रोजगारमा आधारित तेस्रो श्रेणीको ग्रीनकार्डमा अग्रता, दोश्रो स्थीर, पहिलो करेन्ट
प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले जुलाई महिनाको भिसा बुलेटिनमा रोजगारमा आधारित तेस्रो श्रेणीका लागि ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम गरेको छ । यूएससीआईएसले जुलाई महिनामा पनि रोजगारमा आधारित ग्रीनकार्डका लागि भिसा बुलेटिनको फाइलिङ मिति प्रयोग नगरी फाइनल एक्सन मिति नै प्रयोग गर्ने भएको छ।
जुलाई महिनामा पहिलो श्रेणीको हकमा पहिले जस्तै ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति करेन्ट नै रहेको छ। जुलाई महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहेसम्म कुर्नु पर्दैन। यद्यपि दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।
रोजगारमा आधारित दोस्रो श्रेणीको ग्रीनकार्डका लागि जुलाई महिनामा आई ४८५ ग्रीनकार्ड आवेदन फाइल गर्न सकिने प्राथमिकता मिति १५ अक्टोबर २०२३ नै कायम रहेको छ । अर्थात् अघिल्लो महिनाका तुलनामा कुनै हलचल भएको छैन । यो श्रेणीमा अमेरिकाभित्र हुनेहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा वा अमेरिकाबाहिर रहेकाहरूले भिसा अन्तर्वार्ता र आप्रवासी भिसा पाउनका लागि उनीहरुको आई १४० आवेदन १५ अक्टोबर २०२३ अगाडि फाइल गरिसकेको हुनुपर्छ ।
तेस्रो श्रेणीको स्किल्ड ग्रीनकार्ड आवेदकहरूका लागि अप्रिल १ , २०२३ भन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका आवेदकहरूको लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा उनीहरूले जुलाई महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। यो मितिमा झन्डै २ महिनाको सुधार भएको हो। अमेरिकाबाहिर भिसा कुरिरहेकाहरूको हकमा पनि अप्रिल १ , २०२३ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरूले जुलाई महिनामा भिसाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्।
रोजगारमा आधारित तेस्रो श्रेणीका अनस्किल्ड कामदारहरूको हकमा जुलाई ८ , २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा जुलाई महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। जुन महिनाको तुलनामा यो मितिमा २ साताको अग्रता कायम भएको छ । यो श्रेणीमा अमेरिकाबाहिर भिसा कुरिरहेकाहरूको हकमा जुलाई ८ , २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेर स्वीकृत भएकाहरूले मे महिनामा भिसाका लागि अन्तर्वार्ता पाउन सक्नेछन्।
तर, चौथो श्रेणीको विशेष आप्रवासी र धार्मिक कामदारहरूका लागि अमेरिकी विदेश मन्त्रालयले ग्रीनकार्डको वार्षिक सीमा आर्थिक वर्षको पाँच महिनाभित्रै पुगेको घोषणा गरेकाले यो श्रेणी अहिले उपलब्ध छैन। यसको मतलब अक्टोबर १ मा अर्को आर्थिक वर्ष सुरु नभएसम्म यो श्रेणीअन्तर्गत थप भिसा वा ग्रीनकार्डहरू उपलब्ध हुनेछैनन्।