ट्रम्प प्रशासन आएपछिको ३ महिनामा ५३३ नेपालीलाई देशनिकालाका लागि अदालतमा रिफर


प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

अमेरिकामा ट्रम्प प्रशासन आएपछिको ३ महिना फेब्रुअरी, मार्च र अप्रिल महिनामा मात्र ५३३ नेपालीविरुद्ध देशनिकालाको प्रकृया सुरु गर्नका लागि नोटिस टु अपियर जारी गरेर अदालतमा रिफर गरिएको छ । ट्रान्जेक्सनल रेकर्ड एक्सेस क्लियरिङ्गहाउसले कम्पाइल गरेको  एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार फेब्रुअरीमा २३९ जना, मार्चमा १९४ जना र अप्रिलमा १ सय जना नेपालीहरुलाई देशनिकालाको प्रकृया सुरु गर्नका लागि अदालतमा रिफर गरिएको हो । मे महिनाको तथ्यांक सार्वजनिक भएको छैन भने जनवरीमा २३५ जना नेपालीहरुलाई देशनिकालाको प्रकृयाका लागि अदालतमा रिफर गरिएको थियो ।

यद्यपी बाइडेनकालमा पनि नेपालीविरुद्ध देशनिकालाको प्रकृयाका लागि अदालतमा रिफर गर्ने दर उच्च नै रहेको थियो । डिसेम्बरमा २३० जना, नोभेम्बरमा ३७७ जना, अक्टोबरमा ४७७ जना नेपालीहरुलाई देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा रिफर गरिएको थियो । अमेरिकी अध्यागमन एजेन्सी आइस र युएससीआईएसले देशनिकालाको प्रकृयाका लागि अदालतमा रिफर गर्ने गर्छ । सामान्यतया युएससीआईएसले एसाइलम लगायतका कुनै अध्यागमन आवेदन अस्वीकृत भएको खण्डमा वा टीपीएस समाप्त भएको खण्डमा आप्रवासीको अन्य कुनै अध्यागमन स्टाटस अमेरिकामा छैन भने देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा रिफर गर्छ ।

त्यस्तै आइसले विनाभिसा आउने एसाइलम आवेदकलाई र अध्यागमन कानुनको उल्लंघन गर्ने अन्य व्यक्तिलाई देशनिकालाको प्रकृया सुरु गर्न अदालतमा रिफर गर्छ । अदालतमा रिफर गरिएकाहरु सबैजना देशनिकालामा पर्दैनन् । कतिपयको एसाइलम दावी स्वीकृत भएर ग्रिनकार्ड समेत प्राप्त गर्ने गरेका छन् । कतिपयले अमेरिकाभित्र रहनका लागि अन्य प्रकारको सुविधा समेत प्राप्त गर्छन् । केही व्यक्तिले देशनिकालाको आदेश प्राप्त गर्छन् । देशनिकालाको अन्तिम आदेश प्राप्त भइसकेपछि उनीहरुले अनिवार्यरुपमा अमेरिका छाड्नुपर्ने प्रावधान रहेको छ ।

फेब्रुअरीमा अदालतमा रिफर गरिएका २३९ जनामध्ये १४७ जनाका वकिलहरु थिए भने ९२ जनाका वकिलहरु थिएनन् । २३९ जनामध्ये २४ जना विनाभिसा मेक्सिकोबाट प्रवेश गरेकाहरु थिए भने १ जनाविरुद्ध अन्य अपराधको अभियोग थियो । ४३ जनाका मुद्दा डिपोर्टेशनसँग सम्बन्धित थिएनन् भने १७१ जनाविरुद्ध अन्य अध्यागमन अभियोगहरु रहेका थिए । उनीहरुमध्ये १९२ जना हिराशतमा रहेकाहरु थिए भने १३ जना रिहा गरिएकाहरु थिए । ३४ जना कहिलेपनि हिराशतमा परेका थिएनन् ।

