हार्वर्डका नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा निलम्बन गर्ने ट्रम्पको घोषणामा अदालतको रोक
प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार

हार्वर्ड विश्वविद्यालयमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूका भिसा निलम्बन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणामा अदालतले रोक लगाएको छ । ट्रम्पले बुधबार त्यस्तो घोषणामा हस्ताक्षर गरेका थिए । बिहीबार अबेर अदालतले त्यसमाथि अस्थायी रोक लगाएको हो । विदेशी विद्यार्थीहरूलाई अमेरिकाका उच्च श्रेणीका विश्वविद्यालयमा भर्ना हुनबाट रोक्ने प्रयासस्वरूप ट्रम्प प्रशासनले यो कदम चालेको थियो ।
अदालतको आदेशसँगै राष्ट्रपति ट्रम्पको विश्वविद्यालयविरुद्ध प्रत्यक्ष रूपमा राष्ट्रपतिको शक्तिको प्रयोग गर्ने पहिलो प्रयास अवरुद्ध भएको छ । म्यासाचुसेट्सको यूएस डिस्ट्रिक्ट कोर्टकी न्यायाधीश एलिसन डी बरोउजले मे महिनामा दिएको आफ्नो अघिल्लो आदेशलाई करिब दुई हप्तासम्म लम्ब्याएकी छिन् । उक्त आदेशले हार्वर्डलाई निश्चित प्रकारका विद्यार्थी भिसा जारी गर्नबाट रोक्न ट्रम्प प्रशासनमाथि प्रतिबन्ध लगाएको थियो ।
ट्रम्प प्रशासनले हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक्न बुधबार तेस्रो प्रयास गरेको थियो । यद्यपि, ट्रम्पको कार्यकारी शक्तिको प्रत्यक्ष प्रयोग भने बुधबार पहिलो पटक गरिएको थियो । यसले विश्वविद्यालयलाई कष्ट दिने ट्रम्पको प्रयास व्यक्तिगत भएको देखाएको छ । ट्रम्प प्रशासनको यो प्रयासलाई विश्वविद्यालयले आफ्नो पहिलो संशोधन अधिकारको उल्लंघन भनेको छ ।
बुधबारको घोषणामा के थियो ?
घोषणामा अमेरिकामा एफ, एम वा जे भिसाअन्तर्गत कुनै पनि नयाँ हार्वर्ड अन्तर्राष्ट्रिय विद्यार्थीको प्रवेश निलम्बन गर्ने उल्लेख थियो । साथै, अमेरिकी विदेशमन्त्रीलाई घोषणाको मापदण्डमा पर्ने हालका हार्वर्ड विद्यार्थीहरूको विद्यमान भिसा खारेज गर्नेबारे विचार गर्न निर्देशन दिइएको थियो ।
हार्वर्डमाथि चिन्ताजनक विदेशी सम्बन्ध भएको आरोप लगाउँदै ह्वाइट हाउसले यो कदम राष्ट्रिय सुरक्षाको रक्षा गर्ने प्रयास भएको बताएको थियो । घोषणाले विश्वविद्यालयले विदेशी विद्यार्थीहरूको बारेमा पर्याप्त जानकारी प्रदान गर्न असफल भएको र केवल तीन जना विद्यार्थीका अपूर्ण डेटा रिपोर्ट गरेको उल्लेख गरेको थियो ।
हार्वर्डले या त विदेशी विद्यार्थीहरूको अनुशासन रेकर्ड पूर्ण रूपमा रिपोर्ट नगरेको वा आफ्ना विदेशी विद्यार्थीहरूलाई गम्भीर रूपमा नियमन नगरेको ह्वाइट हाउसले बताएको थियो । क्याम्पसमा यहूदी विरोधी भावना सम्बोधन गर्न असफल भएको र विविधता, समानता र समावेशितालाई प्राथमिकता दिएको आरोप पनि ह्वाइट हाउसले लगाएको थियो ।
यो लडाइँ डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले आफ्नो एजेन्सीलाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम खारेज गर्न दिएको निर्देशनबाट सुरु भएको थियो । अप्रिलमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अनुरोध गरेको विदेशी विद्यार्थीहरूको आचरण रेकर्डहरू हार्वर्डले उपलब्ध नगराएको भन्दै विश्वविद्यालयको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम प्रमाणीकरण समाप्त गर्न आदेश दिएको थियो ।
स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामबाट विश्वविद्यालय हटाउनका लागि सरकारले आफ्नै आवश्यकताहरू पालना गर्न असफल भएको हार्वर्डले आरोप लगाएको थियो । यो खारेजी सरकारको स्पष्ट प्रतिशोध भएको तर्क हार्वर्डले गरेको थियो ।
हार्वर्ड र ट्रम्प प्रशासनका अधिकारीहरू महिनौंदेखि द्वन्द्वमा रहेका छन् । ट्रम्प प्रशासनले विश्वविद्यालयलाई क्याम्पस कार्यक्रम, नीति, भर्ना र प्रवेशमा परिवर्तन गर्न माग गरेको छ । क्याम्पसमा यहूदी–विरोधी भावना हटाउन र ‘जातिवादी विविधता, समानता, र समावेशिता’ अभ्यासहरू भनिएको कुरा हटाउन ट्रम्प प्रशासनले प्रयास गरिरहेको छ । ह्वाइट हाउसले इजरायल–हमास युद्धमा विवादास्पद क्याम्पस विरोधमा भाग लिएका विदेशी विद्यार्थी र कर्मचारीहरूलाई निशाना बनाएको छ ।