“बिग, ब्यूटिफुल बिल” को विपक्षमा सत्तापक्षकै सांसद उत्रिए,पक्षमा मतदान नगर्ने चेतावनी


प्रकाशित मिति : जेष्ठ २५, २०८२ आईतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको “बिग, ब्यूटिफुल बिल” को विपक्षमा उभिएका प्रमुख नेताहरूले आलोचनाबाट पछि नहट्ने बताएका छन ।

आलोचक मध्येका एक सिनेटर रोन जोनसनले राष्ट्रपति स्वयंले दबाब दिए पनि उनी आफ्नो आलोचनाबाट पछि नहट्ने बताएका हुन । विस्कन्सिनबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटरको यो धारणा बाहिर आएको हो ।

जोनसन अहिले बजेट मेलमिलाप प्रक्रियामा प्रतिनिधिसभाले पास गरेको खर्च कटौतीसम्बन्धी विधेयकको आलोचकका रूपमा उभिएका छन् । सिनेटमा हालै उक्त विधेयकको विस्तृत अध्ययन सुरू भएको छ ।

सिनेटमा रहेका धेरै सांसदहरू विधेयकमा परिवर्तन गर्न चाहिरहेका छन । विशेषगरी मेडिकेड र फुड स्ट्याम्प प्रणालीमा गरिने कटौतीलाई जनस्वीकृति मिल्ने किसिमले प्रस्तुत गर्नका लागी उनीहरुले कसरत गरिरहेका छन ।

ट्रम्पले विधेयक पास गरिनु पर्ने भने पनि सिनेटमा केही सुधार आवश्यक पर्ने कुरा भने स्वीकार गरेका छन् ।

तर जोनसन भने अझै खर्च कटौती कडा चाहन्छन् । उनले महामारीअघि रहेको खर्च स्तरमा फर्कनुपर्ने बताइरहेका छन । ट्रिलियन डलर बराबरको खर्च कटौती आवश्यक रहेको उनको भनाइ छ ।

यदि आफूले चाहेको परिमाणमा परिवर्तन नभए विधेयकको विपक्षमा मतदान गर्ने उनले बताएका छन्। राष्ट्रपति ट्रम्पको दबाब अभियानले उनलाई काम नगर्न सक्छ ।

जोनसनले विधेयकप्रति असन्तुष्टि लामो समयदेखि जनाउँदै आएका छन् । राष्ट्रिय ऋण ट्र्याकर अनुसार अमेरिकाको ऋण ३७ ट्रिलियन डलरको नजिक पुगेको छ।
प्रतिनिधिसभाले पास गरेको विधेयकले दश वर्षमा १.५ ट्रिलियन डलर खर्च कटौतीको लक्ष्य राखेको छ ।

यो लक्ष्यलाई प्रतिनिधिसभाका सांसदहरूले “सकारात्मक कदम” भनेर प्रचार गरिरहेका छन् । तर जोनसनका अनुसार त्यो लक्ष्य “गम्भीर रूपमा अपुग” छ ।

जोनसनले आफ्नो सहकर्मीहरूलाई जागरूक गराउन आफ्नै चार्ट र तथ्यांक बनाइरहेका छन् । पछिल्लो रिपोर्ट अनुसार विधेयकले २।४ ट्रिलियन डलर थप ऋण सिर्जना गर्न सक्छ ।

उनका अनुसार यो विधेयक राष्ट्रको आर्थिक स्वास्थ्य सुधार्ने अवसर हो । तर अहिलेको रूपमा पास गरिएमा त्यो अवसर गुम्नेछ । प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक सिनेटबाट पारित हुन बाँकी रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com