त्यस्तै मार्चमा अदालतमा रिफर गरिएका १९४ जना नेपालीहरुमध्ये ८६ जनाका वकिल थिए भने १०८ जनाका वकिल थिएनन् । उनीहरुमध्ये २४ जना विनाभिसा मेक्सिकोबाट प्रवेश गरेकाहरु थिए भने ४ जनाविरुद्ध अन्य अपराधको अभियोग थियो । उनीहरुमध्ये १२६ जना हिराशतमा राखिएकाहरु थिए भने ५ जना रिहा गरिएकाहरु थिए । बाँकी ६३ जना कहिलेपनि हिराशतमा परेका थिएनन् ।

त्यस्तै अप्रिलमा अदालतमा रिफर गरिएका १०० जनामध्ये ४३ जना हिराशतमा राखिएकाहरु थिए भने ५७ जना कहिलेपनि हिराशतमा परेका थिएनन् । उनीहरुमध्ये १६ जना विनाभिसा मेक्सिकोबाट प्रवेश गरेकाहरु थिए । उनीहरुमध्ये ७९ जनाका वकिल थिएनन् भने २१ जनाका वकिलहरु थिए ।

युएससीआईएसले फेब्रुअरी २८ पछि २६ हजारभन्दा धेरै आप्रवासीहरुलाई अध्यागमन अदालतमा रिफर गरेको तथ्यांक यसैसाता सार्वजनिक गरेको थियो । उनीहरुमध्ये नेपालीहरुको संख्या उल्लेख्य भएपनि कतिजना नेपालीहरु भन्नेबारे केही खुलाइएको थिएन । यद्यपी त्यसमा मार्च र अप्रिलमा अदालतमा रिफर गरिएका २९४ जनामध्येका नेपालीहरु समेत समावेश छन् ।

अक्टोबरदेखि सुरु भएको आर्थिक बर्ष २०२५ मा मात्रै १८५२ जना नेपालीहरु देशनिकालाको प्रकृयाका लागि अध्यागमन अदालतमा रिफर गरिएका छन् । उनीहरुमध्ये ७६० जना हिराशतमा राखिएकाहरु र २२७ जना हिराशतबाट रिहा भएकाहरु थिए भने ८६५ जना कहिलेपनि हिराशतमा परेका थिएनन् । तीमध्ये ५१२ जना विनाभिसा मेक्सिकोबाट प्रवेश गरेकाहरु थिए ८ जनाविरुद्ध अन्य अपराधको अभियोग थियो भने २ जनाविरुद्ध जघन्य अपराधको अभियोग थियो ।

बाइडेनकालमा मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्नेहरुको संख्या निकै उच्च हुँदा आर्थिक बर्ष २०२४ मा नोटिस टु अपियर जारी गरेर अदालतमा रिफर गरिएका नेपालीहरु ३८३५ जना रहेकोमा ३२०९ जना विनाभिसा मेक्सिकोबाट प्रवेश गरेकाहरु थिए । ३८३५ जनामध्ये १५४जनामात्र हिराशतमा रहेकाहरु थिए भने १८१ जना रिहा गरिएकाहरु थिए, बाँकी ३५ जना कहिलेपनि हिराशतमा परेकाहरु थिएनन् । आर्थिक बर्ष २०२४ मा इतिहासमा नै सबैभन्दा धेरै नेपालीहरुलाई नोटिस टु अपियर जारी गरेर अदालतमा रिफर गरिएको थियो ।

नोटिस टु अपियर जारी गरेर अदालतमा रिफर गरिएका नेपालीहरुको संख्या आर्थिक बर्ष २०२३ मा ३२३२ जना रहेको थियो । त्यसमध्ये ७५ जनामात्र हिराशतमा रहेकाहरु थिए भने २२७ जना रिहा गरिएकाहरु थिए । २९३० जना कहिलेपनि हिराशतमा परेकाहरु थिएनन् । यद्यपी तीमध्ये २७५८ जना भने मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्नेहरु थिए । आर्थिकबर्ष २०२२ मा अदालतमा रिफर गरिएका १३६६ जनामा ८८९ जना मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्नेहरु थिए भने आर्थिक बर्ष २०२१ मा अदालतमा रिफर गरिएका ४७७ मध्ये ११२ जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्नेहरु थिए । बाइडेनकालमा झण्डै १० हजार नेपालीहरु विनाभिसा मेक्सिकोबाट अमेरिका प्रवेश गरेकोमा झण्डै ७ हजारलाई अदालतमा रिफर गरिएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com