार्वर्ड विश्वविद्यालयलाई भिसाका लागि थप जाँचका लागि छनोट गरेको थियो।

विद्यार्थी भिसाका नयाँ जाँच प्रक्रियाहरू अध्ययनको संस्था जुनसुकै भए पनि सबै विदेशी नागरिकहरूलाई लागू हुनेछन्। सरोकारवालाहरूले यी नयाँ जाँच प्रक्रियाहरूले अमेरिकामा आउन चाहने सम्भावित अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि स्वागत नभएको सन्देश दिने चिन्ता व्यक्त गरेका छन्। यी उपायहरू सामाजिक सञ्जालको आधारमा मात्र नभई आवेदकहरूको राजनीतिक विचारधारा जाँच्ने माध्यम बन्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षरित आन्तरिक निर्देशनमा आवेदकहरूको अनलाइन उपस्थितिको समीक्षा गर्नुपर्ने र नयाँ प्रक्रियाहरू पाँच दिनपछि लागू हुने उल्लेख गरिएको छ। यसको अर्थ यो नियम आगामी साता पूर्ण रूपमा लागु हुनेछ।

विद्यार्थीहरूको प्रोफाइल जाँच्दा दूतावासका कर्मचारीहरूलाई अमेरिकी नागरिक, संस्कृति, सरकार, संस्था वा स्थापनाका सिद्धान्तहरूप्रति शत्रुतापूर्ण मनोवृत्ति राख्ने आवेदकहरू, विदेशी आतंकवादी र अन्य राष्ट्रिय सुरक्षा खतराहरूलाई समर्थन गर्ने वा गैरकानुनी यहुदी-विरोधी उत्पीडन वा हिंसा गर्ने व्यक्तिहरूलाई पहिचान गर्न निर्देशन दिइएको छ।

नयाँ दिशानिर्देशको व्यापक व्याख्याले योग्य विद्यार्थीहरूलाई पनि भिसा अस्वीकार गर्न सक्ने चिन्ता समेत व्यक्त गरिएको छ।

विगतमा अमेरिकाले अमेरिका आउनुअगाडि मानिसहरूको विचारधाराको आलोचना गर्दैनथ्यो। अब यो दृष्टिकोणमा परिवर्तन आएको छ। अमेरिकी विदेश मन्त्रालयले एक लिखित वक्तव्यमा अमेरिकी नागरिकहरूले आफ्नो सरकारले देशलाई सुरक्षित बनाउन, विशेष गरी भिसा प्रणालीसँग सम्बन्धित कुरामा काम गरेको चाहने बताएको थियो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →