ट्रम्पको आप्रवासन नीतिविरुद्धको प्रदर्शन चर्किएपछि लस एन्जलसमा कर्फ्यू घोषणा
प्रकाशित मिति : जेष्ठ २७, २०८२ मंगलबार

ट्रम्पको आप्रवासन नीतिविरुद्धको प्रदर्शन मत्थर नभएपछि लस एन्जलसमा कर्फ्यू घोषणा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइविरुद्ध लस एन्जलसमा चर्किएका प्रदर्शनलाई मध्यनजर गर्दै लस एन्जलसकी मेयर करेन बासले शहरको सानो भागमा कर्फ्यू घोषणा गरेकी हुन ।
बासले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै कर्फ्यू लस एन्जलस डाउनटाउनको १ वर्ग माइल क्षेत्रमा लागु हुने बताइन । स्थानीय समय अनुसार मंगलबार साँझ ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू लागू हुने उनले बताइन्।
मेयर बासले भनिन्, “धेरै व्यवसायहरू प्रभावित भएका छन् । केहि तोडफोडमा परेका छन्। हिजो राति मात्रै २३ वटा व्यवसायहरू लुटिएका छन् । यदि तपाईं डाउनटाउन हुँदै गाडी चलाउनुहुन्छ भने हरेक ठाउँमा ग्राफिटी देख्न सक्नुहुन्छ, जसले व्यवसायहरू र सम्पत्तिहरूमा ठूलो क्षति पुर्याएको छ।”
कर्फ्यू उल्लंघन गर्ने व्यक्तिहरूलाई प्रहरीले गिरफ्तार गर्नेछ । उनीहरुले कानुनी कारबाहीको सामना गर्नु पर्ने मेयरले बताएकी हुन ।
बासले कर्फ्यू केही दिनसम्म लागू रहन सक्ने बताइन् । तर यो आदेश सहरको सानो हिस्सामा मात्र लागु हुने प्रष्ट पारिन् ।
उनले भनिन्, “लस एन्जलस सहरको कुल क्षेत्रफल ५०२ वर्ग माइल हो । यो आदेश केवल १ वर्ग माइल क्षेत्रमा मात्र लागु हुन्छ।”
“त्यहाँ भएका तोडफोड र हिंसालाई कम आँक्नु होइन, त्यो साँच्चै गम्भीर हो। तर त्यहाँ देखिएका प्रदर्शन र हिंसाका केही दृश्यहरूले यसलाई सहरव्यापी संकटजस्तो देखाइरहेका छन्, जुन होइन,” बासले भनिन्।
मेयर बासले परिस्थिति नियन्त्रणमा राख्न सबैलाई संयम अपनाउन र कानुनको पालन गर्न आग्रह गरेकी छिन्।
लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले कर्फ्यू ज्यान जोगाउन र सम्पत्ति सुरक्षित राख्न आवश्यक रहेको बताएका छन । लस एन्जलसमा जारी अशान्तिपछि प्रहरी प्रमुख जिम म्याकडोनेलले कर्फ्यूलाई ज्यान जोगाउने र सम्पत्ति जोगाउने आवश्यक कदम भएको बताएका हुन ।
उनले भने, “गत केही दिनदेखि सहरमा लगातार बढ्दो अशान्ति र अवैध तथा खतरनाक गतिविधिका कारण हामीलाई यो कदम चाल्न बाध्य बनाएको हो।”
प्रहरी प्रमुखले पछिल्ला दिनहरूमा पक्राउ परेकाहरूको संख्या १९७ जना रहेको बताएका छन । सबैभन्दा बढी सोमबार ११४ जनालाई पक्राउ गरिएको छ ।