अगस्तमा १०६५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा पाउन सक्ने, बाँकी अन्यौलमा
प्रकाशित मिति : जेष्ठ २८, २०८२ बुधबार

अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोको भिसा बुलेटिनले अगस्तमा १०६५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेताले भिसा पाउन सक्ने घोषणा गरेको छ । त्यसपछि डिभी २०२५ का विजेताहरुले भिसा पाउने अवधि एकमहिनामात्र बाँकी रहने भएकाले त्योभन्दा माथि केस नम्बर हुने नेपाली डिभी विजेताहरु अन्यौलमा परेका छन् । सामान्यतया अगस्त र सेप्टेम्बर महिनाका लागि सबै डिभी विजेता नेपालीहरुको केस नम्बर करेन्ट हुने वा केस नम्बरको सिमाबन्दी कममात्र रहने गरेको थियो । तर गतबर्ष जस्तै यो बर्षपनि उल्लेख्य सिमाबन्दी कायम गरिएको छ । सन् २०२२ मा अगस्तदेखि नै केसनम्बरमा लगाइएको सिमाबन्दी हटाइएको थियो भने २०२३ को अगस्तमा २० हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुलाई भिसा प्रदान गरिएको थियो ।
जुलाई महिनामा ८९५० सम्म केस नम्बर हुने डिभी विजेताले आगामी भिसा प्राप्त गर्न सक्नेछन् भने जुन महिनाका लागि कटअफ नम्बर ८ हजार रहेको छ । केस नम्बरको कटअफ जनवरी र फेब्रुअरी दुबैमा ३,५०० थियो भने मार्चका लागि ४५ सय बनाइएको थियो । यो कटअफ नम्बर अप्रिलका लागि भने ५९५० रहेको छ भने मे महिनाका लागि ६ हजार ४ सय ५० रहेको छ । त्यसअघि अक्टोबर, नोभेम्बर, र डिसेम्बर महिनाहरूमा, २,९५० सम्मको केस नम्बरहरू भिसा प्रक्रियाका लागि योग्य थिए। जनवरीमा, कटअफ ३,५०० मा वृद्धि गरियो, तर फेब्रुअरीका लागि थप कुनै परिवर्तन गरिएको थिएन।
अक्टोबर १ देखि सुरु भएको आर्थिक बर्षका लागि ३८६१ जना नेपाली डिभी लोटरीमा छनौट भएका छन् । डिभी लोटरीमा छनौट हुनेमा नेपालीहरु एसियामा तेश्रो नम्बरमा छन् । पहिलो नम्बरमा इरानका ५२६७ जनाले डिभी पारेका छन् भने दोश्रो नम्बरमा अफगानिस्तानका ४ हजार ९ जनाले डिभी पारेका छन् । युरोपमा सबैभन्दा धेरै उज्वेकिस्तानका ५५६४, दोश्रोमा टर्कीका ४१९४ र तेश्रोमा युक्रेनका ४००२ जनाले डिभी पारेका छन् । दक्षिण अमेरिकामा क्युबाका २३४८ जनाले डिभी पारेका छन् । अफ्रिकामा अल्जेरियाका ५५२६, इजिप्टका ५५१५, सुडानका ५५०५ र केन्याका ४४५९ जनाले डिभी पारेका छन् ।
५५ हजारले भिसा पाउने भएतापनि कुल १ लाख ३१ हजार ६० जनाले विश्वभरबाट डिभी पारेका छन् । विश्वभरबाट १ करोड ९९ लाख २७ हजार ६ सय ५६ जनाले डिभीका लागि आवेदन दिएका थिए । आर्थिक बर्ष २०२५ को डिभीका लागि छनौट भएकाहरुले २०२५ को सेप्टेम्बरभित्र भिसा प्राप्त गरिसक्नुपर्छ । विद्यमान कानून अनुशार उक्त अवधिभित्र भिसा नपाउनेहरु स्वत अयोग्य हुनेछन् ।
डिभी २०२५ का आवेदकहरुलाई कम्तीमा सन् २०२५ को सेप्टेम्बर ३० सम्म कन्फर्मेशन नम्बर साथमा राख्न सुझाव दिइएको छ । डिभी परे नपरेको चेक गर्ने एकमात्र आधिकारिक माध्यम भनेको अमेरिकी विदेश मन्त्रालयको यो वेवसाइट नै हो । कतिपय ठगहरुले डिभी परेको भन्दै इमेल पठाउने र ठग्ने गतिविधिसमेत तीब्र भएकाले त्यसबारे सचेत हुन सावधान गराइएको छ ।
अमेरिकी संससदको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३ सीले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई डाइभर्सिटी आप्रवासीका रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ ।
चिठ्ठा पर्ने आवेदकहरूले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ । भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।