एसाइलम कडाई गर्ने र १० हजार डलरभन्दा बढी नगद कारोबार रोक्ने बिल प्रस्ताव
प्रकाशित मिति : जेष्ठ २१, २०८२ बुधबार
अमेरिका र क्यानडाको सिमाक्षेत्र
क्यानाडा सरकारले केही एसाइलम दावीहरूलाई सीमित गर्ने र आप्रवासन आवेदनहरूको प्रशोधन रोक्ने अधिकारलाई थप शक्ति दिने विधेयक प्रस्ताव गरेको छ। क्यानाडाका आप्रवासन मन्त्री लेन डायबले स्ट्रङ्ग बोर्डर्स एक्टको उद्देश्य संगठित अपराध, अवैध लागूऔषध र हतियारको प्रवाहलाई नियन्त्रण गर्नुका साथै देशको आप्रवासन प्रणालीको निष्ठा बढाउनु रहेको बताएका छन् ।
यो विधेयकमा क्यानाडा र अमेरिकाको साझा सीमालाई निगरानी गर्न प्रहरीलाई थप शक्ति दिने प्रावधानहरू समावेश छन्। यसले क्यानाडामा एक वर्षभन्दा बढी समय बिताएकाहरूलाई एसाइलम दावी गर्नबाट रोक लगाउन सक्छ। तर आलोचकहरूले यो विधेयकमा अधिकारीहरूलाई पत्र खोल्ने र जाँच्ने क्षमता विस्तार गर्ने प्रावधान भएकाले नागरिक स्वतन्त्रताको उल्लंघन हुने बताएका छन्।
ऐतिहासिक रूपमा नवआगन्तुकहरूप्रति खुला रहँदै आएको क्यानडामा सार्वजनिक सेवाहरू तनावग्रस्त भएको र आवास संकटको सामना गरिरहेको बेलामा यो प्रस्तावित कानून आएको छ । पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न महत्वाकांक्षी आप्रवासन लक्ष्यहरूमा निर्भर गरेको थियो । साथै अस्थायी कामदार र विद्यार्थीको रूपमा क्यानाडा प्रवेश गर्नेहरूको संख्यामा तीव्र वृद्धि भएको थियो।
यसैबीच क्यानाडामा एसाइलमका दावीहरूमा वृद्धि भएको छ, जसका कारण आवेदकहरूले आफ्नो मुद्दा सुनुवाइका लागि दुई वर्षसम्म पर्खनुपरेको छ। अप्रिलको संघीय चुनाव जितेका प्रधानमन्त्री मार्क कार्नीले क्यानाडाको अस्थिर आप्रवासन स्तरलाई सम्बोधन गर्ने वाचा गरेका छन्।
हालको कानूनअनुसार आप्रवासीहरुले क्यानाडाको सिमानाका, विमानस्थल वा क्यानाडामा आइसकेपछि कुनै पनि समय शरणार्थी दावी गर्न सक्छन्। तर नयाँ नियमले क्यानाडामा एक वर्षभन्दा बढी समय बिताएकाहरूलाई शरणार्थी दावी गर्नबाट रोक लगाउनेछ, जसले उनीहरूलाई देशनिकालाको जोखिममा पार्न सक्छ।
साथै यसले सेफ थर्ड कन्ट्री सम्झौता अन्तर्गत अमेरिकाबाट क्यानाडा प्रवेश गर्नेहरूलाई १४ दिनभित्र शरणार्थी दावी गर्नुपर्ने नियम ल्याउनेछ। यो सम्झौताले आप्रवासीहरूलाई पहिलो सुरक्षित देश अमेरिका वा क्यानाडामा शरण माग्नुपर्ने बाध्यता राख्छ।
साथै यो कानूनले सरकारलाई जनस्वास्थ्य र राष्ट्रिय सुरक्षाको कारणले नयाँ आवेदनहरूको प्रशोधन पूर्ण रूपमा निलम्बन गर्ने शक्ति पनि दिन्छ। १२७ पृष्ठको विस्तृत विधेयकले आपराधिक अनुसन्धानलाई अगाडि बढाउन पत्र खोल्ने सरकारी शक्तिलाई विस्तार गर्नेछ। साथै यसले १० हजार क्यानेडियन डलरभन्दा माथिको नगद कारोबार र एक व्यक्तिबाट अर्कोको खातामा नगद जम्मा गर्नमा प्रतिबन्ध लगाउनेछ।






