एअर इन्डिया विमान दुर्घटनाः सम्भावित कारणहरू यस्ता हुन सक्छन्
प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

फोटो : रासस
भारतको अहमदाबादबाट लन्डन ग्याटविकतर्फ उडेको एअर इन्डियाको विमान उडान भरेको केही समयमै दुर्घटनामा पर्यो । घटनाको वास्तविक कारण विस्तृत अनुसन्धानपछि मात्र थाहा हुनेछ । तर उडानको प्रारम्भिक क्षणहरू उड्डयनको हिसाबले सबैभन्दा चुनौतीपूर्ण मानिन्छन् ।
दुर्घटनामा यात्रु र चालक दलका सदस्यहरू मारिए । साथै जमिनमा पनि केही मानिसको ज्यान गएको पुष्टि भएको छ । यो सन् २०११ मा सेवा प्रारम्भ गरेपछि बोइङ ७८७–८ ड्रीमलाइनरमा भएको पहिलो घातक दुर्घटना हो ।
दुर्घटनाको कारण पत्ता लगाउन भारतीय अनुसन्धान टोलीसँगै अमेरिका र बेलायतका विज्ञहरू पनि सहभागी हुनेछन् । विमान, टेकअफ गरेको ३० सेकेन्डमै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलको रनवेबाट मात्र १.५ किमि टाढा खसेको थियो।
विमान क्याप्टेन सुमीत सभरवाल र को–पाइलट क्लाइभ कुण्डारले उडाइरहेका थिए । जसको संयुक्त उडान अनुभव ९ हजार घण्टाभन्दा बढी थियो । एअर इन्डियाका अनुसार विमानले स्थानीय समयअनुसार दिउँसो १ बजेर ३९ मिनेटमा टेकअफ गरेको थियो।
गृह मन्त्री अमित शाहले विमानमा लगभग १०० टन इन्धन रहेको बताएका छन् । टेकअफको केही क्षणमै ‘मेडे’ कल गरिएको थियो । तर त्यसपछि विमानबाट कुनै प्रतिक्रिया आएको थिएन।
भिडियोमा विमान अत्यन्तै कम उचाइमा आवासीय क्षेत्रमा देखिन्छ । अन्तिम प्राप्त डाटामा विमान ६२५ फिट मा पुगेको देखिएको छ । त्यसपछि यो झर्न थालेको र ठूला रुख तथा भवनहरूबाट देखिन छोडेको थियो । त्यसपछि ठूलो विस्फोट देखिएको छ । एक पाइलटका अनुसार दुबै इन्जिन बन्द भएमा प्रतिक्रिया दिन समय नै हुँदैन।
दुबै इन्जिन फेल हुनु यो अत्यन्तै दुर्लभ मानिन्छ । २००९ को ‘मिराकल अन द हडसन’ घटनामा पनि यस्तो भएको थियो । इन्धन प्रणालीमा समस्या भएमा यो घटना हुनसक्छ । जस्तै इन्धनको अशुद्धता वा अवरोधले यस्तो यस्तो अवस्था आउन सक्छ।
अहमदाबाद विमानस्थल पंक्षीहरूको उच्च जोखिमयुक्त क्षेत्र हो । पछिल्लो पाँच वर्षमा ४६२ पंक्षी ठोक्किने घटना रिपोर्ट भएको थियो । यद्यपि दुबै इन्जिनमा पंक्षी पर्नु अत्यन्त दुर्लभ छ ।
केही विज्ञहरूले टेकअफको बेलामा विमानका फ्ल्याप्स नखुलेको हुनसक्ने आशंका गरेका छन् । तापक्रम ४० डिग्री सेल्सियस नजिक थियो । यस्तो अवस्थामा फ्ल्याप्सको महत्त्व अझ बढ्छ । यद्यपि, बोइङ ७८७ मा फ्ल्याप्स सेट नभए स्वचालित प्रणालीले चेतावनी दिन्छ।
फ्ल्याप्स सम्बन्धी त्रुटि भएमा त्यो मानव त्रुटिको सम्भावना बढी हुन्छ । किनकि पाइलटहरू टेकअफको अगाडि विस्तृत चेकलिस्टको पालना गर्छन् ।
इन्जिन निर्माता जीइ एयरोस्पेसले अनुसन्धानमा सहयोग गर्न टोली पठाउने जनाएको छ । बोइङले पनि एअर इन्डियालाई पूर्ण समर्थन गर्ने जनाएको छ ।
विमानको ब्ल्याक बक्स, फ्लाइट डाटा, अवशेषहरूको परीक्षण, र प्रत्यक्षदर्शी तथा एक मात्र जीवित यात्रुको बयान अनुसन्धानको केन्द्रमा रहनेछन् ।
प्रारम्भिक संकेतहरूले इन्जिनमा समस्या वा उडान पूर्वको प्रणालीगत त्रुटिको सम्भावना देखाउँछन् । तर आधिकारिक निष्कर्ष आउन अझ केही समय लाग्ने देखिएको छ ।