अमेरिकाद्वारा डिपोर्ट गरिएका आप्रवासीहरू पूर्वी अफ्रिकाको जिबुटीमा, आतंकवादी हमलाको जोखिम
प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार
अमेरिकी सैन्य शिविरमा निर्वासित गरिएका आप्रवासीहरूको एक समूह हाल पूर्वी अफ्रिकाको देश जिबुटीस्थित कन्टेनरबाट रूपान्तरण गरिएका कोठामा राखिएका छन्। उनीहरूलाई अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का अधिकारीहरूले चौबीसै घण्टा निगरानीमा राखिरहेका छन्।
यी आप्रवासीहरू दुई हप्ताभन्दा बढी समयदेखि त्यहाँ अड्किएका छन्। उनीहरू चढेको विमान दक्षिण सुडानका लागि उडेको थियो, तर अमेरिकी संघीय न्यायाधीशको आदेशपछि बाटोमै फर्काइएको थियो। यो मुद्दा हाल सर्वोच्च अदालतमा पुगेको छ र जुनसुकै बेला यस विवादमा फैसला आउन सक्ने सम्भावना रहेको छ।
मे २० मा अमेरिकी सरकारले एक समूहलाई दक्षिण सुडानतर्फ निर्वासित गर्ने प्रयास गरिरहेको समाचार बाहिर आएको थियो। संघीय अदालतमा पेस गरिएका कागजातहरू अनुसार विमानमा रहेका निर्वासितहरूमा क्युबा, बर्मा, लाओस, मेक्सिको र भियतनामका व्यक्तिहरू पनि थिए।
सरकारी अभिलेखअनुसार सबै आप्रवासीहरूसँग आपराधिक रेकर्ड छ। अमेरिकी होमल्याण्ड सेक्युरिटीका अधिकारीहरूले उनीहरूका मातृदेशहरूले उनीहरूलाई फर्काउन अस्वीकार गरेको दाबी गरेका छन्।
विमान जिबुटी पुगेपछि आइस का अधिकारीहरूसँग सीमित स्रोतहरू मात्र बाँकी छन्। आप्रवासीहरूले आफ्ना परिवारसँग निकै सीमित मात्रामा सम्पर्क राख्न पाएका छन् भने आफ्ना वकिलहरूसँग कुनै सम्पर्क छैन। आइस ले अधिकारीहरू र आप्रवासीहरू अझै जिबुटीमा किन अड्किएका छन् भन्नेबारे कुनै प्रतिक्रिया दिएको छैन।
आइस का कार्यवाहक उप-निर्देशक मेलिस्सा हार्परले अदालतमा दिएको जानकारी अनुसार आप्रवासीहरूलाई क्याम्प लेमोनीयर नामको अमेरिकी नौसेना शिविरमा कन्टेनरबाट रूपान्तरण गरिएको सम्मेलन कोठामा राखिएको छ। उनका अनुसार आइस का ११ अधिकारीहरूले उनीहरूको सुरक्षा गरिरहेका छन् भने २ जना अधिकारीले स्वास्थ्य सेवामा सहयोग गरिरहेका छन्।
उनका अनुसार, शिविर पुगेको तीन दिनमै अधिकारीहरू र आप्रवासीहरू बिरामी पर्न थालेका थिए। आतंकवादी आक्रमणको खतरा पनि त्यहाँ रहेको छ। यमनबाट आक्रमण हुनसक्ने सम्भावना रहे तापनि अधिकारी र आप्रवासी दुवैसँग कुनै सुरक्षा कवच वा आवश्यक सुरक्षा सामग्री भने रहेका छैनन्।






