ट्रम्प प्रशासनले नेपालको टीपीएस खारेज गर्नका लागि देखाएका कारण र रिपोर्टहरू
प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी ले नेपालका लागि प्रदान गरिएको टीपीएस खारेज गर्नुअगाडि प्रभावित क्षेत्रहरूमा जीवनयापनमा उल्लेखनीय वा अस्थायी अवरोध जारी छ कि छैन तथा नेपालले आफ्ना नागरिकहरूको फिर्तीको कार्यलाई पर्याप्त रूपमा सम्हाल्न सक्षम छ कि छैन भन्ने विषयमा विचार गरेको फेडरल रजिष्ट्ररमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ। अध्यागमन तथा राष्ट्रियता ऐनअनुसार ती विषयहरूमा विचार गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको दाबी छ।
अमेरिकाको विदेश मन्त्रालयसँगको समीक्षा र परामर्शका आधारमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरीले समग्रमा, वातावरणीय विपद् तयारी र प्रतिक्रिया क्षमतामा उल्लेखनीय सुधार आएको, अब जीवनयापनमा कुनै अवरोध नहुने र नेपालले आफ्ना नागरिकहरूको फिर्तीलाई पर्याप्त रूपमा सम्हाल्न सक्षम हुनेगरी भूकम्पको विनाशबाट पर्याप्त पुनर्निर्माण भएको निष्कर्ष निकालेको सूचनामा जनाइएको छ। भूकम्पका आधारमा नेपालले जुन २४, २०१५ मा टीपीएस पाएका आधारहरू अब बाँकी नरहेको ट्रम्प प्रशासनको निष्कर्ष रहेको छ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायको प्रयासले अप्रिल २५, २०१५ को भूकम्पबाट भएको उल्लेखनीय क्षतिलाई सम्बोधन गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको निष्कर्ष रहेको छ। यसका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाल सरकारकै तथ्यांकलाई प्रयोग गरेको छ। नेपाल सरकारको पुनर्निर्माणसम्बन्धी सेप्टेम्बर २०२४ को विपद् प्रतिवेदनअनुसार क्षतिग्रस्त घरपरिवारको ८८.३६ प्रतिशत पुनर्निर्माण गरिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उल्लेख गरेको छ।
साथै, आन्तरिक विस्थापन अनुगमन केन्द्रका अनुसार भूकम्पबाट विस्थापित केही व्यक्तिहरूले निरन्तर सामाजिक-आर्थिक प्रभावहरू अनुभव गरिरहेको तथा सर्वेक्षण गरिएका आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूमध्ये ९० प्रतिशतले नयाँ घर किनेको पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ। स्वास्थ्य क्षेत्रमा, ८१.४३% क्षतिग्रस्त सुविधाहरू पुनर्निर्माण गरिएको तथ्यांक पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाल सरकारकै रिपोर्टबाट उद्धृत गरेको छ।
विश्व बैंक र अन्य दाताहरूले ३ लाखभन्दा बढी घरहरू निर्माण गरेको र समुदाय तथा स्थानीय सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरेको विवरण डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विश्व बैंक नेपालको रिपोर्टबाट उद्धृत गरेको छ। धेरैजसो प्रभावित संरचनाहरूको पुनर्निर्माण भएपछि नेपालको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण २०२१ मा विघटन भइसकेको पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उल्लेख गरेको छ।
नेपालले बाढी र पहिरोलगायतका क्षेत्रीय वातावरणीय घटनाहरूको निरन्तर अनुभव गरिरहेको भए तापनि सरकारले आफ्नो तयारी र प्रतिक्रिया क्षमतामा सुधार गरेको तथा विपद् प्रतिरोधी आवास, पूर्वाधार र सामुदायिक प्रणाली निर्माणमा पनि प्रगति भएका कारण फर्कनेहरूका लागि सुरक्षित र स्थिर वातावरण सिर्जना भएको जनाउन डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एसियाली विकास बैंकको रिपोर्टलाई उद्धृत गरेको छ।
प्रभावित जीवनयापन अवस्था र आफ्ना नागरिकहरूको फिर्ती सम्हाल्ने नेपालको क्षमतासँग सम्बन्धित धेरै क्षेत्रहरूमा नेपालको अवस्था सुधार भएको तथा नेपाल विश्वको सबैभन्दा गरिब देशहरूमध्ये एक भए पनि यसको कुल गार्हस्थ उत्पादन आर्थिक वर्ष २०२३ देखि आर्थिक वर्ष २०२४ सम्म दुई प्रतिशतले बढेको विश्व बैंकलाई उद्धृत गर्दै डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ। हालैका वर्षहरूमा नेपालको आर्थिक वृद्धि स्थिर रहेको तथा यस वर्ष ४.९ प्रतिशतको दरले बढ्ने अनुमान गरिएको साथै २०२४ मा, मुद्रास्फीति पनि घटेको एवं कम आय भएका घरपरिवारको क्रयशक्ति बढेको विश्व बैंक र अन्य विभिन्न रिपोर्टलाई उद्धृत गर्दै अमेरिकी सरकारले टीपीएस आवश्यक नभएको कारणका रूपमा उल्लेख गरेको छ।
यसका साथै, नेपालले विगत पाँच वर्षदेखि अमेरिकाबाट देशनिकालाको आदेश पाएका आफ्ना नागरिकहरूलाई नियमित रूपमा फिर्ता गर्नका लागि स्वीकार गर्दै आएको पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले टीपीएस कायम गर्न नपर्नुको कारणबारे उल्लेख गरेको छ। साथै, झन्डै १२ हजार ७ सय टीपीएसवाहकहरूमध्ये ५५ सयले ग्रिनकार्ड लिइसकेको पनि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ।






